अर्गानिक पुरुष – Sarangi News

मानषी

आश्विन ११, २०७७अचानक जम्का भेट भयो । साउने सोमबार । पहेँलो सारी । सिउँदोभरि सिन्दूर, आँखामा गाजल, निधारमा टीका, हातमा चुरा, गलामा पोते । पोते पनि हरियो, रातो, पहेँलो । सायद लिपिस्टिक पनि रातै थियो, मास्कले देखिएन ।

उसको पहिरनले मलाई झस्कायो ।

मर्निङ वाकबाट फर्कंदै थिएँ । सोह्र शृङ्गारमा सजिएकी ऊ सायद पूजा सकेर फर्कंदै थिइन् । म पनि मास्कमा भएकाले चिनिन उसले अथवा नबोलेकी पनि हुन सक्छे । त्यसो त मैले पनि बोलाइनँ ।
मनमनै अनुमान लाएँ– नजिकैको शिव मन्दिर गएकी हुनुपर्छ । अरू मन्दिर त कोरोना कहरमा बन्द थिए । तर, एकाबिहानै कसरी यहाँ आइपुगी ?

मैले उसलाई सोधिनँ, न पहिला जस्तो जिज्ञासाबिनै उसले स्पष्टीकरण दिई ।

अक्सर आफ्नो पक्षमा जनमत तयार गर्न प्रश्न गर्नेबाटै नदिने बानी थियो उसको । एकै सासमा सबै विस्तार लगाउँथी ।

अलि परको छिमेकी मित्रलाई सोधेपछि थाहा भयो– बिहे गरेर मेरै छिमेकी हुन आएकी रहिछ ।

क्या सरप्राइज ! म सोचहीन, शब्दहीन, अनुभूतिहीन भएँ ।

‘तिमी सरप्राइजको पुलिन्दा हौ– कहिले के, कहिले के गरिरहनुपर्ने । मीठो खबरका लागि बधाई ! दुःखद खबरका लागि सान्त्वना र सहानुभूति ! न्युट्रल भएर सुन्छु जे भने पनि ।’

मेरो जवाफले सायद उसको चित्त दुखायो, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् !’

उसले सुनाइन, मैले पनि सुन्न उत्सुकता देखाइनँ । मेरो कुरा नमिठो लागेको हुनुपर्छ तर उसको स्वादसँग मलाई के सरोकार ? म विन्दास, बेपर्वाह, स्वतन्त्र ! सायद उसको अन्तस्करण कोक्यायो होला मेरो कुराले । ऊ सुनाउन चाहन्छे । सुनिदिओस् भन्ने याचना छ उसका आँखामा तर मैले चासो दिए पो ।

भनेकी थिई, ‘एउटा खुसी र एउटा दुःखको खबर छ । कुन सुन्ने पहिला ?’

दुई दिनपछि भने, ‘अघिल्लो चरणको काम हेरेर अर्को किस्ता दिने शैली बैंकहरूको व्यावसायिक चरित्र हुन्छ ।’ ‘खुसी हुन्छ कि हुँदैन’ भनेर प्रतिक्रिया छामी–छामी खबरको अर्को किस्ता दिने साथीलाई कसरी बुझ्ने ?

मेरै भाषा र शैलीमा बैंकहरूको स्किम सकिएको थियो सायद । ‘न्युट्रल अनुभूतिका लागि म्याद गुज्रेको योजना किन सुनाउनु ?’ ऊ मौन रही ।

‘न मैले चाहना बुझ्न सकें, न त नियत पहिचान गर्न सकें ? म अबुझ थिएँ/छु/रहिरहनेछु ।’ मैले दिएको ‘ज्ञानी’ उपमाले आफैंलाई खिस्सी गरेको अनुभूति गरी सायद उसले ।

कोरोनाको त्रास, लकडाउनमा पेसागत जिम्मेवारी आदिले रुटिन बिगारेको थियो । लामो समयपछि हालचाल उसैले सोधी ।

भनें, ‘ज्ञानी हुँदै छु । लुकिङ इनटु सेल्फ । अन्तरमनको मुसाफिर भइरहेछु आजकल ।’

‘कोरोना भाइरसको त्रास अनि सरकारले गरेको लकडाउनले मान्छेलाई कति नोक्सानी पुगेको छ ! तर तिमी फाइदामा रहेछौ । त्यसै त लभ्ली मान्छे, ‘अन्तरमनको मुसाफिर’ हुन थालेपछि झन् के होला व्यक्तित्व ? कल्पनाभन्दा बाहिरको विषय भयो यो । बधाई ! अनि शुभकामना छ तिमीलाई । नदिने होस्, हुने होस् !’ एकै सासमा बोली ऊ खरर ।

‘स्वार्थी भए पनि सम्पन्न होस् भनेको हो ?’

‘होइन ।’

‘के त ?’

‘आफूले प्रेम अनुभूति गर्न नपाए पनि प्रेमिल हुन्/बनुन् भनेको नि !’

‘प्रेम छ । आदर छ । सम्मान छ । किन त्यस्तो सोचाइ ?’ मेरो जिज्ञासा ।

‘कहिलेकाहीँ म भ्रममा रहेछु कि जस्तो लाग्छ । मीठो अनुभूति क्षणभरमै अन्त्य हुन्छ ।’ ऊ मेरो शैलीप्रति निराश थिई ।

‘त्यसो पनि होइन । तिम्रो अन्तरमनमा खेल्न पाएकोमा खुसी छु । मेरो नियत होइन तर कम्तीमा जीवन के हो ? माया के हो ? आशक्ति के हो ? प्राप्ति के हो ? भ्रम के रहेछ ? वास्तविकता के होला ? जस्ता प्रश्न केवल ज्ञानीले मात्रै गर्न सक्छन् । यसका सबै पाटाबारे सोच्न सक्छन् । तिमी ज्ञानी छौ । किनकि तिमी सोच्छ्यौ ।’ उसलाई सम्झाउने कोसिस गरे ।

‘न मैले चाहना बुझ्न सकें, न त नियत पहिचान गर्न सकें ? म अबुझ थिएँ/छु/रहिरहनेछु ।’ मैले दिएको ‘ज्ञानी’ उपमाले आफैंलाई खिस्सी गरेको अनुभूति गरी सायद उसले ।

‘सायद यस्तो नहुनुपर्छ ।’ म नरम बन्दै थिएँ ।

‘मेरो प्रेम र स्नेहलाई आशक्तिको बिल्ला भिरायौ तिमीले । बुझाइमा भिन्नता यही छ । सायद यो यथार्थ सधैं रहिरहनेछ । पुरुषहरू प्रेम कम र आशक्ति बढी बुझ्छन् सायद । त्यसैले मेरो प्रेममा तिमीले आशक्ति मात्रै देख्यौ । मैले बुझाउन सकिनँ वा तिमी बुझ्न चाहँदैनौ प्रेमलाई ? वास्तवमा आशक्तिविहीन हुन्छ साँचो प्रेम, जीवन्त रहन्छ यो ।’ सम्पूर्ण गुनासा एकैसाथ बिसाई उसले ।

‘म तिम्रा सबै गुनासा सुन्न तयार छु । मेरो व्यवहार र शैलीप्रतिका तिम्रा गुनासा प्रिय लाग्छन् मलाई ।’

‘गुनासो होइन । मनमा लागेको कुरा भनेको । मनको कुरा नलुकाई भन्ने ठाउँ पाएकी छु, यसैभित्रबाट खुसी खोज्नुपर्छ मैले । ‘यो पनि मप्रतिको प्रेम नै हो’ मैले यसरी नै बुझ्नुपर्छ र मनलाई पनि बुझाउनुपर्छ सायद ।’ जीवनदेखि थकित भएर होला, हैरानी पोखी ।

‘आ, म अद्वुत प्राणी हुँ ।’

‘मलाई त्यस्तो लाग्दैन । सम्झना छ तिमीलाई ? एक दिन भनेका थियौ– ‘मेरो मनको साथी !’ तिमी फिसल्टियौ कि तिम्रो मनमस्तिष्कको नियन्त्रणभन्दा बाहिर गयो ? फेरि भनेका थियौ– ‘जीवनको उत्तरार्धमा, एउटा हातले लौरो टेकेर अर्को हातमा कोइरालोको अचार लिई चौतारीमा पर्खिरहनेछु ।’ यी सबै कुरा गर्दा तिमी सपनामा त थिएनौ नि ?”

ऊ कडा रूपमा प्रस्तुत भई । ठानी होली– मैले ऊमाथि बल्छी हानें । म राम्ररी बुझ्छु उसलाई, उसका चाहनालाई । उसको सोच र चिन्तनलाई– मन, मुटु र मस्तिष्कमा आफू सधैं घुमिरहुँ ।

‘गत राति सपनामा एउटा जटिल पात्रसँग भेट भयो, विपनामा लामो कुराकानी ।’ मेरै इच्छामा भएको वार्तालापको मध्यबिन्दुमा बोली ऊ ।

‘मीठो संयोग । आजको रात पनि सपना राम्रो देखियोस्, शुभकामना !’

सपना ध्यान दिएर सुनोस् र प्रतिक्रिया देओस् भन्ने चाहन्थी सायद ऊ । मलाई उसको सपनातिर दिलचस्पी नै थिएन । त्यस बेला म भित्रभित्रै गद्गद भएँ, ऊ निराश !

मसँग मीठा पलहरू बिताउने सपनाले उसलाई निदाउन दिँदैनथ्यो सायद । म बेपर्वाह बन्थ्ये । दिनदहाडै देखेका सपनाले उसलाई ऐंठन हुन्थ्यो । राति, निद्रामा सपना जसले पनि देख्छ । मैले पनि कैयौं पटक देखें हुँला । सपना पूरा हुन्छन् र ? तर ऊ दिनका सपनासमेत पूरा गराउने ध्याउन्नमा हुन्थी ।

तटस्थ प्रतिक्रिया नै सही, समय मिल्यो कि हरेक नयाँ कुरा मलाई सुनाउँथी । सुनाउन पाएकोमा ऊ खुसी हुन्थी तर म खासै चासो राख्दिनथें ।

‘१५ दिनमा झुल्किने पूर्णचन्द्र राम्रो भएर के गर्नु, १४ दिन कठोर प्रतीक्षामा बस्नुपर्ने । बरु हेर्ने चाहनाको जरो नै उखेल्दियो भने टन्टै साफ !’ सीमान्त पीडा पोखी उसले ।

‘त्यसो नगरौं । आफैंलाई ग्लानि हुन्छ । त्यसो गर्दा तिम्रो मन शान्त हुँदैन’ मुटु छामे जसरी निर्धक्क भनें मैले ।

‘एउटा कथा छ– छिमेकीसँगको रिसले पर्खाल लाएछ । धेरै दिनपछि त्यही निष्ठुरीको नियास्रो लाग्न थालेछ र आफ्नो छतबाट लुकी–लुकी नियाल्न थालेछ । तिम्रो मन शान्त कसरी होला र ? अनि थाहा छ, हावाको अर्को विकल्प छैन । मैले फेर्ने सास तिम्रो वरिपरि छरिएको छ’ मैले प्रेमी नै भएजसरी भनें ।

‘मन, मुटु, भावना र आत्मीयताका कुराको बजार भाउ घटेको छ । भाउ घटेको समयमा कुनै वस्तु बजारबाट सधैंका लागि लोप हुन पनि बेर लाग्दैन । उसको प्रतिस्थापन त्योभन्दा गुणस्तरीय वस्तुले गरिसकेको हुन्छ । यो बजारको सिद्धान्त हो, अर्थशास्त्रको नियम ।’

‘म फाइब माइक्रोनको प्लास्टिक होइन, जसले प्रदूषण मात्रै बढाओस् । मसँग पनि मायाले भरिएको मन छ’ फिल्मी शैलीमा प्रस्तुत भएँ म ।

‘मन फेला परेको चाहिँ सत्य हो । किन–किन मलाई एक थोपा पानी देख्दा पनि गाग्री भरूँभरूँ लाग्छ । अनि गाग्री भरिन्छ भन्ने विश्वास पनि । अचम्मको भरोसा तर जब मैले ‘मेरो ठानेको मन’ मैप्रति बेपर्वाह वा उदासीन हुन्छ । म आफ्नै विश्वासप्रति प्रश्न गर्न बाध्य हुन्छु ।’ उसले गम्भीरताको छहारी टाँगी ।

एकछिन वार्तालाप रोकियो । एकअर्कामा आ–आफ्नो प्रेम खोजिरहेका थियौं हामी ।

‘तिम्रो पासपोर्ट साइजको फोटो पठाऊ न एचडी क्वालिटीमा’ टुङ्ग बज्यो एसएमएस नोटिफिकेसन ।

सरप्राइजको अर्को पुलिन्दा ! म भित्रभित्रै मुस्कुराएँ । न प्रश्न गरें, न जवाफ नै पठाएँ ।

मेरो बेवास्तालाई उसले व्याख्या गरी होला– सायद आज पनि उसले मेरा कुरालाई स्किम अफ सरप्राइज सम्झेको हुनुपर्छ । सबै विषय र सन्दर्भलाई सामान्य ठान्ने उसको बानी नमिठो लागे पनि आनन्दित हुन्छ मन ।

केही दिनपछि फेरि म्यासेज आयो, ‘ढुंगालाई कथा र भालुलाई पुराण सुनाए जस्तै..’

‘ढुंगाको गाउँतिर फाइबर लाइन काटिएछ । दिनभर नो इन्टरनेट । भालुले पुराण बुझेन पनि ।’ ओठे जवाफ फर्काएँ मैले पनि ।

‘घरमा मेरो बिहेको कुरा भइरहेछ ।’

‘कोरोनामा बिहे ?’ मैले हाँसेको इमोजी पठाएँ ।

‘सधैं उडाउने मात्र नगर । गम्भीर कुरालाई हलुका रूपमा लिनु हुन्न नि सधैं !’ उसले पनि रिसाएको इमोजी पठाई ।

‘विवाह र मृत्यु जन्मँदै निर्धारित भएका विषय भन्छन् मान्छेहरू । ‘बिहेवारी र घरजमका विषयमा कसैले कसैलाई पनि जोर नगर्नू’ भन्ने चलन छ ।’

‘यस्तो पनि कुनै सल्लाह हो ? आशा र विश्वास गरेका मान्छेले त आफ्नो चाहना भने हुन्छ नि ! बटुवाले हो ‘हजुरको मर्जी’ भन्ने त ।’ ऊ रिसाइ ।

‘तिम्रो चाहनाको सम्मान गरेको । फ्याट्ट फरक अवधारणा बनाइहाल्नुपर्छ ? थाहा छ तिमीलाई, जिन्दगीभर मान्छे अर्को विकल्पमा थियो कि भन्ने सोचिरहन्छ । त्यसैले मनको आवाज सुन्नुपर्छ यस्तो विषयमा ।’

‘नजिकको साथीको पनि ?’

‘शाश्वत जिन्दगीमा गुनासा र दुःख बढी हुन्छन् । अनि हरेक असहजतामा मान्छेका मनमा विकल्पहरूबारे सोच आइरहन्छ । कुन पात्र कति नजिक वा टाढा भन्ने कुरा गौण हुन्छ ।’

‘अर्गानिक पुरुष !’

‘तिमी जे भन तर हाम्रा चाहना समय र परिस्थितिअनुसार परिर्वतन हुन्छन् । त्यो नियम तिमीमा पनि लागू हुन्छ ।’

‘मनले सही ठहर्‍याएको साथीको विकल्प खोजिन्छ ? मलाई त त्यस्तो लाग्दैन ।’

‘नलाग्ने कुरा बेग्लै हो । ‘अपवाद’ पनि होला तर मन र परिस्थितिका चरित्र तिमीले भने जस्ता हुँदैनन् ।’

‘मलाई पनि समयले त्यस्तै बनाओस्, तिमी जस्तै । अनि पत्याउला ।’

‘जिन्दगीका हरेक मोडमा लिइने निर्णयले जीवनभर अर्थ राख्छन् । समय विशेषमा रोजिएको एउटा बाटोले अरू बाटाका सम्भावनाहरू बन्द गरिदिन्छ । अनि जब मोडहरू समस्याग्रस्त हुन्छन्, छोडेको बाटो अर्थात् वैकल्पिक मार्ग सम्झन्छ मान्छे, ‘सायद त्यो बाटो सही थियो, आजको गलत ।’ कवि रबर्ट फ्रस्टको ‘द रोड नट टेकन’ ले एउटा बाटो मात्रै छनोट गर्नु भनेको अर्को बाटोमा प्राप्त हुन सक्ने सम्भावनाहरू गुमाउनु भन्छ ।’

‘दुइटा बाटामा एकसाथ हिँड्न सकिन्छ र ?’

‘सकिन्न तर त्यही नजोडिएको वा छोडिएको बाटोबारे पछिसम्म सोचिरहन्छौं, कल्पिरहन्छौं हामी । अनि साउती गरिरहन्छौं ।’

‘गजब ! तर तिमी जीवनका सहज पक्षलाई पनि सधैं जटिल दृष्टिबाट किन हेर्छौ ?’

‘यो बडो गम्भीर प्रश्न हो ।म जीवन बुझ्दै छु सायद ।’

‘हरेक बुझाइ जटिलबाट सहजतर्फ जाने होइन र ? सिकाइको सिद्धान्तले यही भन्छ क्यारे ।’

‘तिमी सहज भावमा जीवन जिउँछ्यौ वा जिएजस्तो गर्छ्यौ । म त्यसैलाई जटिल बनाएर हेर्ने गर्छु । अब त बानी नै परिसकेछ । पहिले नै जटिलता अनुमान र तयारी गर्न रुचाउने स्वभाव विकास भएछ, छाता लिएर हिँड्ने बटुवा जस्तो । ‘परेको बेहोरुँला’ भन्ने पनि हुन्छन् उत्तिकै बाटाभरि ।’

‘जसले सरल जीवनलाई जटिल रूपमा बुझ्छ, उसैले सम्भावनाको जोहो ? बुझिनसक्नु ।’

‘तिम्रा लागि म सधैं क्लिरुरुट नै रहिरहुँ ।’

‘अपराधी !’ दर्जन बढी एग्री इमोजी पठाई उसले र बेपर्वाह अफ लाइन भई ।

कुराकानी नै सकिएको थियो कि ऊ रिसाइ वा चित्त दुखाइ ? बुझ्न खोजे तर मभित्रको पुरुषले तगारो लायो ।

यही थियो हामीबीचको अन्तिम वार्तालाप ।

उसको नजरमा म निकै जटिल थिएँ ।

म ऊसँग प्रेमिल कुराकानी गर्न चाहन्थें तर मभित्रको पुरुष सधैं बेपर्वाह प्रस्तुत हुन्थ्यो । मलाई जबरजस्त क्लिस्ट बनाउँथ्यो । मभित्रको पुरुषले मेरा हरेक चाहनाहरूमा लगाम लगाउँथ्यो । म भन्न चाहन्थें तर त्यही पुरुष बोली रोक्थ्यो । सायद अर्ग्यानिक नै थियो मभित्रको पुरुष । आधुनिकताको हावाले छोएको थिएन ।

उसले सही भनेकी थिई– ‘अर्ग्यानिक

पुरुष !’ आज पनि मलाई ऊसँग बोल्न रोक्ने त्यही हो ?

अघिल्लो वर्ष तीजका दिन पनि ऊ कार्यालय आएकी थिई । मेरो कार्यकक्षमा पसेपछि भनिन्– ‘अरे वा ! व्रतको दिन पनि अफिस ?’

‘मेरो हुनेवाला शिवलाई काम प्यारो लाग्छ त्यसैले ।’ त्यत्ति बोलेर बाहिरिएकी थिई ऊ ।

भोलिपल्ट जिस्कँदै भनी– ‘कन्जुस ! व्रत बसेका बेला ‘पानी पिउँछौ’ भनेर पनि सोधेनौ हगि ! थाहा छ तिमीलाई ? म वास्तवमा तिम्रो कोठामा पानी पिउनकै लागि पसेकी थिएँ । तिमी कुर्सीमा नभएको भए तिम्रो टेबलको आधा गिलास पानी पिउँथे । तिमीले पिलाएको भए क्या गजब हुन्थ्यो !’

केही बेर दुवै हाँस्यौं । मेरो गिलासको पानी पिउने उसको चाहना बुझें तर मभित्रको पुरुषले घमन्ड दर्शायो ।

पछिल्लो एसएमएसमा उसले किन फोटो मागेकी ?

नसोधेर गल्ती महसुस भयो आज ।

जब मान्छेको समय फेरिन्छ । वरपरका व्यक्तिहरूको व्यवहार गर्ने शैली पनि बदलिन्छ । प्रेम र स्नेहलाई पनि समयले सिकाएको व्यवहारको शैलीले ढपक्कै ढाक्छ । अनि जति खोस्रिए पनि फेला पर्दैन त्यो स्नेही साथ, प्रेमिल अनुभूति । सायद यही परिवेशलाई मान्छेहरू ‘प्रेमको ज्वाला’ भन्दा हुन् । बत्तीको प्रकाशमा नजिकिएको पुतलीले जलेर देह त्याग गरेजस्तै प्रेम पाउने आशामा आफैं खाग हुन्छन् प्रेमी/प्रेमिका पनि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP