बाआमा : नेपाली साहित्यको उत्कृष्ट पुस्तक या बजारको ? – Sarangi News

आरती आचार्य 

(‘बाआमा’ पुस्तकका लागि महेश पाैडेल सरको समालोचनालाई १००% समर्थन गर्दै ……!)

समकालीन नेपाली साहित्यको आख्यान पढिरहँदा मेरो (पाठकको आँखाबाट ) अपेक्षा चरमचुलिबाट झारेर भूईँमा पुर्‍याउन सफल यो दोस्रो कृति हो।पहिलो कृतिमा म बोलिनँ मैले चुपचाप विरोधको कविता लेखेँ ” बिद्रोहको बिम्ब” तर यसपटक म बोल्छु र चित्त नबुझेका कुरामा सबै बोल्नुपर्छ भन्ने मान्यता राख्छु।यसलाई व्यक्तिगत नभै पाठकको नजरबाट हेरियोस्।

रामलाल जोशीकृत कथासङ्ग्रह हो “बाआमा”। बुकहिल प्रकाशनले २०७९ भदाैमा प्रकाशित गरेको यो पुस्तकको मेरो हातमा दोस्रो संस्करण परेको छ।पुस्तकको अघिल्लो आवरणमा लेखिएको छ ” ऐना कथा सङ्ग्रहका लागि मदन पुरस्कार विजेता लेखक।” त्यस्तै पछिल्लो आवरणमा छ “बेस्ट सेलर।”

पुस्तक सरल छ जटिल भाषाको उल्झनमा पाठक हराइरहनु पर्दैन।लेखकले कथाको लागि उठाएका अधिकांश मुद्दाहरु पनि ठीक छन्।तर कथाहरु खल्लो छन्।पात्रहरु हदैसम्मको अस्वभाविक छन्।कथा पढेपछि पात्रलाई पाठकले दिनुपर्ने सहानुभूति लेखक आफैले पहिल्यै खन्याइदिएका छन्।कथा पढेपछि सिक्नुपर्ने कुरै खास छैनन् किनकि सबैकुरा नियतिमा चल्छ भनेर लेखक पटकपटक भनिरहन्छन्।कुनै खास परिवेशमा लेखिएका कथा र पात्रहरुको तालमेल मिल्दैन, घटनाक्रम नमिल्दो लाग्छ। जस्तो : ‘साथीको सम्झना’ कथामा तीन बर्षको दुधे बालक साथीसँग मिलेर चल्ला पोलेर खाइरहेको छ।मलाई यो अस्वभाविक लाग्यो ।अरु धेरै यस्ता प्रसंग छन् जुन माथिको समालोचनामै समेटिएका छन्।

“साथीको सम्झना”कथाकै पात्रहरुको संवादमा दिदीलाई पनि हामीसँगै लिएर जाम् भन्दा ‘बा’ पात्र भन्छन् (भलै उनी वास्तविक बा होइनन् ) ,”अर्काको घराँ जाने जात।जैले छोडे पनि आखिर छोड्नु नै छ भने किन लिएर जाम्?नलगम्।ह्यैँ छोड्दिम्।”
हुनसक्छन् यी समाजले सोच्ने वास्तविकता हुन्। तर पनि यति नाम चलेको लेखकले यी कुराहरु लेखेको देख्दा पाठकिय नाताले लेखकको लैङ्गिक चेतनामाथि प्रश्नै प्रश्न उब्जिएका छन्। कथामा माथिका वाक्यहरुको विरुद्ध पात्रमार्फत कुनै सशक्त विरोध नै नदेखेपछि मेरा आक्रोशहरु झन् चुलिएका छन्।गलत हो भन्ने शैलीमै लेखिए पनि यसले कतै न कतै माथिकै कुरा स्विकारिरहेको जस्तो देखिन्छ।केही समयअगाडिको प्रकाश सपुतको ‘सकम्बरी’ जस्तै ।

मानाैँ लेखकको यो पहिलो कृति हो। ठीक छ पाठकले माफ गरिदिन्छ। केही गल्तीहरु सच्चाउने र लेखकले आफूलाई अझै निखार्ने माैका दिन्छ तर लेखकले ‘मदन पुरस्कार’ पाइसकेपछि पनि यस्तो पुस्तक आउँछ भने पाठकले चिच्याई चिच्याई भन्नुपर्छ यो गलत भयो ताकि अर्को पटक यो गल्ती नदोहोरियोस्।म लेखकलाई त्यही चिच्याई चिच्याई भन्न चाहन्छु :-पाठकको समय र पैसाको सम्मान गरियोस्। बजारको लागि र कम्तिमा लेख्नकै लागि मात्रै केवल “कथाहरु” नलेखिउन्।मदन पुरस्कार पाइसेकेको लेखकबाट पाठक वर्ग बढी अपेक्षा राख्छन्। नेपाली साहित्यको गरिमा र गुणस्तर कायम गरिराख्न जीम्मेवार व्यक्तिको रुपमा पनि हेरिरहन्छन्।तसर्थ लेखक बजार केन्द्रित मात्र हुनुहुँदैन भन्ने म जस्ता आम धेरै पाठकलाई लाग्न सक्छ ।

पुस्तकमा “बेस्ट सेलर”को ट्याग लागेको रहेछ।नेपाली साहित्य यी पुस्तकलाई “बेस्ट” मानेर पढिरहेको छ भने मलाई लाग्छ नेपाली आख्यान लैङ्गिक रुपमा मात्रै होइन अरु धेरै दृष्टिकोणले पनि ओरालो लाग्ने क्रममा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

शुभकामना ईशानेश्वर माविलाई ! (कविता)


TOP