बलराम तिमिल्सिनाको कविता बिग्रेको बाहुन ?
***********
‘बाहुन बिग्रेपछि बल्ल मान्छे बन्छ’
यो कुरा बुझेपछि बिग्रन थालेको हुँ म
यो बिग्रने सिलसिला अझै अधुरो छ ।
धेरैले भन्थे –
सप्रन गाह्रो छ
बिग्रन सजिलो छ
तिनीहरूले भनेको कुरा सही होइन रहेछ
बाहुन बिग्रन धेरै मुस्किल रहेछ
जस्तो कि म
आधा बिग्रेर आधा नबिग्रेर
दोबाटोमै अलपत्र छु ।
भन्नलाई सप्रेका बाहुनहरू
मलाई बिग्रेकै बाहुन नै भन्छन
भन्न त अनेक कुरा भन्छन
डलरे भन्छन
ईशाई भन्छन
खै कसको हो दलाल भन्छन
सप्रेका बाहुनहरूको वुध्दि हुदैन
तिनीहरू यस्तै यस्तै वाइयात कुरा भन्छन ।
मलाई मेरो जातिप्रति
कुनै अतिरिक्त घमण्ड छैन
बरु दिङदिङ छ अलि अलि
न भगवानमा भरोशा छ
न जनैमा विश्वास छ
न स्वर्गको आश छ
न नरकको त्राश छ
न वेद, न गीता
न पुराण , न उपनिषद
यी कुराप्रति झुकाव छ
( छन त वाइवल र कुरा प्रति पनि छैन)
तर यत्तिले मात्र बिग्रन नसकिने रहेछ ।
‘एउटै कक्षा कोठामा
एउटै बेञ्चमा
एउटै शिक्षकले पढाएको पाठ
तैंले बुझिनस र फेल भइस
मैले फ्याट्टै बुझें र पास भएँ ‘
यसो भनेर
मैले कुनै दलित साथीलाई हेपेको पनि छैन ।
तर यति कुरा मात्रै
बिग्रनकोलागि काफी नहुने रहेछ ।
जनै छोडेको तीस वर्ष कटेछ
गायत्री मन्त्र कण्ठ छ , तर जप्दिन
हातमा पँहेलो डोरो बाँध्दिन
मन्दिर ?
मन्दिर त जाने कुरै भएन
चर्च ,चैत्य र मस्जिद पनि जान्न
बसबाट यात्रा गर्दा
जब कुनै मन्दिर देखिन्छ
सबै यात्रुहरू
हात छात्ती र निधारमा छुवाउछन
म मनमनै हाँस्छु
ग्रह भनेका सूर्यलाई घुम्ने पिण्डहरू हुन
मैले त्यति मात्र बुझेको छु
राशीफल ?
हाहा त्योभन्दा वाइयात कुरा के होला र !
तर पनि अझे म भने जति बिग्रेको छैन ।
बिग्रन पनि एक्लै नसकिने रहेछ
पर्यावरण प्रतिकूल छ
कानून प्रतिकूल छ
समाज प्रतिकूल छ
परिवारमा समान मत छैन
प्रतिकूलता नै प्रतिकूलताको बीचमा
रातारात बिग्रन असम्भव रहेछ
म त्यही बिग्रन नसकेर निराश छु ।
जम्मा एक बारको जुनी
मलाई मान्छे बनेर मर्न मन छ
मान्छे भएर मार्नको लागि
एउटै ज्यानमारा शर्त छ
त्यो शर्त हो – म पूर्ण रुपमा बिग्रनु !
सबै कुरा बिग्रन सजिलो रहेछ
बाहुन बिग्रन गाह्रो रहेछ
हाइली प्रोटेक्टेड जात रहेछ यो
हत्तपत्त नबिग्रने !
मलाई डर लागिरहेछ
मर्ने बेलासम्म
म सोचे जति नबिग्रने पो हुँ कि
मेरो बिग्रेको बाहुन बन्ने सपना
अधुरो अपुरो नै रहने पो हो कि ?
******
२०८० असोज १०
सिनामङ्गल