शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ? – Sarangi News

(प्रारम्भिक स्पष्टिकरण: एकातिर स्थानिय निकायको हैकम, हस्तक्षेप र विद्यालय व्यवस्थापन समितिको मनोमानी र कतिपय कामचोर शिक्षक स्वयम्को कारणले शिक्षकको साख गुम्दै छ भने अर्कोतिर राज्यले शिक्षकलाई दोस्रो दर्जाको कर्मचारीको रुपमा हेर्छ । शिक्षण पेसा आफैँमा गरिमामय पेसा भएपनि विगतदेखि नै शिक्षकप्रति समाजको उपेक्षापूण हेय दृष्ट्रिकोणका कारण विद्यार्थीमा समेत शिक्षकलाई हेर्ने नकरात्मक दृष्ट्रिकोणका हावी भएको छ । यसको सुधार कसरी गर्ने बारे गहन अनुसन्धान जरुरी छ । यो आलेखमा शिक्षक के हो र कसरी ग्ल्यामरस बन्न सक्छ भन्ने एप्रोजबाट मात्रै एउटा शिक्षकको अनुभूति मात्रै प्रस्तुत गरिएको छ । –लेखक )

प्रारम्भ: 
प्रज्ञा¬ नेपाली बृहत् शब्दकोश भन्छ,–‘शिक्षक भनेको शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर ।’ हो । शिक्षा ऐन २०२८,ले भने जस्तै शिक्षक बिद्यालयको अध्यापक हो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले भन्छ, ‘शिक्षक सूचना प्रवाहकर्ता, प्रवर्धनकर्ता, विद्यार्थीसँग सहकार्य गरि सिक्ने र सिकाइ संस्कृतिको खुल्ला बाताबरण सिर्जना गर्ने ब्यक्ति हो ।’ कि आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले भनेजस्तै सिकाइ सहजीकरण प्रक्रियाको सहजकर्ता, उत्प्रेरक, प्रवर्तक र खोजकर्ता हो ? या को हो शिक्षक ?

शिक्षक को हुन ?

एउटा शास्त्रिय मान्यता भन्छ, शिक्षक शब्दमा प्रयोग भएको अक्षर ‘शि’ ले शिखरमा लैजाने व्यक्ति ‘क्ष’ ले क्षमा गर्ने व्यक्ति र ‘क’ ले कमजोरी दूर गर्ने व्यक्तिलाई जनाउछ । शिक्षक शब्द ‘गुरु’ शब्दसँग समान अर्थ राख्छ । यहाँ ‘गुरु’ को ‘गु’ ले अन्ंधकार र ‘रु’ले तेज अथवा उज्यालोलाई जनाउँछ । ज्ञानरुपि प्रकाश दिएर अन्धकारलाई हटाउने ब्यक्ती नै गुरु हो रे ! मैले कतै पढेको थिएँ । जोन एडम्सले शिक्षकलाई मानवको निर्माता मानेका छ्न् भने वाइल्डले बच्चालाई खुशी राख्ने ब्यक्ति । त्यस्तै रुसोले विद्यार्थीको पाना पाना पढ्ने ब्यक्तिको रुपमा हेरेका छन् भने प्लेटोले शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउने ब्यक्ति भनेका छन् । कसैले नदिमा डुङ्गा खियाउने माझी जस्तै सम्झिन्छन् भने कसैले शिक्षकलाई आफू जलेर अरुलाई उज्यालो दिने ‘मैन’सँग तुलना गर्छन् ।

आजको एआईको (कृतिम बौद्धिकता) युगमा शिक्षकको रुप र सारलाई भन्दा प्रकार्यका आधारमा हेर्न जरुरी हुन्छ । अचेल शिक्षक न त प्रकृतिवादेले भने जस्तो वालकको अवलोकनकर्ता र मञ्च निर्माता जस्तो देखिन्छन्, न त यथार्थवादले भने जस्तै कक्षा कोठामा वास्तविक ज्ञान प्रदान गर्ने ब्यक्ति, न त प्रतीकात्मकवादले भने जस्तो चेतना र अभिप्रायमा केन्द्रीत हुने ब्यक्ति या निर्माणवादले भने जस्तो सिकारुलाई सिर्जनशील बनाउने ब्यक्तिका रुपमा देखिन्छन् । सोच्छु कहिलेकाहीँ के शिक्षक भनेको ‘गड पाटिक्ल्स’ हुन् ? अथार्त पदार्थको सुक्ष्म कण क्वार्ज जस्तो एकपल्ट हेर्दा एउटा अर्कोपल्ट हेर्दा अर्कै देखिने बिज्ञानले मानेको ‘गड पाटिक्ल्स’ ?

ब्राण्ड हेनरी भन्छन्– “एउटा असल शिक्षकले आशा जगाउँछ, कल्पना उद्दीप्त गर्छ र सिकाइमा बिस्तारै प्रेम भर्छ ।” त्यस्तै डेभल प्याटृकको मत यस्तो छ– विद्यार्थीलाई थुप्रै फरक पार्न सक्ने उत्तेजना र प्रेमले भरिएको एक महान ब्यक्ती शिक्षक हो ।” जब मैले ब्राण्ड हेनरी र डेभल प्याटृकको नजरबाट शिक्षकलाई हेरेँ, तब एउटा असल शिक्षक हुनु सबैभन्दा जटिल काम रहेछ भन्ने बुझन् कुनै अप्ठयारो परेन । किनभने समाजले शिक्षकसँग आशा, विश्वास, आदर्श र अपेक्षा उच्च गरको हुँदो रहेछ । विलियम अर्थर वार्डलाई पछ्याउदै जाँदा मैले “कम्जोर शिक्षकले भन्छ । असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।” भन्ने कुराको भेउ पाएँ ।

मैले माथी कतै भने शिक्षकको रुप र सारलाई भन्दा अब प्रकार्यका आधारमा हेर्न जरुरी हुन्छ । उसमा तीन ‘प’ को ज्ञान हुन जरुरी हुन्छ । प्रविधि, पेडागोजी र परिस्कृत ज्ञान । लेखक प्रकाश पाण्डले भने जस्तै “अचेल शिक्षकहरु जहाँ अवतरित हुन्छ्न त्यहाँ उनीहरु फिक्का, मौन र गौण देखिएका छन् । जे भने त्यो गरेनन् र जे गरे त्यो भनेनन् त्यो भन्न पनि मिल्दैन । अधिकांश शिक्षक विद्यार्थीहरुलाई सिर्जनशीलता बिकासका लागि प्रोत्साहन गर्न चाहन्छ्न् तर त्यो कसरी बिकास गर्ने भन्ने कुरामा सुनिश्चित हुदैनन् भन्ने कुरा आएको छ । के तिनै हुन् त शिक्षक ? जो प्रकार्य तथा प्रयोगहरु गर्दैनन् गरिहाले थुप्रै नियन्त्रणहरु र हस्तक्षेपहरु गर्छन । जो सिर्जनशीलताको बिकासको तरीका जान्दैनन् । कि होइनन् तिनीहरू !” त्यसैले त शिक्षण पेसा आफैँमा गरिमामय पेसा भएपनि विगतदेखि नै शिक्षकप्रति राज्य र समाजको उपेक्षापूण हेय दृष्ट्रिकोणका कारण विद्यार्थीमा समेत शिक्षकलाई हेर्ने दृष्ट्रिकोण फरक हुँदै गएको छ । यस्तो अवस्थालाई चिर्दै एउटा शिक्षक कसरी ग्ल्यामरस बन्न सक्छ ? बन्नुपर्छ ? अब स्वयम् शिक्षकले आत्मसमिक्षा गरी आफूलाई अपडेड गर्न जरुरी छ ।

कसरी बन्ने ग्ल्यामरस ?

ग्लामरस शब्दको अर्थ आकर्षित, मन मोहक वा सौन्दर्यले भरिपूर्ण भन्ने हुन्छ । शिक्षण पेसा र शिक्षकप्रति नै नकरात्मक सोच विकास हुदैँ गरको अवस्थामा के शिक्षकले आफू र आफ्नो पेसाप्रति लागेको दाग मेट्न सक्टन् ? गुमेको साख फर्कान सक्छन् ? अनि ग्ल्यामरस बन्न सक्छन् ? ह्वाइटहेडले भने जस्तै सम्पूर्ण कुरा शिक्षकमा भर पर्छ । शिक्षकले आफूले के भन्छ ? भन्दा पनि के गर्छ ? ले आफ्ना विद्यार्थीमा प्रभाव पार्छ । खासगरी कमजोर विद्यार्थीमा प्रभावकारी शिक्षण गर्ने ब्यक्ती शिक्षक हो कि शिक्षक बालकको एउटा रोड मोडल हो । जोन डिवेले शिक्षक बालबालिकालाई जीवनको जटिल क्षणमा निर्देशन दिने ब्यक्तिको रुपमा हेरेका छ्न् । उनी भन्छन्– शिक्षक एउटा असल मित्र हो; एक दार्शनिक हो र एक पथप्रदर्शक हो । जो विद्यार्थीको असल मित्र बन्छ, प्रेरक र पथप्रदर्शक बन्छ, पेशाप्रति पूर्ण प्रतिबद्ध छ उनै गल्यामरस शिक्षक बन्न सक्छ । गुमेको साख फर्कान सक्छन् ।

पेसाप्रति प्रतिवद्धता, नवप्रवर्तनात्मक दृष्टिकोण, मूल्याङ्कनमा विविधता र ज्ञानलाई सिकाइमा स्थानान्तरण गर्ने कला शिक्षक ग्ल्यामरस बन्ने आधारभूत सीपहरु हुन् । शिक्षालाई संगीत,कला र साहित्यको माध्यमबाट रोचक र प्रभावकारी बनाउन शिक्षकमा कलाको उच्च ज्ञान हुन जरुरी छ । समृद्ध पाठ्यक्रम, पाठ, पठन विधि र प्रणालीमा सुधार, शिक्षकको संगठनात्मक योजना, शिक्षकमा स्वयंम् समिक्षा र सेल्फ केयर हुनुपर्छ । प्यासन फर दि सक्जेक्ट एण्ड इङ्गेजीङ प्रिजेन्टेशन, , सम्बोधन र सम्वाद शैली तथा वाक कला साथै शिक्षकको व्यक्तिगत स्टायल, व्यक्तिगत सिकाइ र संवादमा सजिवता आदि ग्ल्यामरस बन्ने थप सीपहरु हुन् ।

लेखक तथा राजनितिकर्मी मिलन पाण्डे भन्छन् – ‘विद्यार्थी उत्कृष्ट शिक्षक खोज्दैनन्, उनीहरू केवल आफूलाई सिक्न सक्ने वातावरण बनाइदिने शिक्षक खोज्छन् । तसर्थ, शिक्षक निकै विज्ञ हुनुपर्छ भन्ने छैन । उसले विद्यार्थीलाई बुझ्न सक्ने वातावरण बनाउन सके पुग्छ ।’ म शिक्षक हुँ मलाई सबै आउँछ, विद्यार्थीलाई केही आउँदैन भन्ने  भ्रम चिरेर   शिक्षकले हरेक दिन आफ्नो समीक्षा आफैँ गर्दै ‘अपडेट’ हुनुपर्छ ।  अक्सफोर्ड विश्वविद्यालयले अचेल शिक्षकलाई पनि ‘लर्नर’ भन्न थालेको छ । अब  हामी शिक्षक पनि  ‘लर्नर’  बन्न काेशिस गर्ने पाे हाे कि ?

अन्त्यमा,

सिक्ने, तर्क गर्ने र समस्यको हल अब मेसिनले गर्न थालेका छन् । अब स्कुलले प्राविधिक दक्षताहरुलाई कम र जीवन सम्बन्धी दक्षताहरुलाई बढी महत्व दिनुपर्छ । शिक्षा विज्ञहरु भन्छन् अब स्कुलमा चार सि पढाउन जोड दिनुपर्छ । क्रिटिकल थिंकिङ, कम्युनिकेशन, कोल्याबोरेशन र क्रियटिभिटी । शिक्षकलाई ग्ल्यामरस बनाउन अनिता भेटवालले हिमाल खबरमा लेखे जस्तै ज्ञानको मुहानै फोहोर छ सफा गर्नु पर्यो अनि शिव मुखियाले भने जस्तै नेपाली शिक्षाका थ्रि इडियट्स (पाठ, पठन विधि र प्रणाली) सुर्धानु पर्छ । अनि शिक्षकहरूको अन्तर्राष्ट्रिय सङ्गठन एजुकेसन इन्टरन्यासनलका अनुसार जो विद्यार्थीसँग पेशागत सम्बन्ध कायम राख्दै विद्यार्थी र अभिभावकप्रतिको प्रतिबद्धता पूरा गर्दछ ऊ नै गल्यामरस शिक्षक हो । त्यति मात्रै होइन् अहिलेको अत्याधुनिक सूचना, सञ्चार, विज्ञान र प्रविधिको विकाससंगै एप्पलको सिरी, फेसवुकको मेसेन्जर बुट, अमेजनको एलेक्सा, अनलाइन तथा भर्चुअल लर्निङ्ग, सुपररियालिटी, भिडियो एजुकेशन जस्ता पछिल्ला सिकाइ शैली, विधि र पद्धतीले शिक्षक आफै कन्फुयूज भएको अवस्थमा छ अझ पछिल्ला जीनोथेरापी, डिजाइनर शिशु, कृत्रिम बौद्धिकताले शिक्षकको प्रकार्य बदलिएको यर्थाथलाई बुझ्न जरुरी छ । हुन त शिक्षण पेशा प्राविधिक कार्य हो । जसरी मेडिकल सर्जनले विरामीको रोेगलाई पत्ता लगाई निको बनाउँछन् । त्यसरी योग्य गुरुहरुले सिकाइमा रहेका समस्याहरुको चिरफार गरि सरल तरिकाले ज्ञानको हस्तान्तरण गर्ने क्षमता राख्दछन् । शिक्षाशास्त्री रोवट् फोस्टर्का अनुसार शिक्षण आफुमा भएको ज्ञानलाई सिकाइमा स्थानान्तरण गर्ने कला हो । त्यही कलालाई जिवन्तता दिने कलाकार मात्रै ग्ल्यामरस बन्न सक्छ ।

(लेखक तथा पत्रकार अधिकारी सामुदायक विद्यालयका सामाजिक शिक्षक समेत हुन्)
ईमेलः [email protected]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP