म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्नुस् : आयुक्त थपिलया – Sarangi News

कठमाडौं– निर्वाचन आयोगले भोलि (आइतबार) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेको छ ।

शनिबार आयोगको केन्द्रीय कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न पनि अपिल गरेका छन् ।

यता म्याग्दीका सबै मतदानस्थल र केन्द्र लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको हो ।  सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलका अनुसार निर्वाचनका लागि खटिएका कर्मचारी आ–आफ्नो स्थल र केन्द्र पुगेर सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार र निर्वाचन आयोगले तोकेका सबै काम पूरा गरिसकेको छ । साथै जिल्लाभित्रका सबै मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा कुनै किसिमको समस्या नभएको बताइएको छ ।

म्याग्दी सदरमुकाम बेनीबाट २२ किलाेमटरकाे मालिका गाउँपालिका–५, देविस्थानकाे श्री गाै बाेमबस्त माविको मतदानस्थलमा मतदान अधिकृत विष्णु रेग्मी सहित ३० कर्मचारी एक गते साझ नै पुगिसकेका छन् ।

त्यस्तै  धवलागिरि–४ मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा समेत गिरीप्रसाद छन्त्यालको नेतृत्वमा १९ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेनीबाट २६ कोस टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण मावि र धवलागिरि–४ मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा मतदान अधिकृत अमृत सुवेदी र गिरीप्रसाद छन्त्यालको नेतृत्वमा ३९ कर्मचारी खटिएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी दुई मतदानस्थल सुरक्षा र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा संवेदनशील मतदानस्थल मानिन्छन् ।यी दुई मतदानस्थल सुरक्षा र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा संवेदनशील मतदानस्थल मानिन्छन् ।

गुर्जा र मुदीको बगर जिल्लाको सबैभन्दा विकटका मतदान केन्द्र भएकाले मतपेटिका ढुवानीमा समेत हेलिकोप्टरको माग गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल नौ सय ५२ कर्मचारी परिचालन गरिएको छ । छ वटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार मतदाता छन् ।

मतदान केन्द्रमा स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबरम्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री पर्याप्त रहेको गुर्जाका मतदान अधिकृत सुवेदीले बताए।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न पनि अपिल गरेका छन् ।’निर्वाचन सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा गरिन्छ, सुरक्षाकर्मीबाट सूक्ष्म निगरानी हुनेछ, यातायातको सहज सञ्चालनका लागि सिडिओलाई आवश्यक निर्देशन, निष्पक्ष निर्वाचनका लागि मतदान अधिकृतलाई डर देखाउने, मतदातालाई जान नदिने, मतपेटिका लुट्ने, पटकपटक मतदान गर्न खोज्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका छौँ, मतदाताहरूले निर्धक्क भएर मतदान गर्नुहोला,’ थपलियाले भने ।

आइतबार बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान कार्यक्रम चल्ने आयोगले जनाएको छ ।

आयोगको अपिल

भोलि मंसिर ४ गते आइतवार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकोले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाताहरूलाई हार्दिक आव्हान गर्दछ ।

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन ९ कसुर तथा सजाय० ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ । यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ । यसका साथै विभिन्न र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको छ ।

आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ । आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ ।

नेपाल सरकारले आयोगको सिफारियासमेतका आधारमा यही मंसिर ४ र ५ गते देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । निजी तथा गैह्रसरकारी क्षेत्रमा आवद्ध जनशक्तिले पनि सहजतापूर्वक मतदानमा सहभागी हुन सकुन् भन्ने ध्येयले विदाको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारमार्फत ती क्षेत्रलाई अनुरोध गरिसकिएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीं कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटक पटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, मतदातासँग अर्को कुनै अनाधिकृत व्यक्ति मतदान कक्षमा जाने तथा मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्न खोज्ने जो कोहीलाई कानुनबमोजिम कारवाही गरी मतदाताको स्वच्छता र स्वतन्त्रता कायम गर्न मतदान अधिकृत तथा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक एवं निर्वाचन

प्रतिनिधिलाई आवश्यक निर्देशन दिइएको छ ।

निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ । निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

अन्त्यमा,

निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०७९ मंसिर ४ गते आइतबार आ( आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP