Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
हरिशरण परियारकाे कविता : अल्जाइमर र आमा – Sarangi News

अल्जाइमर र आमा

वर्षौंपछि आज आमा निःसंकोच हाँस्नुभयो,
आमा धेरै खुसी हुनुभयो,
चञ्चल हुनुभयो,
फेरि एकपटक
केटाकेटी हुनुभयो,
उन्मुक्त हुनुभयो।
किनभने,
आज आमाले धेरै कुरा बिर्सनुभयो।

सबैभन्दा पहिले
नाम बिर्सनुभयो,
नामपछाडि झुण्डिरहने
थर बिर्सनुभयो,
आफ्नै अस्तित्वलाई सधैं थिचिरहने
पति बिर्सनुभयो,
“पाले पुण्य, मारे पाप” भन्दै कन्यादान गर्ने
माइती बिर्सनुभयो,
आफ्नो पसिना पिएर कहिल्यै नअघाउने
कथित घर बिर्सनुभयो।
हो, आमाले धेरै कुरा बिर्सनुभयो,
र त आमा वर्षौंपछि आज
स्वतन्त्र हुनुभयो।
बिर्सनुभयो,

हाँसखेल गर्ने उमेरमै
आमा बनेको पीडा,
बिर्सनुभयो,
आफ्नो गाँस काटेर
आधा दर्जन सन्तान हुर्काएको कष्ट,
चुलो बिर्सनुभयो,
जुठेल्नो बिर्सनुभयो,
साहुको अधिया खेत बिर्सनुभयो,
मेलापात बिर्सनुभयो,
त्यही मेलापातमा गाइहिँड्ने
विरहका गीत बिर्सनुभयो।
हो, आमाले धेरै कुरा बिर्सनुभयो,
र त आमा वर्षौंपछि आज
प्रफुल्ल हुनुभयो।

आमाले सधैंका लागि
जात बिर्सनुभयो,
त्यही जातले बोकेर ल्याएका
दुखका खात बिर्सनुभयो,
अस्पृश्यताको आघात बिर्सनुभयो,
बिर्सनुभयो,
सधैं काखीमा चेपेर हिँड्ने सुजरो,
त्यही सुजरोभित्रका
कैंची, सियो, धागो… सबै बिर्सनुभयो।
हो, आमाले आफूलाई सधैं घृणा लाग्ने
सम्बोधन (दमिनी आमा) बिर्सनुभयो,
र त आमा वर्षौंपछि आज
मान्छे हुनुभयो।

ठीक यतिखेर सोचिरहेछु—
कति भयानक होला,
यसैगरी आमाहरूले
कथित मर्यादा, शालीनता, कोमलता
र मान्यता सबै बिर्सेर
मुठ्ठी उठाउनुभयो भने !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP