भगवतीको विश्वम्भराको विमर्श पोखरामा – Sarangi News

पोखरा । नेपाली लेखक सङ्घ, कास्कीले शनिवार पोखरामा कवि भगवती बस्नेतको कविता सङ्ग्रह ‘विश्वम्भरा’ माथि विमर्श गरेको छ ।

सङ्घकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै युवा साहित्यकार तारानाथ पराजुलीले अध्यात्म, प्रेम, व्यङ्ग्य जस्ता विषयवस्तुमा लेखिएका कविता कृतिमा समेटिएको बताए । कृतिका आधारमा राष्ट्रप्रेमी कविका रूपमा बस्नेतलाई चिन्न सकिने भन्दै पराजुलीले छन्दको सफल प्रयोग भएको कृतिका रूपमा विश्वम्भराको चर्चा गरे ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले कविता छन्द वा गद्य जुन शैलीमा लेखिए पनि त्यसको ओज महत्त्वपूर्ण रहेको तर्क गरे । गद्यमा लेख्नेले शास्त्रीय छन्दमा लेख्नेलाई कहिल्यै होच्याएको आफूले थाहा नपाएको बताउँदै उनले छन्दका अभियन्ताहरूले पनि आफ्ना विचार प्रचार गर्दा अन्यलाई होच्याउने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए । लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको लेखन प्रसङ्ग कोट्याउँदै उनले उनीहरूले शास्त्रीय छन्द र मुक्त छन्द दुवैमा सशक्त कलम चलाएका धारणा राखे ।

छन्द बचाऊँ अभियानका सञ्चालक माधव वियोगीले कविताले छन्दलाई छोड्न नहुनेमा जोड दिएका थिए । उनले लयबिना कविता हुनै नसक्ने ठोकुवा गरे । कवि भगवती बस्नेतले आफू छन्द र गद्य दुवै शैलीमा कविता लेख्न मन पराउने व्यक्ति भएको बताइन् । यसअघि उनको गद्य कविता सङ्ग्रह प्रकाशित छ ।

उपाध्यक्ष कलम पौडेल ‘अथक’ ले स्वागत गरेका कार्यक्रममा  शिव त्रिपाठी, शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एक एक कविता वाचन गरेका थिए । नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष  डा. ईश्वरमणि अधिकारी र केन्द्रीय  सचिव डा. गणेश शर्माले  शुभकामना  मन्तव्य  व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए ।

यसै बिच, नेपाली लेखक सङ्घले प्रदान गर्ने लेखक कृति पुरस्कार यस वर्ष प्रदिप रोदनको गजल सङ्ग्रह मफलरलाई प्रदान गरिने भएको छ । प्राप्त कृतिहरूमध्ये छनोट समितिको सिफारिसमा मफलरलाई २५ हजार रुपियाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रीता अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

शुभकामना ईशानेश्वर माविलाई ! (कविता)


TOP