हिरादेवी वाइबाको ब्लग; गरिबको चमेली बोल्दिने कोहि छैन! – Sarangi News

स्थानीय चुनावताका यता स्वतन्त्र उमेदवारहरुले माहौल तताए। विभिन्न ठुला राजनीतिक पार्टीहरुका पहुँचवाला उम्मेदवारहरु बिरुद्ध केही ठाँउमा स्वतन्त्र उमेदवारहरुले शानदार जित हासिल गरेपछि सुरु भएको स्वतन्त्र उम्मेद्बारीको होडबाजी, महिमागान संघिय संसदको चुनावी माहोलमा झनै उम्लिएको छ। मैले ‘उम्लिएको’ किन पनि भन्दैछु भने यो राजनीतिक/ सामाजिक न्यायपुर्ण चेत कम र लहड बढी भएर अघि बढिरहेको छ भन्ने मेरो ब्यक्तिगत बुझाइ हो।

स्थानिय तहको चुनावअघि काठमाडौं महानगरको सरगर्मी बढ्यो। किनकी यहाँका स्वतन्त्र उमेदवार थिए बालेद्र शाह। एउटा तप्काको शहरीया युवा पुस्ता जसको प्रबिधिमा पहुँच छ, माझ परिचीत र्यापर। युवा पुस्ताले नै पछ्याइरहेको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले चुनावी क्याम्पेनमा सहयोग गरिरहेको क्यान्डिडेट। कथित सेलिब्रेटीहरुले काँधमा बोकिरहेका उम्मेद्बार। सामाजिक आर्थिक पुजि बलियो भएको उमेदवार। बाउ आयुर्वेदको डक्टर, दाइ /दिदी कथित गतिलो स्थानमा भएको, काठमाडौंमा घर भएको जमिनदारको छोरा। सम्पुर्ण श्रोत /साधनहरुमा पहुँच भएको। त्यसताका यस्तो लाग्थ्यो; स्वतन्त्र भनेकै बालेन्द्र शाह हो र स्थानीय तहको निर्वाचन भनेकै काठमाडौंमा मात्रै छ।

स्थानीय तहको चुनावपछि भने धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ एकाएक चर्चामा रहे। एक्लै चुनावी प्रसारमा होमिएका, बर्षौ धराने जनताको सङ्हर्ष र आन्दोलनका हिस्सा बनेका, न रवाफ देखाउन ठूलो आर्थीक हैसियत भएका न कुनै मिडियाहाउस/ सामाजिक संजालका पेजहरुले भरोसा दिएका; सीमान्तकृत मान्छे।

चुनाव जित्नु अघि ‘स्वतन्त्रको चुनावी माहोल’मा गुमनाम रहेर शानदार जित निकालेका उनको सादगी र वास्तविक समस्याहरु हल गर्न अघि सारेका प्रतिबद्धताहरुले एक किसिमको तरङ्ग पैदा गरेको थ्यो। यी दुई स्वतन्त्र जितेका मेयरहरुको चुनावी जितपछि स्वतन्त्रको लहर उठ्ने/फैलिने पृष्ठभुमि बन्यो। भलै चुनावी एजेन्डा, बर्ग पक्षधरता, सामाजिक न्यायप्रतिको चेतमा यी दुई मेयर बिपरित ध्रुवमा उभिन्छन्।

स्वतन्त्रको हाइप यसरी उठ्यो कि मानौँ कुनैपनी राजनीतिक दलमा आवद्ध नहुनु र उनीहरुबाट स्वतन्त्र हुनुनै आवस्यक मापदण्ड जसरी यो फैलियो। युवा हुनु र स्वतन्त्र हुनु नै पर्याप्त जस्तो गरि प्रचारप्रसार गरिए। हुँदा हुँदा कथित भगवान् कहलिएका पुर्व संचारकर्मीले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै खोले।

लोकतन्त्रमा राजनीतिक पार्टी खोल्नु, आफ्नो बिचार र सिद्धान्त स्थापित गर्न संगठित हुन पाउने अभ्यास लोकतन्त्रको आधारभुत अवधारणा अन्तर्गत पर्छ। तर जजसको बलिदानीले उनीहरुलाइ यो अधिकार दिलायो आजका अधिकतम् स्वतन्त्रहरु तिनै विरुद्ध हिंड्न् उद्दत छन्।

एउटा उमेदवार राजनीतिक पार्टिबाट अलग रहनुले नै उ स्वतन्त्र हुन्छ त? ब्याक्ती जब भिडको प्रतिनिधित्व गर्न उभिन्छ उ कसरी स्वतन्त्र हुन्छ? उ संग त्यो भिडलाई संगठित गर्ने बैचारिकि, प्रतिबद्धता र संकल्पहरु हुनुपर्छ। यसरी हेर्दा पनि त्यो ब्याक्तिले कसको प्रतिनिधित्व कसरी गर्छ भन्नेकुरा महत्त्वपूर्ण हुन्छ। यस अर्थमा ‘स्वतन्त्र उमेदवार’ पार्टीबाट स्वतन्त्र हुन्छ तर आफ्नो सामाजिक जिम्मेवारीमा उ स्वतन्त्र रहदैन। सामुहिक हित र सामाजिक न्यायको लागि कामगर्नुपर्छ भन्ने नै नबुझी चुनावमा होमिएकाहरुले ‘निरंकुशता लाद्नु’ लाई स्वतन्त्र हुनु सम्झिएका हुन् भने त्यो सबैभन्दा घातक सिद्द हुने निश्चितै छ।

स्थानीय तहको निर्वाचन अघि/ पछि जुन खालको स्वतन्त्रको लहर आयो त्यसमा कतिले सामाजिक न्यायको पक्षलाई संगै राखेर भौतिक बिकास अघि सारे त? भनेर प्रश्न गर्ने हो भने, उत्तर निरासाजनक छ। स्वतन्त्र उठ्ने लहडका उम्मेद्वारहरुलाई हेर्ने हो भने अधिकांस कुलीन बर्गलाई प्रतिनिधित्व गर्ने र तिनै बर्गका मान्छेहरुको हित रक्षागर्ने पक्षमा उभिन्छन्।

अधिकांस स्वतन्त्र उम्मेद्बारहरुले पछिल्लो समय निर्माण गर्न खोजेको भाष्य झनै सर्वथा गलत र लोकतन्त्रले सुनिश्चित गरेको आधारभुत सामाजिक न्यायको बिरुद्धमा देखिन्छ। जस्तै; देश बनाउन अक्स्फोर्ड पढेको, बिश्वबिधालयबाट डिग्री हासिल गरेको, बिधावारीधी गरेको, बाँच्नको लागि पुर्ख्यौली सम्पत्ति अकुत भएको र राजनीतिमा आएर भ्रष्टाचार गर्दिन भनेर धाक लगाउ सक्ने जस्ता योग्यताहरु मापदण्ड बनिरहेका छन्; जो मुलतः श्रमजीवी, उत्पीडित, सिमान्तकृतहरुलाई मुलधारको राजनीतिमा निषेध गर्ने भाष्य हो। आफ्नो ठाँउको मुद्दा संसदमा बोलेर सम्बोधन गर्न लगाउन प्रयत्न गर्ने कर्णालीकि झोवा बिकहरु विरुद्धको हो। उत्पीडितहरुलाई अझै उत्पीडनमा धकेल्ने प्रपन्च हो।

कतै एउटा भनाइ पढेको याद आयो, “देर इज नोथिङ लाइक भोइसलेस। दे आर जस्ट डेलिबरेटली साइलेन्स्ड।” अर्थात् , आवाजबिहिन जस्तो कोहि छैन। मात्रै उनीहरुको आवाज षड्यन्त्रपुर्वक दबाइएको छ।

सर्वाधिक चर्चामा रहेका मध्य धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गले ढुङ्गा बोके, जन श्रमदानको लागि आह्वान गरे भनेर हेय भाव राख्ने/श्रमलाई लज्जाको बिषय बनाउने सामाजिक संजालको जमात एउटा ज्वलन्त उदाहरण हो फाँसिबादको। पहुँचवाला स्वतन्त्रहरुले निर्माण गर्न खोजेको भाष्यबाट दिक्षित बर्ग। तर यो बर्गले के बुझ्न चाहिरहेको छैन भने आफ्नो अस्तित्व जोगाइरहन ढुङ्गा बोकिदिने र आफु सुखसयलमा रहेर ढुङ्गा बोकाउने हैसियत भएका कुलीनहरु बिच जति गहिरो खाडल बन्यो उति चाँडो उनीहरुको साम्राज्य खतरामा पर्ने सम्भावना बढ्छ।

चुनावी क्याम्पेन ताका ‘गरिबको चमेली, बोल्दिने कोहि छैन’ गाएर मास सेन्टिमेन्ट बटुल्दै वाहवाही पाएका बालेन्द्र साह ले आज तिनै श्रमजीवी गरिब माथी गुन्डागर्दि गर्दैगर्दा थप्पडी बजाउनेहरु पनि उनै कुलीन बर्गलाई प्रतिनिधित्वगर्नेहरू छन्।

बालेन्द्र, बालेन्द्र जस्तै भाष्य बोकेर आएका स्वतन्त्र र तिनका अरिङ्गालहरुले गरिबीले सहर कुरुप पार्यो भन्नुअघि; यो सहरको सौन्दर्य तिनै गरिबहरुको आँसु, पसिना र रगतको जगमा बनेको हो भनेर सम्झिउन्। यो सहरको सडक, कुलेसो, गगन चुम्बी महलहरु कुनै कुलीन बर्गको मानिस वा राजा रजौटाहरुको श्रममा निर्माण भएको हैन। यो तिनै श्रमजीवी गरिबहरुले हाड घोटेर योगदान गरेको श्रमको जगमा बनेको हो! उनीहरुले चर्को घाम, दर्के झरी, हिउँद/बर्खा नभनी जोतिएर हाड मासु यहि सडकमा बिछ्याइ दिएपछि बनेको हो तिमीहरुको मर्सिडिज कुद्ने चिल्लो सडक!

राज दरबारको भित्ता हेर, सिंहदरबार अगाडि लम्पसार बाटो हेर, तिम्रो घरमा चिटिक्क बिछ्याइएको मार्बलहरुमा हेर; त्याहाँ यिनै श्रमजीवी बर्गका मान्छेहरुको अनुहार देखिन्छ। तिमिले गर्बले शिर लुकाइ रहेको घरको सिलिङ्गहरु तिनै गरिबका कंगाल छातीहरु टाङ्गिएपछि बनेको हो। आफू बसिरहेको ठुला बिल्डिङहरुको रङ्गिचङ्गि हेर त्यो पनि सर्मिला तामाङहरुकै पसिनाको टाटा ले रङ्गिएको हो। यो शहर जति बालेन्द्र र उस्का गुन्डाहरुको हो; त्यतिनै सर्मिला तामाङहरुको पनि हो!

चाहिदाको भाडो नचाहिदाको घाँडो व्यबहारले निम्न आर्थिक आयभएकाहरुको भोको पेटमा दन्केको आगोले तिमीहरुको कुलीन सुन्दरता जलाउनु अघि तिमीहरुको चेत खुलोस्। नत्र तिमीहरुको कुलीन साम्राज्य जलेर खरानी भएको भग्नावसेसबाट सर्मिला तामाङहरुले गाउनेछन् “उत्पीडकको चमेली बोल्दिने कोहि छैन!”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP