लघुकथा: धर्म र कर्म
–गङ्गा खड्का
शान्ता विद्यालयबाट हतारहतार घरतर्फ पाइला सार्दै थिइन् । उनको जम्काभेट गाउँका दुई चारजनासँग भयो ।
” दिदी ! टाढै गएर आउनुभयो ?”
उनले यतिमात्र के सोधेकी थिइन् । एउटीले नालीबेली लाउँदै भनिन् ,” पशुपति गएर आएको नि बहिनी । आज ५० वर्षपछि विशेष संयोग परेको रे । यति भीड थियोे कि खुट्टा टेक्ने ठाउँ थिएन । “
अर्कीले बीचमै कुरा काट्दै भनिन् ,” ” कति त घुम्न पनि नपाएर फर्केर गए । हामीलाई त शिवजीले रुचाएर हो कि एकैछिनमा ठूलो पानी पर्यो । मान्छेहरु ओतको लागि छरीबरी भए , त्यही मौकामा हामीले त मज्जाले दर्शन गर्न पायौँ ।”
शान्ताले जसलाई प्रश्न गरेकी थिइन् , बल्ल उनको बोल्ने पालो आयो । उनले पनि माया गरेजस्तो गरेर हेपेर बोल्न छाडिनन् ,” अनि तिमी चाहिँ एकदिन नि स्कुल छोड्न हुन्न जसरी के स्कुल गएकी त ? यसो कहिलेकाहिँ धर्मकर्म नि गर्नुपर्छ क्या।”
” मैले त झन् धर्म र कर्म दुबै गर्न भ्याएँ । जहाँको भगवान् नि एउटै त हुन् नि । नजिकैको शिवालयमा पूजा गरेँ । मनमनै सबै ठाउँको भगवानलाई सम्झिएँ । हजुरहरुले जस्तो अरूको आँखा छलेर दर्शन नि गर्नुपरेन, विद्यालयमा गएर आफ्नो कर्म गर्न नि पाएँ ।
*********************************
बूढानीलकण्ठ , काठमाडौँ