रूपाज्योति माविको ४२ औँ वार्षिकोत्सव सम्पन्न – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका-६, तालबेंसीस्थित रूपाज्योति माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ ।

सो अवसरमा उत्कृष्ट अभिभावक सासा पराजुली, उत्कृष्ट शिक्षकद्वय विकास पगेनी र सविता न्यौपानेलाई सम्मान गरिएको थियो । विद्यालयको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै विद्यालयले ३ जनालाई सम्मान गरेको हो । कार्यक्रममा खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रूपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले सरकारले दिवा खाजाका लागि दिएको १५ रुपैयाँ पर्याप्त नभएको धारणा राखिन् । उनले आफूले गाउँपालिकाका तर्फबाट केही राहत हुने गरी कार्यक्रम ल्याउने प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । सामुदायिक विद्यालयको पढाइ राम्रो भएन भनेर शिक्षकलाई मात्रै दोष दिन नहुनेमा जोड दिँदै कार्यक्रमकी प्रमुख अतिथि गुरुङले अभिभावकहरू अत्यन्त सचेत भएर आफ्ना बालबालिकाका विषयमा चासो राख्नुपर्ने बताइन् । रूपाज्योतिले गरेको उन्नति अन्य विद्यालयले समेत अनुकरण गर्न योग्य रहेको भन्दै उनले रूपाको पहिचानमा विद्यालयको योगदानको प्रशंसा गरिन् ।

वडा नं. ६ का वडाध्यक्ष नारायण गुरुङले विद्यालयको जग्गा सीमित रहेको भन्दै जग्गा थप्न पहल गर्ने प्रतिबद्धता जनाए । जिल्ला समन्वय समिति, कास्कीका सदस्य हर्कबहादुर गुरुङले विद्यालयको विकासमा राजनीतिक विभेदको गन्ध आउन नहुनेमा सबै सचेत हुनुपर्ने धारणा राखे ।

गाउँपालिकाकै शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले रूपाज्योतिले क्रमशः प्रगतिको बाटोमा आफूलाई अघि बढाएकोमा सन्तोष व्यक्त गरे । भौतिक रूपमा आधारभूत आवश्यकता पूरा भएको बताउँदै पौडेलले अबको लक्ष्य शैक्षिक उन्नतितर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समुदायको साथबिना विद्यालयले प्रगति गर्न नसक्ने औँल्याए । उनले सीमित ठाउँलाई अधिकतम सदुपयोग गरेर भौतिक पूर्वाधार विकास गरिरहेको जानकारी दिँदै शैक्षिक दृष्टिले समेत विद्यालय उत्कृष्टताको बाटोमा हिँडिरहेको बताए । प्रविधिमैत्री सिकाइ सहजीकरणका लागि आगामी वर्ष विशेष पहल गर्ने योजना सुनाउँदै कडेलले सरकारसँग विद्यालयहरूका लागि विषयगत दरबन्दी दिनुपर्ने माग गरे ।

सहायक प्रधानाध्यापक सङ्गीता आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सामाजिक परीक्षण समितिका सदस्य पुष्पराज सुवेदी, अभिभावक शिव थापा, रूपाज्योति बाल क्लबकी अध्यक्ष जेनिसा गुरुङ, शिवालय माविका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, सम्मानित अभिभावक सासा पराजुलीलगायतले शुभकामना दिएका थिए ।

विद्यालयका शिक्षक महेश गुरुङले स्वागत गरेका सो कार्यक्रममा विद्यार्थीहरूले नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP