‘कामी’ कृतिका कविताहरू- मनोज विश्वकर्मा – Sarangi News

`कामी´ कृतिका कविताहरू

मनोज विश्वकर्मा

मनोज विश्वकर्मा, समीक्षक

 

 

मञ्जुल मितेरीकृत `कामी´कृतिको दोस्रो संस्मरणको गृहबिमोचनमा बोल्न मोरङ्ग पुग्न पाएको थिएँ । कार्यक्रमको क्रममा दर्शक/श्रोताबाट `कृतिमाथी सबै वक्ताले प्रशंसै मात्र गरेर `कृतिलाई जीवित बनाइरहने क्रिटिकल एप्रोच´ नदिएको, सार्वजनिक स्पेसमा जातव्यवस्थाबिरूद्ध बोल्ने तर घर/समाजमा चै बोल्न नसक्ने प्रवृति रहेको, जात व्यवस्था हामी सबैले जोगाइ राख्ने काम गरेको लगायतका बिचार राखे । यी प्रतिनिधि बिचारमा जात व्यवस्थाको सकस भेटेँ । यिनै बुझाईलाई पाठ्यक्रम बनाएर जात व्यवस्थाको उकुसमुकुस पढ्ने हो भने पनि यो देशको स्वास्थ्य जाँच्न सकिन्छ । त्यसैले होला त्यहाँ व्यक्त बिचार बिउटिफूल, अर्थपूर्ण एवम् गहिरा लागेँ ।

`कामी´ कविता-कृति दलित सौन्दर्यमा आधारित छ । त्यहीँ कृति बिमोचनमा जात व्यवस्थाबिरूद्धका स्वर सुनिनु सुन्दर एंव स्वभाविक थियो । मञ्चमा बिराजमान म लगायतका वक्ताले ति आक्रोशलाई, गुनासालाई, बुझाईलाई पक्कै सम्बोधन गर्न सकेनौ होला, कम्तिमा मलाई त्यस्तो लाग्यो । यो मुद्दा/बिषय जवाफले मात्र सम्बोधन हुने कुरा पनि थिएन । तर श्रोता एंव दर्शकबाट आवाज उठिरहदा मैले पनि `कामी´बारे लेख्नुपर्छ ठानेको थिएँ(लेख्ने काम जिम्मेवारीले भन्दा मनमौजी हिसाबले गर्ने भएकाले लेख्नु चै सारै ढिला गरेँ।)यो लेख अलि चाँडो लेख्नुपर्ने तर ढिलो हुन पुगेको त्यहीँ लिखोट हो ।

कविताले मुद्दा बोक्दा विभिन्न सिमा देखिन्छ । मलाई लाग्छ- कम्तिमा पनि बुझाइको व्यापकता र कलाको प्रयोग सहि नभएमा चैँ त्यो लेखन `भयानक दुर्घटना´ बन्न पुग्छ । सहभागीले जे प्रश्न, गुनासो गरेका थिए, कविले ती बिषयको न्यायिक उठान र काव्यिक बैठान कृतिमै गरेका छन् । कृतिलाई मैले माथी नै दलित सौन्दर्य चिन्तनमा आधारित भनेको छु; भलै कि कृतिमा जीवन जगतका अनेकअनेक घटना, संवेदना एंव अनुभवको कोलाज छ । तरल मानवीय संवेदनाको ज्वारभाटाले पढिसकेपछि पनि पछ्याइरहन्छ ।

१.शीर्षक

(क) हाम्रोमा शब्दलाई बहिष्कार गर्नुपर्छ भन्ने एकथरी बिचार छ । वेश्या, विधुवा, कामी, दलित लगायतका शब्दलाई प्रयोग नगरौँ भन्ने गरेको पाईन्छ । यो भावनात्मक उत्तेजनाले समस्याको समाधान नै चैँ गर्दैन । विधुवा शब्द, वेश्या शब्द हटाएर एकल महिलामाथीको सकस कम हुन्छ त ? मानव बेचबिखन, देहव्यापार रोकिन्छ त ? रोकिदैन । त्यस्तै केहीलाई लाग्छ-दलित शब्द हटाए विभेद स्वत हट्छ । दलित शब्द आएको पुगनपुग १५० बर्ष भयो । तर जातीय विभेदको ईतिहास ३ हजार बर्ष भन्दा लामो छ । यो सामान्य अङ्कगणितले भन्छ-दलित  हटाएर विभेद हट्छ भन्नू हास्यास्पद कुरा हो ।

(ख) दलित शब्दलाई धेरैले दमित, दलिएको, दबिएको शब्दसँग `द´ अक्षर मिलेकोले अर्थ पनि त्यहीँ हो भने जसरी धारणा बनाएको पाईन्छ । जुन सरासर गलत हो । दलित मुलत अम्बेडकरले भारतीय आन्दोलनको क्रममा ल्याएको शब्द हो; कुनै राजा, महाराज, सामन्तले दिएको शब्द होइन । यो शब्दसँग `महात्मा गान्धी´को बिमति थियो । उनले दलित हैन हरिजन भन्नुपर्छ भनेर अभियानै चलाएका थिए । उनको बिमति कति सम्म थियो भने, अङ्ग्रेज भगाउन मात्र हैन दलितको विपक्षमा पनि लामो अनसन बसेका थिए । नेपालमै पनि पञ्चायत कालमा दलित शब्द राखेर संगठन दर्ता गर्न खोज्दा `दलित शब्द हटाए मात्र दर्ता गर्ने अन्यथा नगर्ने´ शर्त राखिएको थियो । दलित शब्द आन्दोलनले दिएको शब्द हो । दलित शब्द शासकहरू डराएको शब्द हो । त्यसैले दलित मुद्दामा गर्नुपर्ने असख्य काम छाडेर शब्द हटाउन लागि पर्नु समयको बर्बादी मात्र हो ।

(ग) सङ्ग्रहको नाम `कामी´ दलित समुदायकै बिश्वकर्माहरूको पहिचान जनित शब्द हो । जसलाई नियोजित रूपमा गाली, अपमानजनक बनाईयो । कामी-दमैंको जस्तो अनुहार परेको, कामी-दमैंको जस्तो बेहोरा भएको, बिहानै कामी-दमैंलाई नहेर्नु जस्ता उखान यसकै स्यानो उदाहरण हो । सङ्ग्रहमा मञ्जुल मितेरीले `काम गर्नेहरू नै कामी हुन´ भनेका छन् । त्यो कर्मी समुदाय दलित समुदाय हो । काम गरेवापत तिनलाई आफ्नै थरबाट अपमान गरियो । मलाई लाग्छ- कामी शब्दले एउटा बिभेदी समय, इतिहास र  उत्पिडनलाई जनाउछ । त्यसैले सङ्ग्रहको नाममा यो शब्द ठिक छ । कामीको अर्को अर्थ पनि भेटिन्छ-कामवासना भएको भन्ने । काम बिना सृष्टि अघि बढ्न संम्भव छ ?  छैन । सृष्टिमा हामी जति जिवित छौ कामकै उपज हौ । यसरी हेर्दा पनि कामी शीर्षक सहि छ।

२. शब्द

(क) सङ्ग्रहको शीर्षकबाटै दलित सौन्दर्यमा रहेर लेखिएको कृति हो भन्ने झल्को दिन्छ, पूर्वाभाष हुन्छ । प्रश्न उठ्छ-दलित सौन्दर्य लेखन कस्तो हुन्छ ? के-के कुरा उठाएको हुन्छ ? के-के बिषय समेटिए त्यसलाई दलित सौन्दर्यमा रहेको लेखन भन्न मिल्छ त ? यो पक्कै बहुआयामिक एंव बृहत् विषय हो । यसमा इतिहास आउँछ । अर्थशास्त्र आउँछ । समाज प्रणाली आउँछ । राजनीति आउँछ । कविता कृतिले सबै समेट्न सक्छ त ? अवश्य सक्दैन । तर त्यो प्रयत्न गर्छ । `कामी´ कविता कृतिले पनि गरेको छ । त्यसको स्यानो झिल्का यश कवितांशमा खोज्नुहोला-

`……पख्नुस्

एकछिन पख्नुस्

अहिले नै फरफराइनहाल्नुस् समानताको झण्डा

देख्दैछु-

धेरै तल गहिराइमा

जुर्मुराइरहेछन असख्य हातहरू

एकैछिन पख्नुस

म ती तमाम खाडलहरूका विरूद्ध

एउटा युद्ध लडेर आउने छु ।……´

(`म एउटा युद्ध लडेर आउने छु´ कवितांश)

पुरै दक्षिण एसियामा दलित सौन्दर्य लेखनको आधारभूत पाटो हो-बहिष्करण । मानवद्वेषी व्यवस्था, अभ्यास र त्यसको चपेटामा पिल्सिएका मानिसहरू । दलित सौन्दर्य लेखनले यी पक्षलाई समेट्छ, मानवीय संवेदना र सहृदयता खोज्छ । `कामी´ कविता-कृतिमा यो पाटो बलियोसँग आएको छ । एउटा कविता-

-समुद्र बोकेको मुस्कान

———————————–

मेरो पनि त मन मान्छेकै हो

मेरो पनि त तन मान्छेकै हो

दुख्छ

गल्छ

चोट लाग्छ

 

मेरो मुस्कानको हिमालय देखेर

मलाई घृणा गर्ने मन

मलाई ईर्ष्या गर्ने मन

मलाई दुखाउने मन

यी सबै सबै मनहरुलाई

बगेका मेरा पसिनाहरुको तलाउ छोएर

डढेका मेरा सपनाहरुको कुहिरो समेटेर

गुमेको मेरो आयूको नदी नापेर

लागेका मेरा चोटहरुको बगर उत्खनन् गरेर

मेरो मुस्कानको सतहमुनि

मेरो रगत, पसिना र चोटहरुको

कत्रो समुद्र छ-

देखाउन मन छ ।

( पृष्ठ नं.३८/३९ )

(ख)  दलित शब्द ठिक कि बेठिक भने जस्तै दलितका मुद्दामा पनि मतमतान्तर छ । केही जात व्यवस्था हाम्रो पहिचान हो भन्ने उग्र नकारात्मक जातिवादी छन् । तिनिहरूको मान्नु छ-`सबैले पहिचान भनिरहेका छन्, हाम्रो पहिचान जात हो । त्यसैले हामी जात मान्छौ।´ पहिचानले गर्वबोध गराएको सुन्दर हो । कलंकबोध गराएको ठिक होईन । सतिप्रथा पहिचान हो भनेर बोक्नु ठिक हो त ? होइन । अर्का थरी `बिस्तारै सुधार हुन्छ´ भन्ने छन् । बिस्तारै मान्छे बन्नु, मान्छे भएको प्रमाणित गरिरहनु यस्तो पत्रु बुझाई सामन्ती एंव प्रिभिलेज्ड मान्छेको देखाउने दाँत हो । `धर्मले विभेद गर्यो । त्यसबाट मुक्ति सम्भव छैन भौतिकबादी बन्नुपर्छ´ भन्ने बिचार पनि छ । सुन्दा कठिन लागे पनि; धेरै हिसाबले सहि बिचार हो यो । `कामी´सङ्ग्रह मुलत अन्तिम बिचारको पक्षमा छ । यसरी हेर्दा कविले न्यायिक, विवेकसङ्गत र युगसापेक्ष बिचार निर्माणको प्रयत्न गरेको देखिन्छ ।

(ग) दलितको मुक्तिबारे बहस गरिरहँदा आन्तरिक विभेद/पदसोपानको मुद्दालाई छोड्यौ भने, तराई र पहाडी दलितबीचको खाडललाई नजरअन्दाज गर्यौँ भने त्यो बहस अधुरो हुन्छ । `कामी´ले दलितभित्र हुने आन्तरिक विभेद र मधेशी तथा पहाडी दलितबिचको खाडललाई पनि छामेको छ । प्रमाण यो हरफमा छ-

`…हो महोदय !

म बेमौसमको कविता लेख्छु

कहाँ कति बेला बर्सिन्छ भेदभावको अतिवृष्टी

र डुबाउँछ फेरि दलित, उत्पीडितहरूको बस्ती

के म त्यो निलो आकाशको गर्भमा लुकेका

ती छद्मभेषी बादलका कविताहरू नलेखूँ ?

जब फेरि मारिन्छन् सेते दमाई र नवराज वि.क.हरू

अनि म कविता लेख्न बसूँ ?

जब कुटिन्छन सुनिता देवी रामहरू पानीधारामा

अनि म कविता लेख्न बसूँ ?…´

(`बेमौसमको कविता´ कवितांश )

३. शब्दको क्षेत्रफल

(क) यो मानवद्वेषी समाज घृणाको उपज हो । यसलाई मेट्ने हामीले नै हो; कवि मञ्जुल ढुक्क छन् यसमा । जात व्यवस्था दलितको मात्र सकस हो भनेर भ्रमित पारिएको छ । तर यसको चपेटामा गैरदलित पनि उतिकै सिकिस्त छन् । `कामी´ कविता-कृतिले पनि यस्ता मानवद्वेषी व्यवस्थाविरूद्धको लडाइँ साझा भएको आवाज प्रखर रूपमा उठाएको छ । कृतिको शुरूवात `मृतकको नाम: बलमान विश्वकर्मा´ कविताबाट गरेर `आऊ, अब हामी सङ्गै हिडौँ´ कविताबाट समापन गरिनु आफैमा सुन्दर, अर्थपूर्ण एंव प्रतिकात्मक डिजाईन हो ।

(ख) यो मानवद्वेषी व्यवस्थाविरूद्धको लडाइँ कस्तो हुनुपर्ने हो ? केके/कोको सँग हो लड्नु पर्ने ? मञ्जुल मितेरी `भूमिका´मै भन्छन कलमको लडाईँ हो अब चाहिएको । सङ्ग्रहका अधिकांश कविता कलमकै लडाइँको पक्षमा छन् । तर केही कविता यो ज्याद्रो समयको क्रुरताप्रति आक्रोशित भएर तरबार लिएर उभिएका छन् । दलित मुद्दाको लडाई सम्भवत यी दुवै हुन् ।

(ग) दलित सौन्दर्यमा केन्द्रित भएर लेखिए पनि सङ्ग्रहमा सपनाको अवसानको कुरा छ । प्रेमका आलिङ्गनका कुरा छन् । यादहरूको नोस्टाल्जिया छन् । हामी अक्सर आउटडेटेड राष्ट्रवादमा अल्झिएर `बिचरा परदेशी, तिनका दुख´ भन्छौ । मञ्जुलको सपना जापानमा फूल्यो । यसैले होला सङ्ग्रहले-`हाम्रो सपना संसारको सबै भूगोलमा फुल्न सक्छ´ भन्छ । ग्लोबल विश्वमा रहेर उनले सङ्ग्रहमा जापानका बिम्ब समेटेका छन् । जापानको सहर, परिकार, परिवेश छ समेटेका छन् । यिनै भावभूमिमा रहेर सङ्ग्रहकै सुन्दर मध्येका कविताहरू `ओ ओरेमन´, `रामेन जिन्दगी´, `साकुराको फेदमा उभिएर´ दिएका छन् ।

(घ) हरेक धर्मको जड रूढीवादसँग जोडिएको हुन्छ । यसैले सङ्ग्रहमा धार्मिक अतिवादको बिरोध छ । अर्को सुन्दर कुरा सङ्ग्रहभरि धार्मिक मिथकको प्रयोग छैन । निकै सचेतपूर्वक विभेदको कारखाना मानिने धर्मबाटै उत्पादित मिथक, बिम्ब, प्रतीकको प्रयोग गरिएको छ ।

४. सजीव शब्दहरू

एकथरी जन्ड लेखक छन्, जो भर्खरभर्खर लेख्ने सकसपूर्ण सुविधामा पुगेका छन् । तिनलाई दलित सौन्दर्यमा नलेखी भएको छैन । तिनिहरू आफ्नै समुदायले साथ नदिए पनि, गैरसमुदायले झन सातोपुत्लो उडाए पनि लेखिरहेका छन् । तिनलाई मतलबै छैन, कुन चै टाउकेले के भन्छ । उसले समाजको ज्याद्रो ब्रह्मणवाद भोगेको छ, अरूको भ्यालिडेसनको जरूरी के नै छ र ! वश् आफ्नो भोगाईको पाठ्यक्रम पल्टायो, सारा बल लगाएर लेख्यो । अर्काथरी छन जो सिङ्गो मानव समुदायमाथी नलेखेकोमा उदास एंव रुष्ट छन् । तिनलाई मञ्जुलहरूको लेखन सङ्कीर्ण मानसिकताको उपज लागिरहेको छ । जातीवादी, गुणस्तरहिन एंव रोनाधोना लागिरहेको छ । भर्खरभर्खर लेख्ने प्रिभिलेजमा पुगेकाले `गुणस्तरीय´ नलेखेकोमा मेरो कुनै गुनासो छैन । किनकि मलाई थाहा छ-तिनीहरूले विश्वभर जागिरहेको मुद्दा लेखिरहेका छन्, स्तरीय लेखिरहेका छन् । यसले केहीको निदहराम गरेको चैँ साँचो हो । म बुझ्छु तिनका `पीडा´ तर मञ्जुलहरूले हजार बर्षदेखि झेलिरहेको विभेद अब पनि नलेखे कैले लेख्ने ? कसले लेख्छ भनेर कुर्ने ? यो चै हो कि तिनले `गुणस्तरीय´ लेखेर धेरै पुरस्कार थाप्न सक्थे, प्रशंसा पत्र/पात्र पाउन सक्थे । तर मञ्जुलहरू चुनौति बनेर लेख्नुका अनेक दुख्ख उठाइरहेका छन् । ति लडाकु लेखकलाई अरू नै के भन्नू पर्छ र ? तिनिहरूसँग बिमति नै के राख्नु छ र ? जस्ट आईएमविथु यु भन्नू छ…

तर `गुणस्तर´को ठेकेदारलाई जवाफ दिनु जरूरी छ । एक त तिनिहरू विभेदकै ग्लामराईज गरिरहेका छन, अर्को त आफूजस्तै अनेक ठेकेदारको `पुरस्कार` लिस्टमा नपरेको सुनाउदैछन । जातीवादी समाजले जात-व्यवस्था ढाकछोप गर्न अनेक संयन्त्र एंव षड्यन्त्र तयार पारेको हुन्छ । यो षड्यन्त्रको माझ उनले आफ्नो कुरा लेखेका छन् । प्रतिरोध शुन्यतालाई चिर्दै `कामी´ ल्याएका छन् । किन ? किनकि `कामी´ उनले बाँचेका छन् । किनकि `कामी´मा असङ्ख्य मञ्जुलहरू छन्, जो लेख्न सक्दैनन । जसलाई अझै लेख्ने प्रिभिलेज छैन । आफ्नो कुरा लेख्ने मञ्जुल एंव मञ्जुलहरूको सजीव एंव सशक्त प्रयत्नलाई माया एञ्जेलोका शब्दहरू-

You may shoot me with your words,

You may cut me with your eyes,

You may kill me with your hatefulness,

But still, like air, I’ll rise.

{Maya Angelou, Still I Rise}

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

शुभकामना ईशानेश्वर माविलाई ! (कविता)


TOP