Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा – Sarangi News

पोखरा,  चैत २४ गते । लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुई पुस्तक बजारमा आएका छन् । ‘मगर जातिको इतिहास’ र भर्तीको ‘फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।

इतिहास तथा संस्कार र संस्कृति गरी दुई भागमा विभाजित ‘मगर जातिको इतिहास’ पुस्तक १७६ पृष्ठको छ । पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामकरण ? मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर  , मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।

यसै गरी २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।

‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खास गरी मगर, गुरुङ, राई, लिम्बूलगायतका समुदायहरूको जीवन, संस्कार, सङ्घर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोका मगरले भनिन्,‘तत्कालीन समयमा राज्यले नै केही निश्चित जातिलाई छानी छानी भर्तीमा पठाएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’

 पुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।

अध्यक्ष रोका मगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य, समाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै, विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठक, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउने छ ।

लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरी किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रूपमा उपलब्ध होस् भन्ने हेतुले विमोचनअगावै पुस्तक बजारमा पठाइएको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP