मन्दिर मेरो पुस्तकालय (बालकविता)
– शान्ता पन्थी ‘शान्तिदीप’
जब भयो बिदा
खुसीले म उफ्रिँदा ।
मेरी आमा हाँस्नु भो
बाबासँग भन्नु भो ।
पुस्तक किन्न जाऊँ न
राम्रा राम्रा ल्याऊँ न ।
पुस्तकहरू ल्याउनु भो
सबै मलाई दिनु भो ।
केही पुस्तक अङ्ग्रेजी
केही त रै’छन् नेपाली ।
फटाफट ती मिलाएँ
पुस्तकालय सजाएँ ।
काठै काठको त्यो घर
सजाउँदा त सुन्दर ।
कस्तो आँखा तान्ने
पढ्न रहर जाग्ने ।
थरीथरी किताब
गर्न थालेँ हिसाब ।
आज पढ्छु कथा
भोलि भन्छु कविता ।
जब थालेँ पढ्न
सिकेँ अगि बढ्न ।
बिदा भयो रमाइलो
पाठ पढ्दा घमाइलो ।
पाएँ ज्ञान अति
बाढेँ बुझे जति ।
भन्ने गर्छु देवालय
पुजौँ पुस्तकालय ।
—————————-