संस्मरण : मनाङ,हिउँ र यूटर्न – Sarangi News

नवराज न्यौपाने ‘मौन’

विक्रम सम्वत २०५० साल मङ्सिर १५ गते मैले दुर्गम क्षेत्र विकास समितिमा सिभिल ओभरसियर पदमा स्थायी नियुक्ति पाउन सफल भएँ । हिमाली तथा उच्च पहाडी भेगका २२ दुर्गम जिल्लाहरुमा मात्र कार्यक्षेत्र रहेको यस समितिमा मेरो पहिलो दरबन्दी मनाङ जिल्लामा कायम भएको थियो । मनाङ जिल्लामा नियुक्ति पाउनेमा अर्का साथी गुणबहादुर लामा वाइबा थिए । एक हप्ते सेवा प्रवेश तालीम लिएर हामी बेसीशहरमा भेटेर सँगै जाने निधो गरेर छुट्टियौं ।

तोकिएकै दिन उनी काभ्रेबाट र म तनहुँँबाट बेसीशहर त पुग्यौं तर कहाँँ भेट्ने भन्ने स्थान यकीन नभएकोले हाम्रो भेट हुन सकेन । उनी बसपार्क  नजिकको होटेलमा बसेछन् , म चाँहिं केही माथि पुगेर थकाली होटलमा बसेको थिएँ । डुम्रे बेसीशहर कच्ची बाटोको यात्रााले थकित भएकोले साँझमा हामीले सोधखोज गरेनौं ।

 भोलिपल्ट सबेरै उठेर म होटेल अगाडि उनी आउछन् कि भनेर पर्खेर बसेको थिएँ । तर ३ घण्टा कुर्दा पनि उनी नआएपछि म पनि खाना खाएर एक्लै एक्लै आफ्नो बाटो लागें ।

झोला २० केजीभन्दा गह्रौं थियो । जाडोमा लगाउने कपडा,सिरक,निजामती कर्मचारीले पढ्ने पुस्तक,इन्जिनियारिङ विषय र साहित्यिक पुस्तकअहरु बोकेर म मन नलागी नलागी मनाङतिर उकालो लागिरहें ।

बाटोमा पर्यटकहरु फाट्टफुट्ट मात्र भेटिन्थे । जाडो छल्न तल झर्ने शिक्षक ,कर्मचारी र स्थानीय बासिन्दाहरुको ताँती ठुलै थियो । मनाङ जाने साथीहरु भने कोही भेट्न सकिएन ।

पहिलो दिन बाहुनडाँडामा बसियो । दोश्रो दिन मनाङ जिल्लाको प्रवेशद्वार तालमा बसियो । पहिलोपटक आएको यात्री भएको र टुरिष्ट होटलमा खानेबस्ने गरेकोले रकम अलि बढी नै खर्च हुन पुग्यो । धेरैजसो नेपाली त साइनबोर्ड नभएको होटेलमा खानेबस्ने रहेछन् ।

ताल पुगेपछि मेरो जुत्ता नराम्ररी च्यातिन पुग्यो । जुत्ता सिलाउने मान्छे कतै पनि बस्दा रहेनछन् । स्थानीय बासिन्दाले चार घण्टामा चामे पुगिने बताए ।

किराना पसलमा पुगेर जुत्ता किन्ने तर्खर गर्दा साहुजीले भने -‘सर तपाईंको स्पोर्ट शुज डुप्लिकेट रहेछ । यो ओरिजनल पान्डा शुज किन्नुस् । हिमालतिर त ट्रेकिङ बूट लगाएर आउनुपर्छ ।’ अनि पान्डा शुज किनेर लगाएँ र सुस्तरी उकालो लागेँ । झोला झन् झन् गह्रौं हुँदै जान थालेको थियो । साथी पनि थिएन र पैसा पनि सिद्धिएको थियो ।

धारापानी पुगेर चिया खाएँ । खाना खाने पैसा थिएन । अनि चामे पुगेर खाना खाने मनसायले सुस्तरी उकालो लागें ।

मर्स्याङ्दी आफ्नै धूनमा सुसाइरहेको थियो । मेरो घरबाट एक घण्टाको दूरीमा रहेको मर्स्याङ्दी नदीको मुहान खोज्दै म बटुवा भएर आएकोमा मन त रोमाञ्चित भएको थियो तर भोग्नुपर्ने दु:खले पनि उत्तिकै अत्याइरहेको थियो ।

धारापानी कटेपछि मेरो पक्चिल्तिरबाट आउँदै गरेका एकजना साथीले गुनासो पोखे -‘सुन्नुस् त सर ! म नयाँ नियुक्ति लिएर आएको मान्छे हुँ । मसँग पैसा सकियो । मलाई १०० रुपैया सापटी दिनुस् न! म चामे पुगेर दिन्छु । ‘

मेरो मन झन् अँध्यारो भयो । ‘म पनि यही कुरा तपाईंंसँग भन्न खोज्दै थिएँ । म पनि नयाँ नियुक्ति लिएर आएको निजामति कर्मचारी हुँ । मेरो पनि पैसा नभएर खाना खान पाएको छैन । ‘मैले सुस्केरा हाल्दै जबाफ फर्काएँ । अनि दुवैजना सँगसँगै चामे सम्झेर उकालीरह्यौं ।

थान्चोक मुनिको सल्लाघारी आइपुग्दा मेरा छिमेकी गाउँका दाजुले बाटो उछिने । उनी पनि कृषिमा प्रासमा नियुक्ति लिएर आएका रहेछन् । झोला गह्रौं नभएकोले उनीहरु फटाफट बाटो लागे । मैले आफ्नो समस्या बताउन सकिन ।

सल्लाघारी माथि कटेपछि बाटो र धाराहरुमा पानी जमेको थियो । हावापानी निकै चिसो थियो । झोलाको बोझ र भोको पेटले गर्दा हिंडाइको गति सुस्त हुन पुगेको थियो ।

चामे मुनिको गाउँ कोतो पुगेपछि मलाई पानी खान मन लाग्यो । धाराको टुटीमा बरफ झुन्डिएको थियो । पानी निकै चिसो र छोइनसक्नुको थियो । त्यसैले एउटा सानो घरमा पानी मागें । अनि घरबेटी आमैलाई आफ्नो पैसा सकिएको र खाना खान नपाएको कुरा बताएँ । बज्यैले नुनचिया र करुको सातु खान दिइन् । अनि ,हामीले पछि आएर पैसा दिने कुरा गर्दा भनिन् -‘भो बाबु ! पर्दैन । खान दिएर मैले धर्म कमाउछु । यसको ज्याला भगवानले दिन्छन् ।’

त्यसपछि अलि तागत अायाे र कार्यालय समयभित्र नै अफिस( जिल्ला  विकास समितिकाे कार्यालय ) पुुगियाे । गुणबहादुर लामा भने अघिल्लो  दिन नै चामे अाइपुगेका रहेछन् । चिसाे बढेकाेले धेरैजसाे कर्मचारीहरु झरिसकेका रहेछन् । सबैजसाे कार्यालयमा स्थानीय कर्मचारीहरु मात्र रहेछन् ।

जिविसमा सबैले भव्य स्वागत गरे । कर्मचारी मिलन केन्द्रले पनि स्वागत गर्याे। दिनहरु रमाइलाेसँग बित्दै गए ।

नदी,खाेला,धाराहरुमा बरफका ढिक्का देखिन्थे । गाग्री ,बाल्टिनकाे पानी समेत जम्न थालेकाे थियाे ।केटाकेटीहरु बरफका ढिक्काहरु बटुलेर खेल्ने गर्थे ।

अफिसमा बसेर घाम लाग्दा घाम ताप्ने र अरु बेला किचनमा अागाे तापेर समय कटाउने गरिन्थ्यो । फुर्सदमा काेठामा बसेर किताब पढ्ने गर्थें  ।

बिस्तारै चामेकाे सामाजिक बाताबरणमा घुलमिल हुँदै जाने क्रम बढिरह्याे । सबैले भन्ने गर्थे-‘सर, तपाईं त बुद्धजस्ताे मान्छे रहेछ । किताबकाे कीराे रहेछ। सामाजिक रुपमा स्वस्थ हुन सबै कुराकाे ज्ञान र अनुभव सँगाल्न जान्नुपर्ने हुन्छ । बुद्धजस्ताे चात्र हाेइन, अाेशाेजस्ताे पनि बन्ने प्रयत्न गर्नुपर्दछ । जुन ठाउँमा पुगिन्छ, त्यहाँकाे चालचलन र संस्कार अपनाउन सिक्नुपर्दछ । हाेइन र सर?’

कहिले अाफू पढ्ने ,कहिले त्यहाँका विद्यार्थी भाइबहिनीहरुलाई नेपाली,अङ्ग्रेजी ,गणित र विज्ञान विषय पढाउने गरेर साँझबिहान कटाउन थालें। शनिबारकाे दिन भने मर्स्याङ्दी किनारकाे ताताेपानी मुलमा नुहाइधुवाइ गरेर बित्थ्याे ।

मनाङकाे बारेमा राेचक किस्साहरु रहेछन् । अदालत छ , मुद्दा छैन  ।अस्पताल छ, बिरामी छैन।कारागारछ, कैदी छैन । खाेला छ,माछा छैन । खेत छ,धान छैन।अफिस छ,कर्मचारी छैन। कर्मचारी  छ, काम छैन । किनकि याे मनाङ हाे । यस्तै यस्तै कुरा गरेर समय काटिन्थ्याे । स्थानीय भाषामा म्ह भनेकाे निगालाे र नाङ् भनेकाे घर रहेछ । धेरै निगालाे पाइने र निगालाेबाट बनेका घर हुनाले म्हनाङ हुँदै मनाङ भन्न थालिएकाे रहेछ ।

पुस २७ गते पृथ्वी जयन्तीमा कार्यक्रम सकेपछि हामी बजार घुम्न निस्किएको बेला माैसममा एकाएक परिवर्तन  अायाे । हेर्दाहेर्दै फुरफुर हिउँ पर्न थाल्याे । भाेलिपल्टसम्म त  तीन फीट हिउँ परिसकेको थियाे । हामीले अघाउञ्जेल हिउँ खेल्याैं ।  मन प्रफुल्ल  भएर अायाे ।

हिउँ परेपछि बाँकी रहेका कर्मचारी र स्थानीय बासिन्दाहरु बेसी झर्न थाले । मलाई भने निमित्त स्थानीय विकास अधिकारी भएर  दुई महिना बस्न भनियाे । दुई हप्ता जिविसमा निमित्त कार्यालय प्रमुख भएपछि जिल्ला भवन कार्यालयमा काजमा बाेलाएर निमित्त कार्यालय प्रमुख भएर फागुनकाे पहिलाे हप्तासम्म बस्नुपर्ने भयाे ।

घाम लाग्दा बेल्चाले हिउँ पन्छाएर घाम तापेर बस्ने र घाम नलाग्दा किचनमा अागाे तापेर बस्ने काम मात्र भयाे ।अनि सफा डाउँकाे  हिउँ बटुलेर चिया पकाएर खाइन्थ्याे । साँझबिहान बाटाे हिड्दा हिउँमा चिप्लेर  लडिन्थ्याे । चिसाेले हातगाेडा झन्झनाउथे। माघमा अधिकतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा माथि चढ्न सकेन । चैतमा बल्ल ७ डिग्रीसम्म पुगेकाे रहेछ ।

फागुनदेखि असारसम्म मनाङ जिल्लाका १२ गाविसका जम्मा ३० गाउँमा घुमेर विकास निर्माणका गतिविधिमा संलग्न रहेर काम गरियाे । फर्कदा गलाभरि खादा सजिएकाे हुन्थ्यो । अाफूले भाेग्नुपरेकाे पीडा र व्यथा सबै भुलेर म चामे फर्किएको  हुन्थें ।

मनाङ जिल्लाभरि मलाई सबैले सायरी सर भनेर चिन्थे । मैले धेरै ठाउँमा बालबालिकालाई बालकविता र चुड्किला सुनाउने गर्थें भने विभित्र मेला,जात्रा,पर्व,उत्सव र समाराेहमा मुक्तक,सायरी र प्रहशन सुनाउने गर्थें  । साथै, हिमाली भेगकाे स्वच्छन्द जीवनशैली र संस्कारले मेराे जीवनमा एउटा व्यवहारिक मान्छे बन्न सघाउ पुर्याएकाे थियाे । कार्यालयमा निमित्त हाकिम र याेजनास्थलमा साइट इन्चार्ज भएर काम गर्दा मैले धेरै व्यबहारिक ज्ञान हासिल गरेकाे थिएँ ।

मनाङमा डेढवर्ष बिताएपछि मेराे मुस्ताङ जिल्ला सरुवा भयाे । २०५२ बैशाखमा मैले रमाना लिएर जाने भएँ । जिविसले भव्य विदाइ कार्यक्रम राख्याे । कर्मचारी  मिलन केन्द्रकाे तर्फबाट जिल्ला प्रशासन कार्यालयमा पनि विदाइ कार्यक्रम राखियाे ।

भाेलिपल्ट खाना खाएर विदाइ भएर हिड्दा चामेकाे नमस्ते गेटमा अामा समूहकाे टाेली हातमा सगुन र खादा लिएर बसेकाे रहेछ । मलाई चक्लामा पलेटी  कसेर बस्न लगाइयाे । अनि सबैले पालैपालाे खादा लगाएर सगुन चढाए । सबैले ‘फेरि फेरि सरुवा भएर अाउनुहाेला है’ भने । मेरा अाँखा अाँसुले भरिए । अनि, अनि भारी मन र भारी झाेला बाेकेर म एक्लै एक्लै अाेरालाे झरें ।

 ५ घन्टाकाे बाटाे ताल अाइपुग्दासम्म बिदाइ गर्ने क्रम जारी रह्यो  । ताल कटेपछि मनाङ जिल्ला समाप्त भएकाेले अवीर धाेएर खादा झाेलामा खाँदे । अनि मनभरि मनाङकाे सम्झना बाेकेर तालबेसीकाे अाेरालाे झरें । अनि चामेमा हुँदा लेखेकाे कविता झल्झली सम्झन थालें –

तिमी जस्तै, ए हिमाल !
हाँसेकै छु म पनि
फरक यत्ति छ-
तिमी हाँस्छौ दिल फुकाएर
म हाँस्छु ब्यथा लुकाएर ।

तिमी जस्तै, ए मर्स्याङ्दी !
बगेकै छु म पनि
फरक यत्ति छ-
तिमी बग्छ्यौ तरलता निरन्तरता पाएर
म बग्छु जटिलताले मुख बाएर।

तिमी जस्तै, ए फूल!
फुलेकै छु म पनि
फरक यत्ति छ-
तिमी फुलेर झर्छौ
म झुलेर मर्छु।

तिमी जस्तै, ए बुद्ध!
आउने छु म पनि त्यहाँ
फरक् यत्ति छ-
तिमी गयौ दुनिया रिझाएर
म आउँला एकैछिन् भए पनि
कसै न कसैको परेली भिजाएर।

मातातीर्थ,बालागाउँ
२०८०/३/१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

जिल्ला स्तरिय तेकवान्दो प्रतिष्पर्धा हिमाली बोर्डिङमा सम्पन्न।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।


TOP