
पोखरा । पोखरामा शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे ।

लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको विकासका प्राथमिकता, सीमा नाका सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले बताए । शेरचनले भने, ‘भुसाल कर्णालीको विस्तृति देखेर जति प्रभावित हुन्छन्, जलआश्रित आदिवासी महिलाको जर्जर अवस्था देखेर उत्तिकै संवेदित बन्छन् ।’
साहसिक पर्यटनले संस्कृतिको रूप नलिएको हाम्रो समाजमा आर्थिक अवस्था पनि अवरोध बनेको शेरचनले बताए । ‘परिवारले पनि प्रोत्साहन नगर्ने यस्तो सामाजिक–सांस्कृतिक परिप्रेक्ष्यमा छालबाटो र्याफ्टिङ संस्कृतितिर नियाल्ने सुन्दर आँखीझ्याल बनेको छ’ उनले भने ।
छालबाटोमा वर्णन मात्रै नभएर लेखकका अनूभुतिहरू पनि प्रशस्तै आएका बताउँदै शेरचनले कृतिमा मूल कर्णालीलाई निर्बाध बग्न दिनुपर्छ भन्ने कुराको उल्लेख भएको बताए । वातावरण विज्ञानमा विद्यावारिधि गरेका शेरचनले पर्यावरणलाई केन्द्रमा राखेर नीति बनाउने हो भने त्यो विद्यमान जिडिपी विकासको विपरीत उभिने भनाइ राखे । किताब पढ्दा हाँसो र सहानुभूति एकसाथ उत्पन्न हुने आफ्नो पठन अनुभूति सुनाउँदै शेरचनले हाँसो र सहानुभूतिभाव एकसाथ उत्पन्न गराउन सक्नु लेखकको शक्ति भएको बताए । पुस्तकमा आएका तथ्यहरूका कारण छालबाटो यात्रावृत्तान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय र प्राकृतिक विज्ञानको लिखत बनेको धारणा शेरचनको छ । शेरचनको ‘गल्ली संसार’ पछिल्लो समयको चर्चित निबन्धकृति हो ।
कार्यक्रममा लेखक रमेश भुसालले नेपालीहरू नदी प्रणालीप्रति आश्रित भएर पनि तिनलाई व्यावहारिक रूपमा माया गर्न नसेकेको कुराले आफूलाई किताब लेखन प्रेरित गरेको बताए । हिमाल र नदीको सम्बन्धलाई विकासका नाममा भएका कामले बाधा उत्पन्न गरेको बताउँदै उनले नदी प्रणालीप्रतिको धारणा किताबमा राखेको सुनाए । नदी मानिसका लागि मात्र नभई बाघ वा अन्य प्राणीका लागि पनि भएको उनको भनाइ छ । बाटो बनाउनका लागि पहाडहरू भत्काउने परम्परा सही नभएको बताउँदै उनले पहाडलाई पैसा हुँदा काट्न सकिने तर पैसा हुँदा जोड्न नसकिने बताए । किताबमा स्वाभाविक दृष्टि र धारणा राखेको उनको जिकिर छ । किताबले मानिसलाई एक पटक प्रकृति, नदी र चराका बारेमा सोच्न बाध्य बनाओस् भन्ने उद्देश्यले किताब लेखेको भुसालले बताए । वातावरणसम्बन्धी रिपोर्टिङमा क्रियाशील भुसालले बिबिसीलगायत विभिन्न मिडियामा काम गरेका छन् ।
साहित्यकार सरुभक्तले छालबाटो यात्रासंस्मरण मात्र नभई अनुसन्धानात्मक कृतिका रूपमा आफूले अध्ययन गरेको बताए । स्थलगत अध्ययन गरेर लेखिएको किताब हुनाले पाठकलाई लेखकले आफूसँगै यात्रा गराउन सफल भएको बताउँदै सरुभक्तले कुनै विषयमा कृति लेख्दा आवश्यक अध्ययन अनुसन्धान गर्नुपर्ने विचार राखे । कर्णाली क्षेत्रको वातावरण, समाज, संस्कृति आदिको जानकारी दिने भएकाले कृति निकै महŒवपूर्ण बनेको उनको भनाइ थियो । गैरआख्यान र आख्यान भन्नु नै आवश्यक नभएको बताउँदै उनले एकअर्कामा एकापसको गुण हुने विचार राखे । गैरआख्यानका रूपमा आएको छालबाटोमा आख्यानको गुण भेटिनेसमेत उनको धारणा थियो । पर्यावरण र नदी प्रणालीको संरक्षणका लागि आवाज उठाउने कृतिका रूपमा आफूले छालबाटो पाएको सरुभक्तले सुनाए ।
कार्यक्रममा सहसचिव दीपक पराजुली र पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।