शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु – Sarangi News

​बेनी, म्याग्दी । विपद् व्यवस्थापनका क्षेत्रमा विद्यालयस्तरको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले म्याग्दीको बेनीमा पाँच दिने ‘कस्टमाइज’ तालिम सुरु भएको छ।

तालिम केन्द्र दमौलीको आयोजनामा विस्तारित तालिम केन्द्र बेनीमा सञ्चालित उक्त तालिममा पर्वत र म्याग्दी जिल्लाका ८ वटा स्थानीय तहका आधारभूत तह (६-८)मा अध्यापनरत ५० जना शिक्षकहरूको सहभागिता रहेको छ।

तालिमको समुद्घाटन गर्दै बेनी नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले वर्तमान समयमा विपद् व्यवस्थापनको सान्दर्भिकता र संवेदनशीलता बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले प्राप्त ज्ञानलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा उतार्न ‘सेयरिङ कल्चर’ (ज्ञान साटासाट गर्ने संस्कृति) को विकास गर्नुपर्ने र सैद्धान्तिक पक्षभन्दा व्यावहारिक अभ्यासमा बढी केन्द्रीकृत हुनुपर्नेमा जोड दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत भोजराज घिमिरेले तालिमको सहजीकरण गरिरहनुभएको छ। तालिमको पहिलो दिन आज सहभागीहरूलाई विपद्को परिभाषा, विपद् व्यवस्थापनका विभिन्न चरण तथा अवस्थाहरू, प्राथमिक उपचारका आधारभूत सिद्धान्त र जीवनरक्षाका प्राथमिक उपायहरूबारे जानकारी दिइएको छ।

​तालिम व्यवस्थापक तथा सूचना अधिकारी दीपेन्द्र परियारले दिएको जानकारी अनुसार, सहभागीहरूलाई आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी र जीवनरक्षाका लागि आवश्यक पर्ने प्राथमिक उपचारका सीपहरू प्रयोगात्मक विधिबाट सिकाइएको छ।

​पाँच दिनसम्म सञ्चालन हुने यस तालिमले विद्यालय तहमा आइपर्ने प्राकृतिक तथा अन्य विपत्तिका समयमा जनधनको क्षति न्यूनीकरण गर्न र शिक्षकहरूलाई ‘फर्स्ट रेस्पोन्डर’का रूपमा तयार गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन


TOP