मेरो अभिमत
– सुनिता प्रतिबिम्ब
जिन्दावाद/मुर्दावाद
भोट यता/भोट उता
यो गर्छौं/ऊ गर्छौँ
यस्तै यस्तै,
भाषणले गुञ्जायमान थिए
गाउँ, बस्ती र सहर ।
अनि मेरो देश रङ्गिँदै थियो
अनेक दिवास्वप्नहरूले,
चुनावी महासङ्ग्राममा
आफूतिरै नतिजा ल्याउन
लागिपरेका थिए सबै ।
ठिक त्यति नै बेला
म थिएँ अन्तर्राष्ट्रिय विमानको ढोकामा,
टाल्न नसकी स्वदेशमा
फाटेको जिन्दगीका रहरहरू
परदेशीको गोडा मल्न
लिएर गह्रौँ ज्यान
बोकेर गहभरि आँसु
बिछोडिँदै प्रियजनसँग
भुइँ छोड्नै लागेको थिएँ ।
कुनै साइनो र सम्बन्ध थिएन
नेताजीहरूका आश्वासन र
फाटेको मेरो जिन्दगीबिच
किनकि
तिनका कुराले
भिज्दैनथ्यो मेरो जिन्दगीको च्युरा ।
ए नेताज्यू !
एक भोट दिन त असमर्थ भएँ यसपाली
तर,
एउटा आशा बोकेर जाँदै छु
तपाईंका आश्वासन
विगतका जस्तै झुट नबनून्
अबको छुट्टीमा आउँदा
‘म’हरूले आफ्नै देशमा केही गर्न पाइयोस् र,
फेरि एयरपोर्टको ढोकामा टेक्नु नपरोस् ।
अनि जिन्दगीको अन्तिमसम्म
दिन पाइयोस् तपाईंहरूलाई अमूल्य भोट ।
बुटवल