Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
उन्माद : कविता – Sarangi News

गद्य कविता : उन्माद !

– ताराप्रसाद चापागाईँ

सुनसान रातमा

दूरदेशतिर

बमबारुद

र गोलाको आतसबाजी

प्रस्ट सुन्दै छु

टोलाएर एकछिन सोच्छु

तेस्रो विश्वयुद्धको

आतङ्कमा डुब्छु

वीर नेपालीहरू

आफ्नै

कात्रो किन्ने पैसा

दलाललाई बुझाउँदै

एयरपोर्टदेखि

मन्त्रालयसम्म

सेटिङ् मिलाएर

युद्धभूमिमा होमिएको

खबर सुन्छु

आफ्नो देशको

सीमा मिचेर

खुल्लम् खुल्ला

चुनौती दिने

छिमेकीसँग

पुच्छर लुकाउने

हाम्रा वीरहरू

आफ्नो वीरता

पराई देशको

धर्मयुद्ध

र सीमायुद्धमा पोखिरहेछन्

दुईचार पैसाको लोभमा

जानी-जानी

अमूल्य जिन्दगी

समर्पण गरिरहेछन्

हाम्रा दाजुभाइहरू !

बलीको बोका बन्न

विवश किन हुँदै छन् त ?

समस्याको समाधान

कस्ले खोज्ने ?

मासु

र भातमा

भोट बेच्ने जनताले ?

कि गठबन्धन गर्दै

देश डुबाउने नेताले ?

तस्कर

र दलालहरूको

धनले

आँखा पुरिएकाँ सरकारले ?

कि घुस नखाई

कलम नै चलाउन

नसक्ने कर्मचारीले ?

कुशासन

बेथिति

र महङ्गीको मारमा

जकडिएको मन

मदका

प्यालाहरू रित्त्याएर

उन्मत्त हुँदै छु

मातृप्रेमको नसामा

उन्मत्त भई

रसिया

र सिरियामा

बगाउने रगत

मेरै देशमा बगाऊँ झैँ लाग्छ

सुग्रीव बनेर

सिंहदरबार

र बालुवाटारका जङ्गलहरू

जलाऊँ झैँ लाग्छ

मेरो देशको राजनीति

कहिल्यै नपलाउने गरी

हिरोसिमा

र नागासाकी बनाऊँ झैँ लाग्छ

पागलपनको सीमा नाघेर

मातृभूमि अँगाल्दै

आफ्नै देश चुम्न

मन लाग्छ

भोकमरी नै किन नहोस्

आफ्नै भूमिमा

सहिद बन्न

मन लाग्छ

अरूको दास होइन

उन्मुक्त

र उन्मादग्रस्त बनेर

आफ्नै

जन्मस्थलमा

जीवन जिउन

मन लाग्छ ।।

——————————-

धुनिबेसी नगरपालिका- ९, धादिङ

(लेखक टुक्का कविता अभियानका अभियन्ता हुनुहुन्छ । लेखकको  फेसबुक हेर्न यहाँ थिच्नुहोस् अनि टुक्का कविताको फेसबुक समूह खोली टुक्का कविताका बारेमा जान्न यसमा  छुुनुहोस् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP