कवि गोविन्दबहादुर कुँवरको बालकविता सँगालो ‘रमाइलो दशैँ’ भित्र पस्दा … – Sarangi News

साहित्यकार गोविन्दबहादुर कुँवर (२००८) लमजुङका पुराना स्रष्टा हुन् । दूधपोखरी प्रतिभा परिवार, लमजुङका संस्थापक अध्यक्ष कुँवरले साहित्यका कविता, निबन्ध, हास्यव्यङ्ग्य, कथा, बालकविता लगायतका थुप्रै विधामा कलम चलाएका छन् र कतिपय विधामा सङ्ग्रह पनि प्रकाशन गरिसकेका छन् । उनका सम्पादित १, कथा सङ्ग्रहका ३, कविताका ३, निबन्धका २, जीवनकथाका १, बालकविता सङ्ग्रहका २ गरी जम्माजम्मी १२ वटा पुस्तकाकार कृति छापिइसकेका छन् । कवि कुँवरको बालसाहित्यतर्फ ‘तातेताते’ नामक बालगीतिसङ्ग्रह प्रकाशित छ भने अन्य कृतिहरू पनि प्रकाशनको तयारीमा छन् । विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत कवि कुँवरका बालकवितामा ग्रामीण संस्कृतिप्रतिको मोह, अतीततर्फको चासो, लोकजीवनसँगको सामीप्यता, आञ्चलिकता, प्रकृतिसँगको घनिष्टता, नेपाली भू–प्रकृतिको कलात्मक र जीवन्त चित्रण, बालसुलभ कोमलता, अग्रजप्रतिको श्रद्धा, लोकभाषाको प्रयोग जस्ता वैशिष्ट्य पाइन्छन् । शिक्षासेवी व्यक्तित्व भएको नाताले शैक्षिक चेतनाको झलक पनि उनका बालकवितामा घुसेको देख्न सकिन्छ । कवि कुँवरको किशोर तथा बालकविता सँगालो ‘रमाइलो दशैँ’ मा लामाछोटा गरी २४ वटा कविताहरू सङ्गृहीत छन् जसको सङ्क्षिप्त चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।
कवि कुँवर बालमनोविज्ञान बुझेका स्रष्टा हुन् । उनी बालबालिकालाई केन्द्रमा राखेर बालसुलभ ढङ्गले बालकविताको रचना गर्दछन् । बालकविताका स्रष्टामा अभिभावकीय जिम्मेवारी पनि हुने हुँदा उनी बालबालिकालाई नझिँज्याइकन उनीहरूलाई नै फकाई फुल्याई बालपात्रलाई नै सम्बोधक पात्र बनाएर कविता मार्फत नैतिक सन्देश दिन्छन् । रिसले भलो गर्दैन भन्दै उनी यसरी सम्झाउँछन् –
रिस धेरै गर्नुहुन्न भन्छन् नि दुर्वासा
ठूलो हैन असल बनौँ यही नै छ खासा ।
– असल मान्छे बनौँ
नेपाली चाडपर्व र संस्कृतिको सन्दर्भ जोड्दै दसैँ तथा तिहार लगायतका पर्वको बेला बालपात्रमा हुने कर्तव्यबोधी चेतना र नैतिक सन्देशको प्रस्तुतिका साथै रमाइलोको अनुभव वर्णन उनले यस सङ्ग्रहका कतिपय बालकवितामा यसरी गरेका छन् –
खामा गाडी हालियो आँगनीमा पिर्के पिङ्
साथीसँग रमाई खेल्छु साँझ–दिन ।
– दसैँको रमाइलो
भाइको मुहार उज्यालो सप्तरङ्गी टीकाले
अक्षर राम्रा मिलेका सिधा डिकाले
– तिहारको रमाइलो
बालकविताको मुख्य उद्देश्य भनेकै मनोरञ्जन हो तसर्थ मनोरञ्जनात्मक पक्षलाई ध्यानमा राख्दै यस सङ्ग्रहमा सङगृहीत उनका बालकवितामा लोकजीवनमा प्रचलित बालगीतलाई मौलिक पाराले प्रस्तुत गरिएको पाइन्छ । यसबाट उनले आफ्नो बाल्यजीवन समेत सम्झन पुगेको भान हुन्छ । जस्तै –
पानी ओत्ने स्याखु घुम
आऊ बसौँ जोडी कुम ।
साँचो मुचो थैलीमा
नाचौँ गाऊँ भैलीमा ।
– साँचो मुचो थैलीमा
आज किन पेटै दुख्यो ? अमिलीको चुकले
जस्तो पनि ठिक्क पार्छ बेसारेको मुखले
– बालगीत
कवि कुँवर बालबालिकालाई श्रमप्रति श्रद्धा र कर्मप्रति विश्वास गर्न प्रेरित गर्दछन् । बालबालिकाले अहिले सङ्घर्ष गर्न सिके पो भविष्यमा सुखभोग गर्न सक्छन् भन्ने उनको आशय कतिपय बालकवितामा झल्कन्छ । त्यसो हुँदा उनी मेहनतको पाठ आफ्ना बालकविता मार्फत पढाउन पुग्छन् अनि बालपात्रलाई असल मान्छे हुनका लागि समेत हौस्याउँछन् । बालकले के गर्न हुने हो र के गर्न नहुने हो आफै छुट्याउनका लागि उनी बालपात्रलाई यसरी आग्रह गर्दछन् –
हामी आफू कस्तो बन्ने आफैँ विचार गरौँ
आफ्नो काम आफैँ गरौँ आफ्नै भर परौँ ।
– आफैँ विचार गरौँ
समय सान्दर्भिकता उनको बालकविता लेखनको अर्को वैशिष्ट्य हो । उनले आफ्ना बालकवितामा कोरोना महामारीको सन्दर्भ पनि कोट्याएका छन् । विश्वमै आतङ्क मच्चाउने गरी फैलिएको कोरोना महामारीको समयमा बालपात्रले भोग्नुपरेको पीडा र दसैँ मान्न नपाउँदा भएको नरमाइलो अनुभूति उनको बालकवितामा पीडा बनेर यसरी पोखिएको छ –
आयो दसैँ आयो
यसपालिको दसैँ
कोरोनाले खायो
हुलमुलमा जान पाइएन
नयाँ नाना लाउन पाइएन
– कोरोना दसैँ
कवि कुँवर प्रकृतिलाई माया गर्ने प्रकृतिप्रेमी कवि हुन् । आफ्ना बालकविता मार्फत प्राकृतिक सौन्दर्यको चित्रण र ऋतु वर्णन गर्न उनी रमाउँछन् । उनी प्रकृतिको तनमय मात्रै होइन मनमय चित्रण पनि गर्छन् । कवि कुँवरले प्राकृतिक सौन्दर्यको आत्मपरक वर्णन यसरी गर्न पुगेका छन् –
पाखा पखेरा पहेँला घाम लाग्यो
धुलो, हिलो–मैलो सबै कता भाग्यो
वनमा देखिन्छ हरियाली कति राम्रो
आकाशजस्तै खुलेको छ मन हाम्रो ।
– शरद्
उनले यस सङ्ग्रहमा रहेका बालकविता मार्फत नेपालको प्रसिद्ध शहरको काव्यात्मक चिनारी पनि प्रस्तुत गरेका छन् । लयात्मक विविधता पाइनु उनको अर्को प्रवृत्ति हो । उनले स्वतन्त्र र लोक लयात्मक बालकविताका अतिरिक्त बालगजललाई पनि यसमा स्थान दिएका छन् । उनले यसभित्र मानव अधिकारका पक्षमा वकालत गरिएका कविता पनि रचेका छन् । उनका ’भ्यागुताको जीवन’ र ‘फूलको जीवन’ बालकवितामा प्रकृति र विज्ञानको सन्दभै गाँसिएको देख्न सकिन्छ । राष्ट्रका लागि प्राणको उत्सर्ग गर्ने वीर सहिदहरूप्रतिको उच्च सम्मान व्यक्त गर्दै सहिदहरूलाई सधैँ स्मरण गर्नुपर्छ र उनीहरूको सिको गर्दे देश निर्माणमा होमिनुपर्छ भन्ने भावाभिव्यक्ति उनले यसरी पेस गरेका छन् –
हामी सधैँ सम्झिराख्छौँ वीर सहिदलाई
हटाउनु छ जननीको पीर–व्यथालाई ।
– सहिद
अतिथि आगमन हुँदा बालपात्रलाई रमाइलो लाग्ने प्रसङ्ग उनको पाहुना बालकवितामा अभिव्यक्त भएको छ । बालबालिकाको आसे स्वभावलाई अप्रत्यक्ष रूपमा यसमा झल्काइएको छ । कवितामा नाता सम्बन्धको परिचय पनि दिइएको छ भने पाहुनासँग लिने मात्र होइन उनीहरूलाई दिन पनि जान्नुपर्दछ भन्ने सन्देश पनि यसरी प्रस्तुत गरिएको छ –
आमाले पाहुनालाई मिठो खाना ख्वाउनु भो
बाबाजीले दिदीलाई नाना दिनु भो ।
– पाहुना
अन्त्यमा, बालबालिका तथा किशोर वयका पाठकहरूलाई मनोरञ्जन, नैतिक सन्देश र व्यावहारिक ज्ञान प्रदान गरी बालोपयोगी सन्दर्भ, बालसुलभ कोमल भावना र बालोचित सन्दर्भको प्रयोग गर्दै बालमनोवैज्ञानिक ढङ्गले बालप्रिय खुराक प्रदान गर्ने अग्रज कवि एवम् सशक्त कलमशिल्पी आदरणीय गोविन्दबहादुर कुँवरको यो ‘जिन्दगानी’ कृति नेपाली किशोर तथा बालसाहित्यका क्षेत्रमा नमुना पाठ्यसामग्री बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

 (साहित्य पोस्टमा प्रकाशित यस  सामग्रीलाई यहाँ थिचेर पनि पढ्न सक्नुहुनेछ।)

लेखकको फेसबुक एकाउन्ट हेर्न यसमा  छुनुहोस् ।

क्याम्पस प्रमुख
ईशानेश्वर क्याम्पस
मध्यनेपाल नगरपालिका-६, भोर्लेटार लमजुङ
           [email protected]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

शुभकामना ईशानेश्वर माविलाई ! (कविता)


TOP