बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने टिपिडी प्रमाणिकरण तालिम सम्पन्न – Sarangi News

प्रकाश अधिकारी

म्याग्दी । बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को कार्यान्वयन र शिक्षकको पेशागत विकासका लागि आधारभूत तह (१–३)मा अध्यापनरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम गरिएको हो । विस्तारित शाखाका प्रशिक्षक झलक प्रसाद सुवेदीको संयोजकत्वमा सञ्चालित तालिममा शिक्षा तालिम केन्द्र तनहुँको प्रकाश देवकोटा, दामोदर कार्की, रोष्टर शिक्षक इन्द्रा खड्का र बालकृण्ण सापकोटाले सहजीकरण गरेका थिए ।

कक्षाको सहजीकरण गर्दै शिक्षा तालिम केन्द्रका प्रशिक्षक झलक प्रसाद सुवेदीले एकीकृत पाठ्यक्रम आधारभूत तह अन्तर्गत कक्षा १ देखि ३ को पाठ्यक्रमको समग्र संरचनालाई सेरोफेरो, गणित र भाषा अन्तर्गत नेपाली र अङ्ग्रेजी गरी चार विषय क्षेत्रमा समायोजन गरी बहुविषयक र केही विषयगत क्षेत्रमा सङ्गठित गरिएको बताए । संरचनागत रूपमा गणित र भाषा विषयहरू बहुविषयक ढाँचामा निर्मित छन् । सिकाइ उपलब्धि तथा विषयवस्तुहरू अन्तरसम्बन्धित थिममा आधारित छन् भने सेरोफेरोमा समावेश भएका विषयहरूलाई अन्तरविषयक ढाँचामा एकीकृत गरिएको हुँदा उक्त विषयक्षेत्रको शिक्षण सिकाइ क्रियाकलाप एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने सुवेदीले बताए ।

शिक्षा तालिम केन्द्र तनहुँका प्रकाश देवकोटाले विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी तयार गरिएको एक अर्को विषय बिचको उद्देश्यहरुसँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकीकृत पाठ्यक्रम भएको  बताए । बहु विषयक र अन्तर विषयक ढाँचामा तयार गरिएका यस पाठ्यक्रम केवल प्रारूपमा मात्र नयाँ नभएर शैक्षणिक रूपान्तरण नै भएकोले यसको कार्यान्वयनमा साझा प्रयास अपरिहार्य रहेको उनको भनाई थियो ।

अहिलेको एकीकृत पाठ्यक्रमले तोकिएको सबै विषयका विषयबस्तु तथा क्षेत्रमा साझा थिम निर्माण गरेको छ । विद्यार्थीका दैनिक जीवनका यथार्थ समस्या समाधान गर्न सहयोग पु¥याउन सोचाई सिप, वैयक्तिक सीपहरु, अन्तरवैयक्तिक सिपहरु, सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरु र नागरिक सिप पाँच क्षेत्रमा २९ वटा ब्यवहार कुशल सीपहरू रहेको उनले बताएका छन् । विषयगत रुपमा एकीकृत गरेर तोकिएका सिकाइ उपलब्धि वा सक्षमतालाई व्यवहार कुशल सिपसँग जोड्ने र बालबालिकाहरूले उक्त सिप हासिल गर्नका लागि बिभिन्न क्रियाकलापमा सरिक गराउँदै सिकाइ सक्षमतासँग जोड्ने कुरामा जोड दिंदै शिक्षकको क्षमता विकास गर्नुपर्ने कुरा सहजकर्ता प्रकाश देवकोटाले बताएका छन् ।

‘एकीकृत पाठ्यक्रममा विद्यार्थी मूल्याङ्कन अर्को जटिल पक्षको रूपमा रहेको छ, विद्यार्थी मूल्याङ्कनलाई शिक्षण सिकाइसँग कसरी जोड्ने ? विद्यार्थी मूल्याङ्कन गर्दा निर्धारित सिकाइ उपलब्धि विद्यार्थीले के कति हासिल गर्न सके सकेनन् भन्ने लेखाजोखा गर्न सकिने प्रक्रिया र साधनको प्रयोग कसरी गर्ने ? सिकाइलाई कसरी श्रेणीकरण गर्ने ? सिकाइको अवस्था १, २ वा ३ रहने विद्यार्थीको लागि पटक पटक थप सिक्ने अवसर दिई सिकाइ स्तर ४ मा थप उपचारात्मक सिकइ कसरी गर्ने र त्यसपछि उपलब्धिस्तरलाई अक्षराङ्कन पद्धतिसँग मिलान गरी विद्यार्थीको सिकाइस्तरलाई ग्रेडिङ गनुपर्ने कुरामा शिक्षकहरूलाई सहायता पु¥याउनु पर्ने सहजकर्ता दामोदर कार्कीले बताए । सहजीकरणकै क्रममा पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थी कार्यपुस्तक र विद्यार्थी मूल्यांकन कार्यविधिको अन्तरसम्बन्ध र प्रयोगबारे पनि सहभागीबाट उठेका प्रश्नहरूको समाधान गर्दै आगामी दिनमा पनि परस्परमा सिकाइ तथा ज्ञान सिप आदान प्रदान गर्दै पाठ्यक्रमको कार्यान्वयनमा हातेमालो गरिने सुवेदीले बताएका छन् ।
कार्यक्रममा रोष्टर शिक्षक इन्द्रा खड्काले नेपाली विषय र बालकृष्ण सापकोटाले अंग्रेजी विषय, प्रशिक्षक झलक सुवेदीले गणित विषयको पाठ्यक्रम, विद्यार्थी कार्यपुस्तकबारे सहजीकरण गरेका थिए । कार्यक्रममा अनुभव मन्तब्य राख्दै शिक्षक विजय शर्मा र दिलमाया श्रीसले तालिम प्रभावकारी भएको बताए । उनिहरुले प्रत्येक शिक्षकको मनमष्तिष्कबाट नै शैक्षिक परिवर्तनको अभ्यास शुरू हुने भन्दै तालिममा सिकेका कुराहरु व्यावहारमा लागु गर्ने प्रतिवद्धता समेत जनााए । तालिममा ३० जना शिक्षकहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP