बाँदरको मुटु र पुरुषको चित्त : बालकथा – Sarangi News

बाँदरको मुटु र पुरुषको चित्त हुँदैन  (बालकथा)

           – नरिश्वर गौतम

 सपना पाँच वर्षकी थिइन् । उनीहरूको परिवार गरिब थियो । बाबुले जेनतेन भारी बोक्ने, खेताला जाने गरेर कमाउँथे । आमा  घरको काम, गाईबस्तु, कुखुराको हेरचाह गर्थिन् । जेनतेन दुवै जना मिलेर हातमुख जोर्ने व्यवस्था मिलाउँथे ।

एक दिन उनको घरमा बाबा र आमाबिच मनमुटाव भयो । दुवैजना भनाभन गरे । भन्दै जाँदा ठुलै झगडा भयो । आमाले महिला हकअधिकारका कुरा समेत भनिन् । कानुनको सहारा लिएर कारवाही गराउँछु भनिन् । भनाभनमा कोही पनि हार्ने स्थिति भएन । अब जित्न सकिन्न भन्ने लागेपछि सपनाकी आमा रुन, कराउन र चिच्याउन लागिन् । वरपरका मानिस जम्मा भए । सबैले सम्झाइबुझाई गरे । सपनाका बाबा हातमा नाम्लो लिएर साहुको भारी बोक्न गए । आमा भने भुनभुनाउदै र रन्थनिदै गरिन् । एक्कासि मनमा के आएछ खै माइत जाने विचार गरिन् । सपनाले अचम्म मानेर सोधिन्,- मामु कहाँ जान लाग्नुभयो ? आमाले झर्किदै भनिन्, अब मामाघर जाने, म बस्दिनँ यहाँ, हिँड जाऊँ । आमाले झोला बोकेर सपनाको हात तान्दै भुतभुताउँदै घरबाट निस्किन् । सपना चुपचाप पछि लागिन् ।

 बाटोमा जङ्गल, भिर पनि पर्दथ्यो । त्यहाँ धेरै बाँदरहरू तलबाट माथि जाने, तल हाम फाल्ने, एउटा रुखबाट अर्कोमा हाम फाल्ने गर्दै थिए । सपना अलिक डराइन् पनि । खेल्दाखेल्दै बाँदरहरू रुख र भिरबाट तल जमिनमा पनि बजारिन पुग्थे । सपना त्यो हेर्दै आमाको हात समातेर हिँडिरहेकी थिइन् । उनको मनमा खुल्दुली भयो । आमासँग सोधिन्,- आमा हामी पनि बाँदरजस्तै रुख, भिरमा जान किन नसकेको होला ? गयो भने के हुन्छ ? सपनाको जिज्ञासा सुनेर आमा झस्कँदै भनिन्,- के भनेको छोरी यस्तो ? कहीँ मान्छे पनि बाँदरजस्तै रुख, भिरमा जान र हाम फाल्न हुन्छ त ? मुटु फुटेर मरिहालिन्छ नि । आमाको उत्तरले सपनामा झन् कौतुहलता जगायो । उनले फेरि सोधिन्,- अनि बाँदरको चाहिँ मुटु फुट्दैन त ? सपनाको प्रश्नको जवाफ दिँदै आमाले भनिन्, – बाँदरको त मुटु नै हुँदैन र पो डर पनि लाग्दैन । हाम्रो त मुटु काँप्छ, डर लाग्छ । सपना धेरै चलाख थिइन् । उनले झट्ट अर्को प्रश्न गरिन्,- आमा, अनि हजुर र बाबा झगडा गर्नुहुन्छ, दुवै जना भनाभन गर्नुहुन्छ तर पनि हजुर मात्र रुनुहुन्छ । बाबा त रोएको देखिदैन नि ? आमाले अलि झर्कदै भनिन्, – आ, के के सोध्छे यो नानी पनि । अनि बा त पुरुष हुन् नि, किन रुन्थे त ! पुरुष त कठोर हुन्छन् नि ।

सपनाले फेरि सोधिन्, – हजुर चाहिँ किन रुने त? आमाले जवाफ दिइन्,- मेरो मन (चित्त) दुख्छ अनि पिर पर्छ र रुन्छु । सपनाले कुरा बुझेझैँ गरी भन्छिन्, – ए, मैले बुझेँ, बाँदरको मुटु नभएर भिर, रुखबाट हाम फाल्छ, बाबा चाहिँ चित्त (मन) नभएर कहिलै रुनु हुन्न । हजुरको चित्त भएर रुनुहुन्छ, हो ? छोरीको कुराले आमा झसङ्ग भइन् । छोरीको कुराले उनलाई कताकता छोयो । एकछिन त्यहीँ बसेर सोच्न थालिन्,- साँच्चै बाँदरको मुटु नभए कसरी बाँच्छ होला र ? यो त उसको खाना र सुरक्षाको लागि गरेको परिश्रम पो होला । अनि पुरुषको के साँच्चै हाम्रोजस्तै चित्त नै हुँदैन होला र ? उनीहरूको पनि मन दुख्दैन होला र ? किन कठोर हुन्छन् होला ? मनमनै प्रश्न र उत्तर पनि आयो । होइन, कतै मैले गलत बुझेकी त होइन? नारी पुरुष दुवै उस्तै मानव त हो । पुरुष पनि धेरै निरास, उदास हुने, चिन्ता मान्ने गर्छन् । मन पनि छ होला तर पनि आफूलाई कमजोर देखाउन नचाहेर पो मन दरो पारेका हुन् कि ? अनि समस्याको समाधान रोएर मात्र पनि त हुँदैन ।

अब म माइत जान्नँ । फर्केर घरमै जान्छु । आखिर जति उहाँले भन्नुभयो उत्ति मैले पनि भनेकी छु । उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुभयो भने म यसरी माइत जानु ठिक हुँदैन । मैले पनि आफ्नो हक अधिकार मात्र होइन कर्तव्य र जिम्मेवारी पूरा गर्नैपर्छ ।

आमाले सपनालाई डोर्‍याउँदै घरतिर लागिन् । सपना भने छक्क परेर हिँडिरहिन् ।  

***********************************

गुल्मी । हाल : काठमाडौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ?


TOP