कविता : जीवनको गणित
आफन्तसँगै छुटन सक्छन्
खुसीका कोपिलाहरू
साथीभाइसँगै छोडिन सक्छ्न्
आत्मीय पलहरू
शरीरमा जतनले पहिरिएको कपडाजस्तै
सम्हालेर आफ्नो होश
त्यतिबेला गाउँदै हिँड्नु आत्मविश्वासको गीत ।
उक्लिएकै बाटोबाट झर्नु पनि त
सजिलो छैन,
ज्ञानको वैशाखी टेकेर
हिँडिरहनु समयको राजमार्ग
केही न केही सिक्नको लागि
जिन्दगीको हतासोले बुनिरहनु
गुन्द्रीजस्ता सयौँ सपना
जीवनमा हुर्काइरहनू विश्वासको बिरुवा ।
छुट्टिनु त केवल
एउटा सरल रेखाबाट
बाटो विभाजित हुनु हो
जिन्दगीको अनगिन्ती यात्रामध्येको
एक फट्को नापो हो
नयाँ यात्राको अनुभूति हो
आउने, जाने, देखिने, भेटिने र छेकिने
हजारौँ क्रियाहरूसँग
दर्जनौँ पटक साक्षात्कार गर्दै
रङहरूको उत्सव मनाउनु
प्रत्येक पल नयाँ हुनु हो
जिन्दगी बाँचेको आभास हुनु हो ।
जीवनको गणितमा
एउटै फर्मूला कहाँ हुन्छ र ?
छुट्टिनु अन्त्य हुनु होइन,
जस्तो कि नदीले बगरसँग छुट्टिएरै समुद्र भेट्छ ।