डुबायो पापी मायाले : लभ, सेक्स र धोका – Sarangi News

नुवाकोटकी मनमाया तामाङ माइत बसेको लामै समय भएको थियो। फुर्सदिली उनी सामाजिक सञ्जालमा सक्रिय थिइन्। सञ्जालमा जोडिएका साथीको मध्यमबाट उनीलाई नयाँ व्यक्तिले साथी बन्न प्रस्ताव ग-यो। उनले साथी बन्न आएको प्रस्ताव स्वीकार गरिन्। त्यसपछि हल्काफुल्का कुराकानी हुन थाल्यो। यसको सात महिनापछि उनीहरु अझ नजिक बने। नजिक बन्नका लागि सजिलो कारण बन्यो, दुवै जनाको समान पीडा। उदयपुरका भीम सुबेदीले आफ्नी पत्नी बितेको पाँच वर्ष भइसकेको बताएपछि श्रीमानबाट अलग रहेकी मनमायाको मन पग्लियो। त्यस पछि नम्बर साटासाट गरेर उनीहरु फोनमा रम्न लागे।

बहराइनमा रहेका भीम सुबेदी नेपाल आउने कुरा भयो। मनमाया खुसीसाथ उनलाई लिन एयरपोर्ट पुगिन्। त्यसपछि केही दिन उनीहरुको बास होटलमा भयो।

मनमाया नयाँ सपनाका चाङ लिएर नुवाकोट फर्किइन्, भीम उदयपुर पुगे। दुवैको फोन सम्पर्क र सञ्जालमा कुराकानी निरन्तर भैरह्यो। भीमले देखाएको विश्वास र इमान्दारिताको प्रभाव मनमायामा मजैले परेको थियो। त्यसैले उनले भीमलाई आफ्नो बनाउने पक्कापक्की गरिन्।

त्यसपछि उनीहरु काठमाडौँमा कोठा लिएर बिहे नगरी नै सँगै बस्न थाले। एक महिनासम्म त सबै कुरा ठीकठाक नै थियो तर बिस्तारै भीमले आफ्नो असली रुपमा आउँदै थिए। उनले मोबाइल लुकाउनेदेखि मनमायालाई झूट बोलेर अरु नै केटीहरुलाई भेट्न जान थाले। मनमायाले सुरुसुरुमा त शंका गरिनन् तर एक पटक भीम आमा बिरामी भएको बहाना गर्दै अन्य केटीहरु भेट्न गएको थाहा पाइन्।

मनमायाले यो कुरा भीम काठमाडौँ फर्किएपछि उनको म्यासेन्जर हेरेर थाहा पाएकी थिइन्। भीमलाई वास्तविकता पनि सोधिन् तर उनले पहिलेका कुरा भन्दै हाँसेर टारिदिए। त्यसपछि भने मनमायाको मनमा चिसो पस्यो। आफैँले घरबाट सबै समान लिएर आएर सल्लाहले बसेको प्रेमीलाई शंकाको नजरले हेरी हाल्न पनि उनले सकिनन् तर मन त हो कहाँ मान्छ र ? उनले भीमका बारेमा चियो गर्न थालिन्।

यसपछि मनमायाले भीमको कर्तुतको लाइनै फेला पारिन्। केटीहरुसँग डुल्ने बानी भएका भीम एकै ठाउँमा टिक्न पो कसरी सक्थे ! भीमले पहिला बोलेका कुरा एकपछि अर्काे झूट परिणत हुँदैगयो। भीमले मनमायाको विश्वास जित्न साथीभाइलाई समेत कोठामा ल्याए। अहिले उनका साथीभाइ पनि अचम्म परेको मनमाया बताउँछिन्। इमान्दार छवि बनाएका भीमको असली रुप मनमायाको अघि उदाङ्ग हुन थाल्यो, उनी त्यति अलमलमा पर्न थालिन्। उनले भीमसँग छुट्टिने कोसिस पनि गरिन् तर सकिनन्। अन्ततः भीमले मनमायालाई थाहा नै नदिई सुटुक्क देश छाडे। पछि मनमायाले उनलाई फोन सम्पर्क गर्ने प्रयास गरे पनि भीम सम्पर्कमा आउन चाहेनन्। आए पनि मनलाग्दी बोल्न थाले।

जता गयो त्यतै केटी साथी बनाउने र अनेक कहानी सुनाएर मन जित्न सिपालु भीमले धेरैलाई एक–दुई रात राखेर छाडेको मनमायाले पत्ता लगाइन्।

यता मनमायाका पूर्वपतिसँग एक सन्तान पनि छन्। भीमले धोका दिएपछि उनले पूर्वपतिसँग आफ्नो तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरे पनि असफल भइन्। यसपछि उनी भीमको घर खोज्दै उदयपुर पुग्दा उनले अर्को सरप्राइज फेला पारिन्, न त भीमले पहिले बिहे गरेका रहेछन् न त उनी विधुर रहेछन् ! अविवाहित छोराको बुहारीका रुपमा अचानक मनमाया हक खोज्दै उदयपुर पुगेपछि भीमको परिवारले स्वीकार गर्न चाहेन।

पछिल्लो समय मनमायाको नियति भोग्ने युवतीको संख्या बढिरहेको छ। कतिपय मिडियामा आउँछन्, कति आउँदैनन्।

सामाजिक सञ्जालमा भएका मीठा पिरतीका कुराकानीबाट मख्ख भएर घरै छाडेर हिँड्ने युवतीको संख्या बढिरहेको छ। सञ्जालको भर पर्दा बर्दियाकी शर्मिलाले पनि यस्तै अवस्था भोग्नु परेको छ। १७ वर्षकी शर्मिला (नाम परिवर्तन) कविता लेख्न हुरुक्क हुन्थिन्। फेसबुकका विभिन्न साहित्यिक समूहमा उनी निकै सक्रिय हुन्थिन्। कविता लेख्नु र फेसबुकमा पोस्ट्याउनु उनको दैनिकी थियो। यसै क्रममा झापाका अर्का एक साहित्य अनुरागी २३ वर्षीय विनोद (नाम परिवर्तन)सँग उनी जोडिइन्। दुवैको रुचि साहित्य भएकाले नजिकिन समय लागेन। तीन चार महिनाभित्रै शर्मिला विनोदलाई भेट्न काठमाडौं आइन्। विनोदसँग केही समय सँगै बसेर पुनः बर्दिया फर्किएकी शर्मिलासँग विनोद टाढिदै गए। अन्ततः दुवैको बाटो अलग भयो।

यस्तै साउदी अरबमा बसेका नुवाकोटका २४ वर्षे कुमारले सामाजिक सञ्जालमा एक भियतनामकी युवतीसँग सम्बन्ध बढाए। परिवारले यो प्रकरण थाहा पाएपछि उनलाई नेपाल झिकाए। चाँडै फर्किएर आउँछु भनेर भियतनामी युवतीसँग बिदाइको हात हल्लाएका कुमार पुनः फर्किन भने सकेनन्। त्यसपछि उनी घरपरिवारसँग यति चिढिए कि परिवारको शेखी झार्नकै लागि सामाजिक सञ्जालमा रहेकी अर्की एक विवाहित महिलालाई भाग्न नै मनाए।

हाम्रो समाजमा पछिल्लो समय असरल्ल देखिएका घटनाका प्रतिनिधि पात्र हुन् यी। मनोविद् गोपाल ढकाल पछिल्लो समय प्रेममा आत्मियता हराउँदै गएको र एकअर्कालाई नबुझी सिधा सम्बन्ध राख्दा समाजमा अनेक विकृति बढेको बताउँछन्।

‘पहिला प्रेमको रुप अलग थियो,’ त्रिभुवन विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक मीना उप्रेती कारण खोल्दै भन्छिन्, ‘त्यसबेला आजको जस्तो सजिलै देख्न, भेट्न सक्ने अवस्था थिएन। मनका भावना लामा–लामा चिठ्ठीमा  पठाइथ्यो। त्यसबेला दुरीमा टाढा भए पनि आत्मियता गज्जबको थियो।’

पछिल्लो समय सामाजिक सञ्जालमा मौलाउने प्रेम भने बढी स्वार्थी भएको प्राध्यापक उप्रेतीको भनाइ छ। ‘सामाजिक सञ्जालले हाम्रो दैनिकीलाई नराम्रोसँग प्रभाव पारेको छ। दैनिक हुने अपडेटले क्षणिक आत्मियता बढाए पनि त्यो कुन बेला बिलाउँछ पत्तो हुदैन।’

क्षणिकको आत्मियताले प्रेम गहिरिनुको साटो दुर्घटना बढेको मनोविद् गोपाल ढकाल बताउँछन्। ‘सामाजिक सञ्जालले त सानो उमेरमा नै प्रेममा पर्ने, बालविवाह र यौन हिंसालाई बढावा दिइरहेको पो देख्छु म त !’ मनोविद् ढकाल भन्छन्, ‘पछिल्लो समय प्रेमको गलत परिभाषामा युवापुस्ता रमाइरहेको देखिन्छ। जुन घातक छ।’

सामाजिक सञ्जालको उदयपूर्व प्रेमले यति विकृत रुप लिइसकेको थिएन। त्यो बेला सम्बन्धमा घात गर्न सक्ने अवस्था खासै हुँदैनथ्यो। विकल्प पनि कम थिए। त्यसकारण पनि मानिसहरु सम्बन्धलाई महŒव दिन्थे। ‘अहिले सामाजिक सञ्जालले धेरै विकल्प जुटाइदिएको छ र यही प्रेम, प्रेम नभएर बजारमा बेच्न राखिएको वस्तुजस्तो भएको छ,’ प्राध्यापक उप्रेतीको धारणा छ।

हाम्रो समाजमा वैवाहिक सम्बन्धमा तीतोपना ल्याउन सामाजिक सञ्जालले भूमिका खेलिरहेको प्राध्यापक उप्रेतीको अनुभव छ। ‘खोक्रो आत्मियता र स्वार्थको पछाडि दौडिएर युवापुस्ता प्रेम गर्दैछ,’ मनोविद् ढकाल चिन्ता गर्दै भन्छन्, ‘यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउनेमा दुई मत छैन।’

सामाजिक संजालका कारण एकै पटक धेरैसँग प्रेम गर्न सकिने र त्यो प्रेमलाई गोप्य राख्न सकिने वातावरण पनि बनेको छ। एउटै म्यासेज धेरैलाई पठाउन सकिन्छ। अर्काको भावनासँग खेल्न सामाजिक सञ्जालले बदमास प्रवृत्तिका मानिसलाई सघाउ पु¥याइरहेको छ। यसले गर्दा मान्छेको भावनामा चोट पुगेको छ र मानिसले गतल कर्म गर्न पनि आफूलाई तयार गरिरहेको जस्तो देखिएको प्राध्यापक उप्रेतीको भनाइ छ।

त्यसो त सामाजिक सञ्जालको राम्रो पक्ष हुँदै नभएको होइन। मनोविद ढकाल भन्छन्, ‘सामाजिक सञ्जालबाट जोडिएर पनि राम्रो जीवन बिताइरहेकाहरु पनि छन तर ती औँलामा गन्न सकिन्छ। विकृति चाहिँ आश्चर्यजनक तरिकाले बढी नै छ। जुन नेपालीहरुको चरित्र होइन।’
वैवाहिक जीवन बिग्रनुको मूल कारण वैदेशिक रोजगारी नै देखिएको छ। मनोविद् ढकालको नजरमा लोग्ने विदेश परिवारका लागि जाने, श्रीमती यता खाली समय व्यतित गर्न सामाजिक सञ्जालमा बिताउने, अरु नै सँग हिमचिम बढाउने र कृत्रिम सम्बन्धलाई महत्व दिने र यही सम्बन्ध यौनसम्म पुग्ने देखिएको छ। जब यस्तो सम्बन्ध यौनमा पुग्छ र गडबडाउँछ, त्यहाँ घात–प्रतिघात हुन्छ।ब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP