मेरा साथी (बालकविता)
– पुष्पा श्रेष्ठ ( पुसु )
सँगै पढ्न लाग्छ मन
साथी सारै राम्रा छन्
कमिला खुसी ताँतीमा
म खुसी मेरै साथीमा
सबैले माया गर्छन् धेरै
मख्ख पर्छु म त्यो हेरेरै
आऊ साथी स्कुल जाऔँ
पढौं, लेखौँ, नाचौँ, गाऔँ
कत्ति पनि अल्छी नबनौँ
स्कुल जान्न भन्दै नभनौँ
पढ्नलाई अब गरौँ सुरू
राम्रा हाम्रा साथी र गुरु
विद्यालय सँगै आउने है
ती राम्रा नाना लाउने है
खाउँला खाजा साटेर
आउँला कपाल बाटेर
डाँडैमाथिको घाम राम्रो
पढ्ने, लेख्ने काम राम्रो
अब रुने छैनौँ कहिल्यै
हाँसी राख्ने छौँ जहिल्यै ।
———————
– रूपा गाउँपालिका-७, दाङ्सिमराङ, कास्की