यात्रा संस्मरण : चितवन यात्रा – Sarangi News

चितवन यात्रा (यात्रा संस्मरण)

              – जीविका अश्रु

24 सितम्बर 2022को बिहान 5.30तिरनै “हाम्रो मझेरी साहित्य प्रतिष्ठान” नारायणगढको निमन्त्रणा स्विकारेर म निस्केकी हुँ भरतपुर,चितवनको यात्रामा । देउरालीको ट्याक्सी स्टेण्ड्सम्म पुर्‍याइदिनु भयो प्रकाशजीले ।  निकैबेरको पर्खाइपछि गाडीमा प्यासेन्जर पूरा भए र लगभग सात बजेतिर गाडीले आफ्नो यात्रा शुरु गर्‍यो सिलगडीसम्मका लागि ।

दार्जीलिङबाट स्रष्टा सरस्वती शर्मा छेत्री पनि आउने कुरा थियो । काँकडभिट्टामा दुईजना भेटेर जाने सल्लाह भएको थियो ।

उनी म भन्दा तीन घण्टा पहिले नै पुगेर मेरो प्रतीक्षा गरिरहेकी थिइन् । हामी एकबजेतिर भेट भयौं मेची पुलमा । लामो बसाइद्ये दिक्क भएकी सरस्वतीको अनुहारमा खुशीको रेखा दौडिएको भान हुन्थ्यो । सरस्वतीका लागि चितवन यात्रा नौलो थियो । यसअघि उनी नेपाल गएकी रहिनछिन।

मध्य दिउँसोको चर्को घाममा हामी एकछिन त अतालियौं । नजिकैको मितेरी होटेलमा गएर पङ्खाको हावामा केही राहत महसुस गर्दै खाना खायौं । बाहिर गर्मीले खप्न सक्ने अवस्था थिएन । बसको समय हुइन्जेल होटेलमै बस्यौं । घामले मधुरो हुने नाम लिएको थिएन। चार बज्नै लाग्दासम्म । तर पनि हामी बाहिर निस्किनै पर्ने बाध्यता थियो। निस्क्यौं । काँकडभिट्टाबाट चार बजे नारायणगढको गाडी चढ्यौं । साढे चारतिर गाडी पश्चिम तर्फ हुइँकियो । उज्यालो रहुन्जेल धुलाबारी,चारआली, बिर्तामोड ,कन्काई नदी, दमक, उर्लाबारी,मङ्गलबारे,पथरी,बेलबारी,हरैचा, इटहरी आदि ठाउँहरू चिनाउदै गरें। ऊनी खुशी र कौतुहलता शान्त गर्दै बसिन। बिस्तारै अध्यारोले झ्याप्प छोप्यो।हामी पनि निधाएछौं । सप्तकोसीको पुलमा पुगेर आँखा खुल्यो।भारतीय नम्बरमा कल आइरहेको रहेछ। भाण्टाबारी,सप्तकोसी आसपासमा बिहारको नेटवर्क टिप्दोरहेछ फोनले।सरस्वतीले आफ्नो घरमा फोन गर्नसम्म भ्याइन।

नेपालको सबैभन्दा ठुलो नदी हो सप्तकोसी। यस नदीमा सातबटा साना साना नदी मिसिएर सप्तकोसी बनेको हो। ती नदीहरू हुन् अरुण ,तमोर,भोटेकोशी,दुधकोशी,तामाकोसी, लिखु र इन्द्रावती। यतिधेरै नदी मिसिएर बनेको नदी सानो हुने कुरै भएन।सप्तकोसी तरेपछि भारदह हुँदै गाडी अगाडि बढिरह्यो। सप्तरीमा खाना खाएपछि भने मज्जैले निधाइएछ।ब्युझदा त चारबजेको थियो। “चिया खान झर्नुस ट्वाइले जान झर्नुस”भन्दै खरङ्गा भन्ने ठाँउमा गाडीको स्टाफ चिच्याउदै थियो।

पच्चीस रुपैयाँ कपको चिया पियौं। त्यसपछि त एक घण्टामा अर्थात पूर्वान्ह 5.10 मा भरतपुरको पारस बसपार्कमा पुग्यौं । र पुष्प अञ्जली अधिकारी अर्थात संस्थाका आयोजकले बताएको बसपार्क स्थित सनराइज होटलमा विश्राम गर्न पुग्यौं ।

25 तारिक दिउँसो हामीलाई  चितवनका केही पर्यटकीय स्थल घुम्ने मौका मिल्यो।

किशन पौडेल, र अम्बिका कार्कीसँग देवघाटका मठमन्दिरको दृश्यावलोकन गर्‍यौँ। त्यहाँ धेरै धर्मशाला अनि गुरुकुलहरू रहेछन् । काली गण्डकी र त्रिशुली नदीको सङ्गमबाट नारायणी नदी बग्छ। नारायणी नदीलाई सप्तगण्डकी पनि भनिँदो रहेछ ।

नारायणी अर्थात सप्तगण्डकी नदीमा

त्रिशुली,बुढी गण्डकी,मर्स्याङ्दी, सेती,काली,मादी र दरौंदी नदी मिसिएका रहेछन् । मुक्तिनाथबाट शुरु भएकी कालीनदीमा दमौली आइपुग्दा सेती र मादी मिसिँदा रहेछन् भने बेनीघाटमा आइपुगेपछि त्रिशुली बुढी गण्डकीमा मिसिँदी रहिछिन ।

आँबु खैरेनी आइपुग्दा दरौंदी गोरखातिर  र मर्स्याङ्दी लम्जुङतिर बाट आएर मिसिदा रहेछन् । तर देवघाटको त्रिवेणीमा भने त्रिशुली र काली गण्डकी मात्र भएर मिसिदा रहेछन् । नियात्रा लेख्दैगर्दा मैले इन्द्र रेग्मीज्यूलाई नदीहरूका बारेमा सोधेकी थिएँ।उहाँले मलाई बिस्तृत जानकारी दिनुभयो।यसकालागी उहाँलाई धन्यवाद नभनी रहन सक्दिन म।

जसरी नदी मिसिएका छन् त्यसैगरी तीन जिल्लाहरू नवलपरासी, तनहुँ र चितवनले छोएको ठाँउ रहेछ देवघाट। किशन र अम्बिकाले हामीलाई  सीता गुफा नजिकै पुगेकोबेला बताएका हुन् । त्रिवेणी पुग्नु भन्दा थोरै तलतिर भित्तामा सीता गुफा रहेछ। पृथ्वी फाटेर सीता भासिएको ठाउँलाई सीता गुफा भनिएको भन्ने किंवदन्ती रहेछ।त्यस्तै  रामले सीताको कपाल समाएर निकाल्न खोज्दा सिताको कपाल मात्र रामको हातमा आएथ्यो अरे।साथै त्यस भेकमा बाबियो पलायो।त्यो बाबियोलाई सिताको कपाल भन्ने किंवदन्तीपनि रहेछ।

हामी अझ घुम्ने हेर्ने सोचले त्रिवेणीतर्फ जानै लागेका थियौं मुसलधारे पानी पर्यो। निकैबेर परेको पानीले हामीलाई सहजसँग घुम्न मिलेन र हामी विस्तारै फर्किने क्रममा थियौं अचानक एकजना वृद्ध सन्यासीसँग भेट भयौं । म सिक्किमबाट गएको कुरा उहाँको कान परेछ।ऊनी  त अंग्रेजीमा धेरै कुरा बताउन थाले सिक्किमको बारेमा। हामीले उनलाई बुझ्न जान्न चाह्यौं तर आफ्नो परिचय दिन चाहेनन् । मेरो मनमा धेरै कुरा उब्जिए।किन ऊनी आश्रममा आए? के उनका परिवार छैनन् ? पढेलेखेका असल जस्ता देखिने ब्यक्तिलाई के आइलाग्यो जो आश्रममा आएर आश्रय लिएर बसेका छन् ?

तर यस्ता अन्य विद्वान विदुषीहरू निकै देवघाटका विभिन्न आश्रममा बस्दा रहेछन् ।

25 तारिकको बेलुका हामी होटेल सनराइज पुग्यौं। टाढा टाढाबाट आउनु भएका सर्जक स्रष्टाहरू उपस्थित भइसक्नु भएको रहेछ।झापाबाट केशव आचार्य,बिबश बलिभद्र कोइराला , मन थेगुवा, पोखराबाट मनु शर्मा, चितवनकि अम्बिका कार्की आदि।पुष्प अञ्जलि दाइ इन्दिरा भाउजू पाहुनाको सत्कार खातिर साथमै थिए। बेलुका गजल संध्या साथै परिचय साटासाट गर्ने कार्यक्रम बन्यो। रमाइलो भयो।खाना खान टेबलमा बसेको बेला सुरेन्द्र अस्तफल र मीना रिमालले फोन गरेर बिहानको खानाको निम्ति बोलाए। नकार्न सकिएन।

26 तारिक विहानको बेला हामी तयार भयौं ।अस्तफल दाइ हामीलाई लिन होटेससम्म आइपुगे। हामी उनको निवास्तर्फ लाग्यौं। मीना भाउजूको हातले बनाएको कोदोको ढिंडो खायौं। कुनै समय यस्तो थियो कोदोको ढिंडो खानु भनेको गरिवीको संकेत मानिन्थ्यो।अहिले आएर ठिक उल्टा भएको छ। नयाँ परिकार बनेर ढिंडो प्रस्तुत हुन्छ आजकल। मलाई सानीहुँदा मन नपर्ने ढिंडो अहिले आएर सबैभन्दा मीठो र मन पर्ने भोजनमा पर्छ ।

कार्य ब्यस्तताको बाबजुद हामीलाई समय दिनु भयो पौडेल परिवारले असाध्य खुशी लाग्यो। साधुवाद उनीहरूलाई।

11.00 बजेबाट उता कार्यक्रम शुरु हुने खबर थियो। हामी समयमै होटेल पुग्यौं / पुर्याइदिए सुरेन्द्र दाइले। सबैजना तयारी अवस्थामा थिए।प्रमुख अतिथि प्राडा भीम खतिवडा आइसक्नु भएको रहेछ। हामी सबैजना कार्यक्रम स्थलतर्फ लाग्यौं । नेपाली समय त हो तोकिएको समयमा कहाँ कार्यक्रम हुन्छ र ! लगभग एक घण्टा पछि कार्यक्रम शुरु भयो। जब शुरु भयो सभ्य र भव्य रुपमा भयो।

कार्यक्रम स्थलमा रमेश प्रभात सरसँग भेट भयो।उहाँले भोकको भाइरस कविता संग्रहबाट केही कविता सुन्न मन छ।भोलि तपाईंको एकल कविता वाचन कार्यक्रम राख्नु पर्यो के छ विचार? भन्नुभयो ।म केहीबेर चुपचाप बसें।केहीबेरपछि हुन्छ भोलि एकदिन बस्छौं नि त भनें। मेरो जीवनको पहिलो एकल वाचन कार्यक्रम थियो यो। एउटा नयाँ अनुभव। अग्रजबाट धेरै कुरा सिक्न र आफ्ना त्रुटि सच्याउने मौका। भोलिपल्टको लागि कार्यक्रम फिक्स भएपछि हामी( सरस्वती र म )

अम्बिका कार्कीको घर पुग्यौं र त्यस दिन अम्बिका दिदीसँग गफिँदै बस्यौं।

27 तारिक विहानको खानापछि हामी कार्यक्रम स्थलतर्फ लाग्यौं। कार्यक्रम चितवन साहित्य परिषदको सभाहलमा तय गरिएको थियो। कार्यक्रम स्थल पुग्नु अघि लेखराम साप्कोटा भाइको नारायणगढ बजारको सम्पूर्ण किताबमा पुग्यौं । सम्पूर्ण किताब नारायणगढ पुस्तक पसलको नाम हो। केही बेर पसलमै बसेर बातचित गर्यौं।सरस्वतीले डा.देवि नेपालको लेखन शिल्प नामक पुस्तक किनिन्। त्यसपछि हामी चि.सा.प. को सभाहलतर्फ लाग्यौं।मनमा कताकता डर पनि लाग्या थियो।केही गल्ती पो हुने हो कि म बाट ! मनले सोचिरहेकै थियो।

हलमा उदय अधिकारी,रचना शर्मा,बिनोद बाबू रिजाल,उषा तिवारी , विद्या भण्डारी आदि स्रष्टा थिए। एकल कविता वाचनको कार्यक्रम राम्रो भयो। मलाई धेरै उर्जा मिल्यो। चितवनलाई सम्झिरहन एउटा सुन्दर समय बन्यो। अक्षर समूह चितवन,सम्पूर्ण किताब नारायणगढ र चिसापलाई मनमा राखेकीछु। आभार व्यक्त गर्दछु।

साँझ 7 बजेको गाडीको टिकट थियो। मित्र उषाले साँझको खाना खुवाएर हामीलाई स- प्रेम विदा गरिन्। गाडी पूर्वतिर हुइकियो।साँझ झमक्क परिसकेको थियो।अध्यारोमा बाहिरको दृश्य राम्रोसँग देखिएन।घुमफिरले गलेको थियो ज्यान।झपक्क निधाएँछु म त! बाटोमा खाना खान गाडी रोक्दापनि म निधाइरहेंछु। साथीले खाना खाइन् कि खाइनन् पत्तो भएन। बिहानीपख बरमझिया भन्ने ठाउँमा चिया पिउन गाडी रोकियो।मिरमिरे उज्यालो भैसकेको थियो। मुख हात धोयौं र चिया पियौं। छोटो समयको चिया ब्रेकपछि गाडी गुड्यो।  हामी काँकडभिट्टा नगएर धुलाबारीमै उत्रियौं र साहित्यकार चन्द्र भण्डारीकहाँ गयौं । सरस्वतीको चन्द्र दाजु भेट्ने ठुलो इच्छा थियो। हुन त म पनि चन्द्र दाजुकहाँ पुगेकी थिइन । त्यसैले अग्रजको आशीर्वाद लिन उनको घर गयौं हामी । भाउजू लिना र बुहारीले हामीलाई मीठो सत्कार गर्नुभयो।खाना बन्दाबन्दै भाउजूले महिला समितिका साथीहरू बोलाउनु भएछ। मीरा काफ्ले लगायत केही महिला मित्रहरू जम्मा हुनुभयो।परिचय साटासाट साथै रचना वाचनको कार्यक्रम बन्यो।त्यसपछि पुस्तक आदानप्रदान गर्यौं।दशैंको तेस्रो दिन अर्थात घटस्थापनाको तेस्रो दिन थियो।दाजु भाउजूले रातो अक्षताको टीका लगाएर हामीलाई बिदा गर्नु भयो।यो अविस्मरणीय पलका लागि म साहित्यकार चन्द्र भण्डारी  र लिना भाउजू प्रति नतमस्तक भएर आभार भन्दछु।

हाम्रो यसपछिको यात्रा सिलगडीसम्म सँगै रह्यो। त्यसपछि भने सरस्वती र म छुट्टियौं। अनि आफ्नो आफ्नो गन्तब्य गन्तव्य तर्फ लाग्यौं।

**************************************************

गान्तोक,सिक्किम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP