फलाँटेडाँडा एकदिने पदयात्रा: केही अनुभूति, केही झलक – Sarangi News

सङ्गीत श्रोता
————————————-
बाजुङ-बाउसेबाट बिहान ६:०० बजे विश्व विशेष, अञ्जानबाबु र म फलाँटेडाँडा एकाएँ हिंडाइ (एकदिने पदयात्रा)का लागि निस्क्यौं, झोलामा केही बेलौंती, पानीको बोतल र छाता राखेर!

खँदरा, भौरकवन, खोलाखेत-पातीखोला हुँदै देउराली-पूर्णगाउँ पुग्यौं, बिहान १०:३० बजे। पूर्णगाउँमा खाजा खाएर, खाजा खुवाउने गरुङसेनी आमाले झोलामा राखिदिएको टिमुर र ओखर झोलामा बोकेर हामी फेरि उकालो चढ्यौं। भेडीचरनको बाटो, भेडीबथान सँगसँगै र भेडामालिक लीलबहादुर मगरसँग गफ गर्दैगर्दै बाटो काट्यौं। पूर्णगाउँबाट उकालो चढेपछि गौंडागौंडामा, छपनी-छपनीमा र चौताराका सिंढीसिंढीमामा बिसाइ फेरिरह्यौं, यो उकालो जति कठिन थियो, त्योभन्दा कठिन थियो जङ्गली जुकाहरूबाट जोगिनु। उकालैभरि ल्यामल्याम गरिरहेका जुकाहरू बाटोमा मान्छे पर्खेर बसिरहेका जस्ता देखिन्थे। जति नै जोगिन खोज्दा पनि पाँच मिनेट नबित्दै १० जुका जुत्ताभित्रै सल्याङमल्याङ गरिसकेका हुन्थे। दौडेर ठूलो ढुङ्गामा पुग्नु र थपक्क बसेर जुत्तामोजा उल्ट्याएर जुका टिप्दै फाल्नु नियमित काम जस्तो हुन थाल्यो।

विश्वका लागि लामो लामो लेकाली हिंडाइ पनि नयाँ थियो, अनि जुकासँगको जम्काभेट पनि पहिलो थियो। “हेर्नुस्, हेर्नुस् बाबा! आ… चप्पलभित्रै छिर्यो, छिर्यो… झिकिदिनुस्! छिटो फालिदिनुस्!” विश्व चिच्याउँदा-चिचयाउँदै जुका पाइन्टमा उक्लिसक्थ्यो!

जुकाबाट जोगिन खोज्दै-भाग्दै, दौडँदै हामी फलाँटेडाँडा दिउँसो १:०० बजे पुग्यौं। फलाटेडाँडा समुन्द्री सतहबाट २४०० मिटरभन्दा माथि पर्छ। यहाँबाट पूर्वोत्तर दिशामा अन्नपूर्ण हिमशृङ्खला आँखाको हाराहारीमै देखिन्छ। हामी पुग्दा मौसम प्रतिकूल भयो। चारैतिरबाट कुहिरो उठ्न थाल्यो। हामीले हिमालसँग भलाकुसारी गर्न पाएनौं। फलाँटेबाट पूर्वतिर लुम्ले, अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्ती, दक्षिणतिर पातिचौर बजार, राम्जा-चित्रे, पञ्चासे डाँडा, अनि पश्चिमतिर कुश्मा, बाजुङ, दुर्लुङ, कार्किनेटा जस्ता गाउँ र बजार देख्न सकिन्छ।

एक बजे फलाँटेडाँडामा हामीलाई कौशिला खड्का र रनबहादुर खड्का (दाजुभाउजु)ले स्वागत गर्नुभयो। उहाँहरूले केही वर्षअघि खोल्नुभएको यो डाँडाको एक्लो होटलको नाम रहेछ- भमरकोट भ्यु पोइन्ट! कौशिला भाउजू र रनबहादुर दाइले त्यहाँको पर्यटकीय महत्त्व, प्राकृतिक वातावरणको विशेषता, पदमार्गका रुटहरू र कृषि तथा तरकारी उत्पादनका सम्भावनाबारे हामीलाई बताउनुभयो।

फलाँटेडाँडा यस्तो चुली हो, जहाँ नयाँपुल भुकताङ्ले हुँदै पुग्न पनि सकिन्छ, पातीचौर-देउराली-पूर्णगाउँ हुँदै पनि पुग्न सकिन्छ। पातिचौरबाट देउपुर-कडेन-मैदान हुँदै पनि पुग्न सकिन्छ। अनि मौसम खुलेको बेलामा यहाँबाट गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, पाल्पा लगायतका जिल्लाका धेरै गाउँ नियाल्न सकिन्छ।

मोदी गाउँको ३ नम्बर वडामा रहेको फलाँटेडाँडा र २ नम्बर वडामा पर्ने भमरकोट एकरात बस्न र एकदिने पैदलयात्रामा निस्कनका लागि आकर्षक गन्तव्य हो। पोखरा, बागलुङ, बेनी, कुश्मा, दमौली, स्याङ्जा र त्यस वरिपरिका गाउँसहरबाट उही दिन बेलुका यहाँ पुग्न सकिन्छ।

फलाँटेडाँडाबाट उत्तरतिर माटे, जलजला हुँदै पुनहिल (म्याग्दी) पनि पुग्न सकिन्छ। फलाँटे वरपर फराकिला मैदानसहितका चरनक्षेत्र छन्। यहाँ अनेक प्रजातिका गुराँस, चाँप, कटुस, खर्सु, विविध जडीबुटी पाइन्छ। विभिन्न प्रजातिका चराचुरुङ्गीसहित चितुवा, भालुलगायत जङ्गली जनावरहरू देख्न पाइने पनि रनबहादुर खड्काले बताउनुभयो।

कौशिला भाउजू र रनबहादुर दाइले बनाउनुभएको निगाला (टुसा)को टिमुर मोलेको अचार, लेकाली साग, लेकाली आलु र सिमीको तिहुनसहितको खाना खाई हामी केहीबेर फलाँटेडाँडाका फराकिला चरनक्षेत्रहरू घुम्यौं। दुई बजेपछि फलाँटेबाट ढुङ्गेनी सिंढी पार गर्दै कुइभीरको माथिमाथि हामी भमरकोट पुग्यौं। भमरकोबाट भिरालो बाटो हुँदै साँझ छ बजे देउपुर मैदान ओर्लियो। मैदान ओर्लने सिंढीमा थकानले यति पेलिसकेको थियो, ठूलो छपनी देख्यो कि ज्यान थचक्कै हुने। चौतारी फेला पर्दा त यो हामीलाई नै बनाइदिएको त हो भन्ने लागेर हातगोडा फतक्कै गलिहाल्ने !

मैदान झरेपछि यतै पो बस्ने कि… मनमनै लाग्न थाल्यो। तर, योजना त घर फर्कने नै थियो। हामी बिस्तारै बिस्तारै बाटो घटाउनै उद्यत भइरह्यौं। छोटो छोटो भिडियो क्लिप खिच्दै, सेल्फी खिच्दै बाटो काट्ने मेलो गरियो। विश्वको अगाडि क्यामेरा तेर्स्याएर “थकाइ लाग्यो कि?” भन्यो भने विश्वको नियमित जवाफी कारवाही हुन्छ, “मलाई थकाइ लागेको छैन!” सबैभन्दा पछिल्लो भिडियोमा त विश्वको भाषा पनि मुस्कानसहित फेरियो, “अब त थकाइ लाग्यो!”

कडेना-कोरुङ्गा वन भई पातीचौर बजार झर्दा साँझ झमक्कै भइहाल्यो। ७:०० बजे पातीचौर बजार पुग्दा खुट्टाले ज्यान थाम्नै अनकन गरिरहेका थिए। घर पुग्नलाई अझै उकालो बाँकी थियो।

त्यो उकालो त घरकै आँगनपिंढी जस्तो न हो! हिंड्न थालियो, झ्यास्सै! झ्यास्सै ठाने पनि १५ मिनेटको बाटोले डेढ घण्टा लटरपटर पारिरह्यो…!

पातीचौरबाट जाइरुम्टा-अर्चले हुँदै घर पुग्दा राति ९:०० बज्यो! घाम नझुल्कँदै हिंडेका हामी तारा टिमटिमाइसकेपछि मात्रै घर फर्कियौं। तर, फलाँटेडाँडामै रात कटाउने र फलाँटेडाँडामै उभिएर झुल्केघाम हेर्ने रहर भने बाँकी नै रह्यो- त्यो यात्राको तारतम्य अर्को पालिका लागि!!

(२०७९ असोज १५, शनिबार)

——

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP