डाइनामिक लेडी दिवाको सपना : केबलकारदेखि स्मृति पार्कसम्म ! – Sarangi News

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका म्याग्दीको  अन्नपूर्ण गाउँपालिकामा उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट दिवा पुनले उम्मेदवारी दिएकी छिन् ।

एमाले जिल्ला कमिटी सदस्य तथा शैक्षिक, सामाजिक न्याय र मानवअधिकारकर्मीका रूपमा ख्यातिप्राप्त पुनले आफूलाई योग्य ठानेर पार्टीले ‘टिकट’ दिएको भन्दै अन्नपूर्ण  गाउँपालिकामा एमालेको जित सुनिश्चित रहेको दाबी गरिन् ।

ग्रामीण शिक्षामा स्नातकोत्तर पुनले एक दशक शिक्षण गर्नुका साथै शिक्षा, कानुन, राजनीति शास्त्रमा ‘ट्रिपल डिग्री’ हासिल गरेकी छिन् । उनले अन्नपूर्ण गाउँपालिकालाई नमुना पालिका बनाउन आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

दिवाका प्राथामिकताहरू

सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकास प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भयो भने अरू नियमित विकासका कामहरू त स्वतः हुन्छ’ उनले भनिन्, ‘प्रमुख ध्येय भनेको सर्वसुलभ स्वास्थ्य र  गुणस्तरीय एवम् टेक्निकल एजुकेसन  नै हो ।’   विपन्न परिवरलाई  रोजीरोटी र  शिक्षाबाट बन्चित बालबालिकालाई निःशुल्क शिक्षा उनको अर्को प्रथामिकता छ ।

पुनले सारङ्गी न्युजसँग कुराकानी गर्दै स्थानीय भाषा, कला, संस्कृति  र परम्पराको  खोज अध्ययन, संरक्षण र प्रवर्धन गर्न पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने, पालिकाभित्रका हरेक विद्यालयमा टेक्निकल एजुकेसन र आइसिटी सेन्टर स्थापना गर्ने र पढ्दै कमाउँदै कार्यक्रम सुरु गरिने बताइन् ।  स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरी सामाजिक, शैक्षिक तथा आवश्यक जनशक्ति विकास गरिने छ ।

त्यस्तै, महिलालाई पर्यटन, कृषि, सहकारी , जडिबुटी तथा   आयआर्जनसँग जोड्न विभिन्न घरेलु उद्योग एवम् सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, निम्न आय भएका परिवारहरूलाई आर्थिक रूपमा सक्षम बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र जनमुखी कामहरू आफूले प्रमुख प्राथमिकतामा राखेको उनले बताइन् ।

प्रतिबद्धता

आफूले निर्वाचन जितेमा राज्यको साझा प्रतिनिधिका रूपमा काम गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अख्तियार गर्ने,   सबै प्रकारका अन्यायहरूका विरुद्ध प्रतिकार गर्ने समेत उनको भनाइ छ । त्यस्तै सबै वर्ग, समुदाय, सम्प्रदाय र लिङ्गलाई समान अवसर दिँदै सहभागितामूलक प्रतिनिधित्व हुने गरी आफू अगाडि बढने पुनले बताइन् ।

देशकै चर्चित पर्यटकीय स्थल पुन हिल र आसपासका पर्यटकीय क्षेत्रहरूलाई पहिचान गरी प्रवर्धन गर्ने, सम्भाव्यता अध्ययन गरी पालिकाभित्रका धार्मिक, सांस्कृतिक एवम् ऎतिहासिक स्थलहरूको स्थलगत सम्भावना अध्ययन गरी आवश्यक यातायातदेखि केबलकार सञ्चालन गर्ने दिवाको सपना छ ।

गाउँपालिकाको समग्र विकास गर्न विभिन्न ट्रेकिङ रुटको अध्ययन र बैसरीदेखि काफलडाँडासम्म केबलकार निर्माण गर्ने आफ्नो योजना रहेको पुनले सुनाइन् । विकास निर्माण दीगो विकासको अवधारणालाई आत्मसात गर्ने उनले कसम खाइन् ।

पुन हिलका पिता मेजर टेकबहादुर पुनलाई तत्कालीन पन्चहरूले आफ्नो प्रतिद्वन्द्वी बन्ने ठानेपछि नियोजित रूपमा हत्या गरिएको स्थानीयले बताउँछन् ।

पुन हिलका निर्माण कर्ता मेजर टेकबहादुर पुन र तत्कालीन पन्चायत प्रशासनको आडमा पन्चहरूले शिखका महिलाहरूमाथि गरेको ज्यादतीविरुद्ध प्रतिकार गर्दा सहिद भएका पाउद्वारका सुरेश सेरपुन्जा र शिखका हिरालाल पुनको स्मृतिमा स्मारक पार्क तथा प्रतीक्षालय निर्माण गरिने पुनले जानकारी दिइन् ।  पुर्खाहरूको योगदान र बालिदानी इतिहासको संस्मरण गर्दै युवाहरूलाई सामाजिकीकरण गर्दै असल समाज निर्माणका संवाहकका रूपमा विकास गर्ने पुनको सोच छ ।

डाइनामिक लेडी’ दिवा को हुन ?

ग्रामीण क्षेत्र, मानवअधिकार, सामाजिक न्याय, महिला, दलित, जनजाति तथा पछि पारिएका वर्ग र समुदायको उत्थानका लागि ३ दशकदेखि  निरन्तर सक्रिय एक डाइनामिक लेडी’ हुन दिवा ।

म्याग्दीकोअन्नपूर्ण गाउँपालिका- ५ पाउद्वारमा आमा पूर्णमाया तिलिजा पुन र बाबा हर्कबहादुर तिलिजा पुनको सन्तानका रूपमा २०२७ सालमा दिवा पुनको जन्म भएको हो । हालसम्म अविवाहित उनको पूरा नाम दिवाकुमारी तिलिजा पुन हो ।

सानैदेखि सामाजिक र राजनैतिक वातावरणमा हुर्किएकी पुनले २०४४ सालमा पृथ्वीनारायण क्याम्पस, पोखराको अनेरास्ववियु सह-प्रारम्भिक कमिटी सदस्यबाट राजनीति सुरु गरेकी हुन् ।  उनले  २०४६ देखि २०७० सम्म अखिल नेपाल महिला सङ्घ जिल्ला सचिव भएर काम गरिन् ।  २०४६ सालको पहिलो महान् जनआन्दोलनलाई नजिकबाट नियालेकी पुनले २०४७ सालमा नेकपा एमालेको इलाका कमिटी सदस्य भएर पार्टीको राजनीति अघि बढाएकी थिइन् । हाल उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन्  ।

करिब एक दशक लामो  शिक्षण अनुभव सँगालेकी पुनले हाल मिलन म्याग्दीको प्रमुख कार्यकारी निर्देशक पदबाट राजिनामा दिएर राजनीतिमा होमिएकी छिन् ।

यसबाहेक पुनले तीन दशकदेखि दुई दर्जन परोपकार, सामाजिक, शैक्षिक तथा न्याय क्षेत्रमा तथा सङ्घ/संस्थामा  आबद्ध रहेर क्रियाशील हुँदै आएकी छन् ।

प्राकृतिक विपत्तिहरूमा उद्धार तथा राहत वितरण, कोरोना महामारीमा विभिन्न सामाजिक सङ्घ/संस्थाको पहलमा स्वास्थ्य सामाग्री वितरण गर्ने, रेडक्रसमार्फत् विभिन्न दैवी प्रकोपहरूमा सहयोग गर्ने तथा सडक महिलाहरूलाई उद्धार गर्ने कार्यमा सक्रिय रहँदै आएकी छन् ।

पुन गैर सरकारी संस्था महासङ्घ केन्द्रीय सदस्य हुँदै राष्ट्रिय महिला अधिकार मञ्च, म्याग्दी अध्यक्ष, सामाजिक विभेदविरूद्ध नागरिक समाज सञ्जाल, म्याग्दी अध्यक्ष र वियन्ड वेइजिड सामाजिक न्याय र मानवअधिकार क्षेत्रमा क्रियाशील एक स्पष्ट वक्ता, शालीन र कुशल सङ्गठक हुन् ।

उनीसँग गण्डकी प्रदेशकै पहिलो युनिभर्सिटी  गण्डकी युनिभर्सिटीको न्यायिक समिति सदस्य र विपद् व्यवस्थापन तथा प्रतिकार्य गैसस सञ्जाल, गण्डकी प्रदेश र  बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह कन्सर्टियम, नेपाल गण्डकी प्रदेशको सचिवालय सदस्य तथा  मानव अधिकार एलायन्स जिल्ला अध्यक्ष हुँदै मानव अधिकार एलायन्सको केन्द्रीय उपाध्यक्ष भएर देशभरको मानवअधिकार र सामाजिक न्याय अवस्था, चुनौती र सम्भावनाको राम्रो ज्ञान र अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP