Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
ठुटे उपन्यास लिएर आए दीपक सापकोटा – Sarangi News

पोखरा, कार्तिक १५ गते । युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ ।
दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राखे । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्” उनले भने, “विश्वका कैयौँ बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।” लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने उनको भनाइ थियो । दीपक सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने विश्वास सरुभक्तले प्रकट गरे ।
आयोजक दीपशिखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले दीपकले पहिलो उपन्यासमै धेरै विषयवस्तु उठान गरेको बताए । जनयुद्धकालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको भन्दै पौडेलले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राखे । ठुटेले प्रस्तुत गरेको कथावस्तु हाम्रै समाजको कथावस्तु भएको पौडेलको भनाइ थियो ।
कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको जानकारी दिए । कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्रहरू हेरेको बताउँदै उनले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाए । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको उनको भनाइ थियो । आफू विदेश बसे पनि नेपाली साहित्यमा सकेसम्म काम गर्ने उपन्यासकार सापकोटाले बताए ।
गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याए ।
दीपशिखा साहित्य सङ्गमका सल्लाहकार रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सम्पादक दशरथ सापकोटाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP