लघुकथा : सुन्दरताको रहस्य – Sarangi News

सुन्दरताको रहस्य (लघुकथा)

                                  – रमेशचन्द्र घिमिरे


`तिमीलाई आफ्नो सौन्दर्यमा घमन्ड लाग्दैन ?´ मुसुक्क मुस्कुराइरहेको गुलाफको फूललाई देखेर भमराले सोध्यो ।
`म मेरो मात्रै कारणले सुन्दर भएको होइन । मलाई सुन्दर ज-जसले बनाए तिनलाई म सम्झिन्छु । तिनलाई नसम्झीकन मैले घमन्ड गर्न सुहाउँदैन ।´ गुलाफको फूलले उत्तर दियो ।
भमराः ‘तिमीलाई पानीले सुन्दर बनायो हो ? जसको सिञ्चनले तिमी यति राम्रो भयौ ।’

गुलाफः ‘त्यो त ठिक हो, तर अरूलाई पनि सम्झन्छु ।’
भमराः ‘तिमीलाई घामले सुन्दर बनायो जसले तिमीलाई टल्कायो अनि शरीरमा भएको पानी सोस्यो ।’
गुलाफः ‘यो पनि ठिक हो तर अरू पनि छन् ।’
भमराः ‘तिमीलाई हावाले सुन्दर बनायो जसले तिमीलाई हल्लाइदिन्छ अनि तिमी नर्तकी जस्ता देखिन्छौ ।’
गुलाफः ‘तिम्रो उत्तर सही नै छ, तर अरूलाई पनि सम्झन्छु ।’


भमराः ‘तिमीलाई प्रकाशले सुन्दर बनायो जसले तिमीलाई सबैका सामु उज्यालो पारेर देखाइदिन्छ । अँध्यारो भएको भए तिमीलाई कसले देख्थ्यो र ?’

गुलाफः ‘तिम्रा उत्तर बेठिक छैनन्, अरू पनि भन्दै जाऊ।’

भमराः ‘तिमीलाई माटो अनि मलजलले सुन्दर बनाएको हो जसको कारण तिम्रो बोट उभिन पायो अनि तिमी बढ्न, हुर्कन र फक्रन सक्यौ ।’

गुलाफः तिमी ठीक भन्दैछौ । के मेरो सुन्दरताको रहस्य यति मात्रै हो त ?’

गुलाफको प्रश्नको थप उत्तर भमराले भन्न सकेन र चुप लागिरह्यो

उत्तर नआएपछि गुलाफ आफैले पुनः जवाफ दियो,’मेरो सुन्दरताको पछाडि काँडाको पनि हात छ किनभने यो काँडा नहुँदो हो त मेरो सुन्दर रूपलाई ठुँगेर तिमीजस्ता भमराले उहिल्यै कुरूप बनाइसक्थ्यौ ।

*******************************

२०८०/०५/२१

भोर्लेटार, लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना

लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।


TOP