Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
सोच समूहको कविता प्रतियोगितामा रोशन प्रथम (पुरस्कृत कवितासहित) – Sarangi News

पोखरा । सोच समूह, मदरल्याण्डद्वारा बिहीबार मदरल्याण्ड मा. वि. को प्राङ्गणमा सम्पन्न गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगितामा पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम भएका छन् ।

गण्डकी प्रदेशका ८६ वटा कविताहरुमध्ये ६८ जना प्रतियोगी कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका प्रतियोगितामा चिसाखोला वेद विद्याश्रमका अर्जुन भटटराई द्वितीय, पोखरा विश्वविद्यालयका निकेश गिरी तृतीय एवम् भानुभक्त मा.वि. की अन्जना सुवेदी, डब्लु आर. सी. का विजय अधिकारी, पोखरा विश्वविद्यालयका सुजित चौधरी र सैनिक आवसीय महाविद्यालयका मञ्जिल भण्डारी  सान्त्वना स्थान हात पार्न सफल भएका थिए ।

सोच समूह मदरल्याण्डका संयोजक अर्विन ढुङ्गानाको अध्यक्षातामा भएको प्रतियोगितामा  साहित्यकार डा. ईश्वरमणि अधिकारी, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’ र साहित्यकार लक्ष्मण थापा निर्णायक रहेका थिए । प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्य रहेका थिए । विशिष्ट अतिथिहरूमा कर्ण शाक्य सोच समूह, युकेका संयोजक मेजर डम्बर घले, सोच समूह युएईका संयोजक हिरालाल श्रेष्ठ, कर्ण सकारात्मक ट्रस्टका संयोजक प्रवीण शाक्य रहेका थिए ।

प्रथम हुन सफल कविताः

अन्तिम युद्ध

  • रोशन तिमिल्सिना

समाजको ढाडमा विभेद चढेदेखि

असमानताको आलो घाउ

वर्षौंदेखि उस्तै छ -काँचो घामजस्तो

 

पहाड बोकेर पाठेघरमा

आमाहरूले देखेका सपना

बाध्यताले पोतिदिएर फिक्का छन्

जो अन्धविश्वासका काला रेखाहरूबाट

पोखिन चाहन्छन् कुनै रङ्गीन इन्द्रेणीमा

 

अपहेलनाको कुरुप बिम्ब भएर

सडकमा छोडिएका सुन्दर फूल

चाहन्छन् सिउरिन पाऊँ कसैको शीरमा

जो सडकको धुलोमा

भोको पेट र अन्धकार दैनिकी साटिरहेछन्

 

नुनिलो आँसु पिएर

अमिलो पसिनाको गन्ध बोकेर

जिन्दगीभर सौखिन जिब्राहरूलाई

गुलियो बनाइरहेछन् उखु किसान

जो कैयौंपटक

पसिनाको मुल्य र जिन्दगीको

बराबरी समीकरण खोजिरहेछन्

 

आजीवन देशलाई छातीमा राखेर

एउटा कविले अन्तिम गाँसको लागि

राखिरहेछ सडकको छाती माथि

छरपस्ट कविता ग्राहकको प्रतीक्षामा

 

आऊ ! अन्तिम युद्ध गरौं

विभेदको जरा उखेलेर

ढलाइदिऊँ यो सभ्यताको चिन्ह

कोरिदिऊँ सहरका भित्ताहरूमा

चेतना, मानवता, नैतिकताका चित्र

आऊ !

आमाका सपनाहरूलाई

पौडिन दिऊँ विशाल हृदयका मस्तिष्कहरूमा

डुबुल्की मार्न दिऊँ -बुझाइको सागरमा

जो समानताका छाल बोकेर पुग्नेछ्न्

परिवर्तनको तिर खोजिरहने समाजमा

 

सडकमा फूलेका सुन्दर फूलहरूलाई

हुर्किन दिऊँ हाम्रै सामीप्यमा

जो अन्धकार जिन्दगीलाई चिरेर

पुग्नेछन् सडकको परिधिभन्दा बाहिर

बन्नेछन् -परिवर्तन र संघर्षका बिम्ब

 

हातहतियार नबोकी अन्तिम युद्धमा

क्रान्तिले लेखेर किसानका नारा

-खोजेर उज्याला सम्भावनाका खेती

खुसी हुर्किन दिऊँ किसानका अनुहारमा

 

कुनै कला नलुकोस् भिडभन्दा पर

शब्दहरूले गर्न नपरोस्

बुढेसकालमा कुनै पश्चतापको युद्ध

आऊ ! अन्तिम पटक मीठो लडाइ गरौं

 

तयार भएर एकएक काँध

बोक्नुछ यो देशलाई समृद्धिको राजमार्गमा

आऊ ! अन्तिम पटक चेतनाको मुस्लो बोकेर

ताकी हरेक युद्धको अन्त्य यसै युद्धमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP