लिटरेचर फेस्टिभलको दसौँ संस्करण पुस ६ देखि (कार्यक्रम झलकसहित) – Sarangi News

पोखरा । आगामी पुस ६ गतेदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभलको दसौँ संस्करण हुने भएको छ ।

बुक वर्म फाउन्डेसनको आयोजनामा हुने फेस्टिभलबारे जानकारी दिन पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक निरज भारीले दसौँ संस्करण विशेष हुने जानकारी दिए । नवौँ संस्करणसम्म ४ दिन सञ्चालन भएको फेस्टिभल यस पटक पुस ६ देखि ११ गतेसम्म ६ दिन हुने र सत्रहरू पनि बढाएर ५५ वटा बनाइएको जानकारी दिए । उनले भने, ‘साहित्यले समाजसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले साहित्यिक महोत्सव भनिए पनि समाजका अन्य विषयलाई समेत महोत्सवमा स्थान दिने छौँ ।’

पोखराका वाङ्‍मयिक संस्थाहरूसँग सहकार्य नगरिनुको कारणबारे पत्रकारहरूको प्रश्नको जबाफ दिँदै भारीले आगामी संस्करणमा यस्तो प्रश्न नउठ्ने गरी कार्ययोजना बनाउने प्रतिबद्धता जनाए । नाफा कमाउने उद्देश्यभन्दा टाढा रहेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै नाफाकै लागि कुनै व्यावसायिक संस्थासँग सम्झौता नगरिएको उनले बताए । आर्थिक दृष्टिले घाटामै फेस्टिभल सञ्चालन गरिरहेको अनुभव उनले सुनाए । उनले दसौँ संस्करणका लागि पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने बताउँदै आर्थिक पारदर्शितामा आफूहरू सचेत रहेको स्पष्ट पारे ।

फेस्टिभलकी सह-निर्देशक सुजाता खत्रीले देशभित्र र बाहिरका २०० भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तित्वहरूको प्रस्तुति रहने बताइन् । कोभिडका कारण केही शृङ्खलाहरू रोकिए पनि पुनः फेस्टिभललाई निरन्तरता दिन पाउँदा खुसी लागेको उनले बताइन् ।

आयोजक समितिका सदस्य केशवशरण लामिछानेले फेस्टिभलले पोखरालाई धेरै कुरा दिएको धारणा राखे । पोखराको कला, साहित्य, पर्यटनलगायत क्षेत्रको उन्नतिका लागि फेस्टिभलले गरेको योगदानको मूल्याङ्कन आम पोखरेलीले गर्नुपर्ने उनको भनाइ थियो ।

समितका अर्का सदस्य भरत कोइरालाले फेस्टिभलले नेपाली समाजमा विशेष महत्त्व राख्दै आएको र अझै पोखरेली जनताका लागि यो विशेष अवसर भएको बताए । उनले सबै पोखरेलीले फेस्टिभलप्रति अपनत्वको भावना राख्नुपर्ने भनाइ राखे । विकास रोका मगरको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ, कास्कीकी अध्यक्ष विमला भण्डारीले फेस्टिभललाई सञ्चारकर्मीहरूको साथ रहने भन्दै सफलताको शुभकामना दिएकी थिइन् ।

शब्दशक्ति उत्सवको एक दशक नारासहित पोखराको लेकसाइडस्थित बाराही घाटमा हुने फेस्टिभलमा साहित्यप्रेमीहरू निःशुल्क प्रवेश गर्न सक्ने छन् ।

महोत्सवका मुख्य कार्यक्रम झलकः

  • पुस ६ देखि ११ सम्म आयोजना हुँदै,
  • बाराहीघाट, लेकसाइड पोखरामा हुने,
  • यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा-प्रतिष्ठान,
  • फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका,
  • सहयोगी संस्था पोखरा प्रज्ञा-प्रतिष्ठान,
  • आयोजक संस्था बुकवर्म फाउन्डेसन,
  • फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने,
  • फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने,
  • यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह-प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता रहने,
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान् कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट् उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भट्टराई, सङ्गीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहने,
  • फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा, मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहने,
  • फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहने,
  • फेस्टिभलको पहिलोदिन गोपाल योञ्जनको सम्झनामा गोपालय साङ्गीतिक प्रस्तुती रहेने,
  • गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक सङ्गीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुति रहने,
  • फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने,
  • फेस्टिभलमा शिक्षासम्बन्धी ३ सत्रहरू रहने,
  • फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १० : ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तृत्वकला प्रतियोगिता हुने,
  • शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दसौँ संस्करणको फेस्टिभलको उद्‍घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत् वचन रहने, उनले नेपाल २०९०शीर्षकमा प्रवचन दिने,
  • सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको ।

(पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिबाट साभार ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP