
प्रस्तावना
पठन संस्कृति भन्नाले अध्ययनको परम्परा, अभ्यास, र वातावरणलाई बुझाउँछ जसले व्यक्तिलाई निरन्तर ज्ञान प्राप्ति र सोच विकास गर्न प्रेरित गर्छ। जब कुनै व्यक्ति, विद्यालय, समाज वा राष्ट्रमा पुस्तक, पत्रपत्रिका, शोधपत्र, डिजिटल सामग्री जस्ता शैक्षिक स्रोतहरूको नियमित अध्ययन गर्ने बानी बस्छ, त्यसलाई पठन संस्कृति भनिन्छ । पठन संस्कृति केवल औपचारिक शिक्षा प्राप्त गर्नका लागि मात्र होइन, ज्ञान, सृजनशीलता, विश्लेषण क्षमता, र बौद्धिक चेतनाको अभिवृद्धि गर्नका लागि पनि आवश्यक छ। यो संस्कृतिले समाजमा आलोचनात्मक सोच, नविन चिन्तन र आत्मनिर्भरताको विकास गराउँदछ । उन्नत पठन संस्कृतिले मात्र राष्ट्रको भविष्य उज्ज्वल बनाउन सक्दछ । विद्यालयहरू शिक्षा र ज्ञानको केन्द्र हुनुपर्छ, जहाँ विद्यार्थीरूले केवल परीक्षा पास गर्नकोलागि पाठ्यपुस्तकहरू नपढून्, विचार र सिर्जनात्मक सोचका लागि पुस्तकहरूमा डुबुल्की मार्न सकून् तर, के नेपालको विद्यालयमा पठन संस्कृतिको जग त्यस्तो बलियो छ ? छैन् । विद्यालयमा पठन संस्कृतिको अवस्था वर्तमानमा अत्यन्त चिन्ताजनक छ । यस लेखमा, विद्यालयमा पठन संस्कृतिको वर्तमान अवस्था, सामना गरिएका चुनौतीहरू र सुधारका उपायहरूको चर्चा गरिएकोेछ ।
पठन संस्कृतिको वर्तमान अवस्था
नेपालका विद्यालयहरूमा पठन संस्कृतिको अवस्था अत्यन्तै चिन्ताजनक छ । सरकारी विद्यालयहरूमा पुस्तकालयको अभाव, न्यूनतम अध्ययन सामग्री र शिक्षकहरूको पारम्परिक शिक्षण विधि पठन संस्कृतिको मुख्य अवरोध बनिरहेका छन् । नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरूमा यी समस्याहरू अझ गम्भीर देखिन्छन् । त्यस्तै, विद्यार्थीहरू प्रायः पाठ्यपुस्तकमा सीमित हुन्छन् र सिर्जनात्मक वा अतिरिक्त अध्ययनमा ध्यान दिन सक्दैनन् । एउटा तथ्याङ्क भन्छ नेपालका सामुदायिक विद्यालयहरूमा लगभग ६० प्रतिशत विद्यालयहरूमा पुस्तकालय छैन् । साथै, विद्यार्थीहरूको सिकाइ दर पनि चिन्ताजनक छ । कक्षा ८ का विद्यार्थीहरूको सिकाइ दर नेपालीमा ५९ प्रतिशत, अङ्ग्रेजीमा ५२ प्रतिशत , गणितमा ३२ प्रतिशत र विज्ञानमा ३८ प्रतिशत मात्रै रहेको छ । यसले पठन संस्कृतिको अभाव र शिक्षण विधिमा कमजोरीलाई उजागर गर्छ । यति मात्रै होइन, पठन संस्कृतिमा असमानता पनि स्पष्ट देखिन्छ। निजी विद्यालयहरूमा विद्यार्थीहरूको संख्या बढ्दै गएको छ भने सामुदायिक विद्यालयहरूमा घट्दै गएको छ। यसले पठन संस्कृतिमा असमानताल्याएको छ र यसका कारण शिक्षा प्रणालीमा गम्भीर समस्याहरू देखिएका छन् ।
- पुस्तकालयहरूको अवस्थाः
अझै नेपालमा ६० प्रतिशत सामुदायिक विद्यालयहरूमा पुस्तकालयको अभाव छ । नेपाल शिक्षा विभागद्वारा प्रकाशित एक रिपोर्ट अनुसार, सन् २०२३ मा ६० प्रतिशत सामुदायिक विद्यालयहरूमा कुनै पनि पुस्तकालय सुविधा उपलब्ध छैन । यसले विद्यार्थीहरूलाई सिर्जनात्मक र स्वतन्त्र अध्ययनमा ठूलो अवरोध पुर्याउँछ । निजी विद्यालयहरूमा पुस्तकालय र अन्य अध्ययन स्रोतहरूको उपलब्धता सापेक्ष रूपमा बढी छ, जसले पठन संस्कृतिको प्रोत्साहनमा मद्दत पुर्याउँछ। - शिक्षक र शिक्षण विधिहरूः
नेपाल शिक्षक महासंघको एक अध्ययनले भन्छ, ५२ प्रतिशत शिक्षकहरूले सिर्जनात्मक र व्यावहारिक शिक्षण विधिहरूको प्रयोग गर्दैनन् । यसको अर्थ, शिक्षकहरूले प्रायः परम्परागत शिक्षण विधि अपनाउने गरेका छन्, जसले पठन संस्कृतिको विकासमा सकारात्मक प्रभाव नपार्ने सम्भावना बढाउँछ। यससँगै, शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार, ६५ प्रतिशत विद्यार्थीहरू पुस्तकालय पुग्दैनन्, रट्टामारमा रन्थनिएका छन् । परीक्षा र पाठ्यपुस्तकमा मात्रै सीमित रहेका छन्, जसले विद्यार्थीहरूको पठन संस्कृतिमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ। - अभिभावकको भूमिकाः
अभिभावकहरूको सक्रियता पठन संस्कृतिमा महत्वपूर्ण भूमिका खेल्दछ । तथापि, नेपाल बाल अधिकार संगठनको तथ्याङ्क भन्छ, ७५ प्रतिशत परिवारहरू आफ्ना बच्चाहरूलाई घरमा पुस्तक पढ्न प्रोत्साहित गरिदैन् । यस कारण, घरको वातावरण पठन संस्कृतिका लागि अनुकूल हुँदैन र यसले विद्यार्थीको अध्ययनमा नकारात्मक प्रभाव पार्दछ। - सामाजिक–आर्थिक असमानताः
नेपालका विभिन्न क्षेत्र र समुदायहरूमा पठन संस्कृतिमा ठूलो असमानता रहेको देखिन्छ। नेपाल सरकारको २०२३ को रिपोर्टमा उल्लेख भएनुसार मधेस प्रदेशमा बालबालिकाको विद्यालयमा भर्ना दर ५४.६५ मात्र छ, जबकि गण्डकी र बाग्मती प्रदेशमा यो दर ८६ प्रतिशत छ। यो असमानता समाजमा रहेका सामाजिक र आर्थिक भेदभावलाई संकेत गर्दछ र पठन संस्कृतिमा असमानता ल्याउने प्रमुख कारण हो। - शैक्षिक संसाधन र पहुँचः
नेपालका विद्यालयहरूमा शैक्षिक स्रोतहरूको पहुँचमा ठूलो भिन्नता छ। नेपाल शिक्षा परिषदद्वारा गरिएका एक अध्ययनमा ५९ प्रतिशत सामुदायिक विद्यालयहरूमा इन्टरनेटको पहुँच छैन, जसले डिजिटल शिक्षण सामग्री र अनलाइन स्रोतहरूको प्रयोगमा ठूलो चुनौती उत्पन्न गर्छ। इन्टरनेटको पहुँच पुगेका विद्यालयहरूमा डिजिटल शिक्षण सामग्री र अनलाइन स्रोतहरूको पहुँच समुचित प्रयोग भएको छ जसले पठन संस्कृतिको विकासमा केही सकारात्मक प्रभाव पार्न सक्दछ । साथै निजी विद्यालयहरूमा ८५ प्रतिशत विद्यालयहरूमा इन्टरनेट र अन्य डिजिटल स्रोतहरूको पहुँच पुगेको देखिन्छ ।
♥पठन संस्कृति भनेको किताबको संख्याले होइन, विद्यार्थीको जिज्ञासा, शिक्षकको प्रेरणा, र समाजको चेतनाले नापिन्छ। अब समय आइसक्यो–यसलाई परम्परागत शिक्षाको कैदबाट मुक्त गरी ज्ञानको क्रान्तिमा बदल्ने ! यदि आज ठोस कदम चालिएन भने, भोलि ज्ञानको उज्यालो निभ्नेछ। त्यसैले, यो सुधारको होइन, चेतनाको क्रान्तिको समय हो ! ♥
पठन संस्कृतिका चुनौतीहरू
नेपालमा पठन संस्कृतिको विकासमा देखिएका मुख्य चुनौतीहरू निम्नलिखित छन् :
- स्रोतसाधनको अभाव
नेपालका अधिकांश सामुदायिक विद्यालयहरूमा पुस्तकालय र अतिरिक्त अध्ययन सामग्रीको अभाव छ। ६० प्रतिशत विद्यालयहरूमा पुस्तकालय छैन, जसका कारण विद्यार्थीहरूको पठन संस्कृतिमा महत्वपूर्ण कमी आइरहेको छ। पुस्तकालयको अभावले विद्यार्थीलाई सिर्जनात्मक सोच र स्वतन्त्र अध्ययनमा प्रेरणा दिनबाट रोक्दछ। - शिक्षकहरूको पारम्परिक दृष्टिकोण
पठन संस्कृतिको विकासमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण छ, तर नेपालका धेरै शिक्षकहरूले पुराना र पारम्परिक शिक्षण विधिहरूलाई मात्र प्राथमिकता दिइरहेका छन् ५२ प्रतिशत शिक्षकहरूले सिर्जनात्मक र व्यावहारिक शिक्षण विधि अपनाउने गर्दैनन् । यसका कारण विद्यार्थीहरूको अध्ययनमा चासो र प्रेरणा घट्दै गएको छ। - अभिभावक र समाजको असहयोगः
नेपालका धेरै परिवारहरूमा घरमा पुस्तक पढ्ने वातावरण छैन। ७५ प्रतिशत परिवारले आफ्ना बच्चालाई पुस्तक पढ्न प्रोत्साहित गर्दैनन् । घरको वातावरणमा अध्ययनको महत्व कम भएको कारणले विद्यार्थीहरूमा पढाइप्रति रुचि घट्दै छ। - सरकारी नीतिहरू र बजेटको कमी :
सरकारका नीतिहरू र शिक्षा क्षेत्रमा हुने बजेट वितरणको कमी पनि पठन संस्कृतिको प्रमुख चुनौती हो। पठन संस्कृतिको प्रवर्धनका लागि शिक्षा बजेटको केवल ५–१० प्रतिशत मात्र खर्च हुन्छ। यसले पुस्तकालयको सुधार र अध्ययन सामग्रीको आपूर्तिमा रुकावट ल्याएकोछ।
समाधानका उपायहरू
पठन संस्कृतिको सुधारकालागि समग्रमा तीनवटा क्षेत्रहरूमा सुधार आवश्यक छ ः स्रोतसाधन, शिक्षण विधि र समाजको सक्रिय सहभागिता । यसको लागि केही सम्भावित समाधानहरू निम्नलिखित छन् ः
- पुस्तकालय र अध्ययन सामग्रीको सुधारः
नेपालका विद्यालयहरूमा पुस्तकालयहरूको संख्या वृद्धि र थप पुस्तकहरूको आपूर्ति आवश्यक छ। पुस्तकालयले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच र नयाँ ज्ञान खोज्ने उत्साह दिन्छ। सरकारी र निजी क्षेत्रको समन्वयमा पुस्तकालयहरूको सुधार र स्थापना गर्नुपर्छ। - डिजिटल शिक्षा र ई–बुक्सको प्रयोगः
ग्रामीण विद्यालयहरूमा इन्टरनेटको पहुँचको अभावले समस्या बढाउँछ। त्यसैले, डिजिटल शिक्षण सामग्री र ई–बुक्सको प्रयोगले पठन संस्कृतिको स्तरलाई एक नयाँ दिशा दिन सक्छ। यसका लागि सरकार र निजी क्षेत्रको सहयोग अनिवार्य छ। - शिक्षकहरूको प्रशिक्षण र व्यावसायिक विकासः
शिक्षकहरूले सिर्जनात्मक र व्यावहारिक शिक्षण विधिहरू अपनाउनुपर्ने आवश्यकता छ। शिक्षकहरूको निरन्तर प्रशिक्षण र पठन संस्कृतिमा सकारात्मक दृष्टिकोण सिर्जना गर्न आवश्यक छ। - अभिभावक र समाजको सक्रिय सहभागिताः
अभिभावकको भूमिका पठन संस्कृतिको विकासमा महत्वपूर्ण छ। यसका लागि, अभिभावकहरूको चेतना र सघन सहभागिता बढाउनुपर्ने आवश्यकता छ। घरको वातावरणमा पुस्तक पढ्न प्रोत्साहन दिने र विद्यार्थीलाई अध्ययनप्रति रुचि बढाउने उपायहरू लागू गर्नुपर्छ।
निष्कर्ष :
नेपालका विद्यालयहरूमा पठन संस्कृतिको अवस्था अझै कमजोर रहेको छ। स्रोतसाधनको अभाव, पारम्परिक शिक्षण विधिहरू, अभिभावक र समाजको असहयोग र सरकारी नीतिहरूका कारण पठन संस्कृतिको विकासमा गम्भीर समस्याहरू आइरहेका छन् । यी चुनौतीहरूको समाधानका लागि सरकारी, सामुदायिक र निजी क्षेत्रको समन्वय आवश्यक छ। पठन संस्कृतिको सुधार भनेको केवल विद्यालयका पठन पाठनलाई मात्र समेट्ने कुरा होइन, यो हाम्रो समाजको बौद्धिक र नैतिक संरचनामा एक गहिरो परिवर्तनको सुरुवात हो। यो हाम्रो बौद्धिक भविष्यको सवाल हो। जब पढाइ परीक्षा पास गर्न मात्र सीमित रहन्छ, जब विद्यालयहरू पाठ्यपुस्तक घोट्ने कारखानामा परिणत हुन्छन्न्, तब सिर्जनशीलता, नवविचार र आलोचनात्मक सोच खतरामा पर्छ। पठन संस्कृति पुनर्जागृत गर्न विद्यालयलाई ज्ञानको केन्द्र, शिक्षकलाई उत्प्रेरक, र अभिभावकलाई मार्गदर्शक बनाउनुपर्छ। पुस्तकालय सजावट होइन, आवश्यकताका रूपमा विकास हुनुपर्छ। शिक्षा नीति बजेटका कागजी प्रतिबद्धतामा सीमित नभई हाम्रो भविष्य निर्माण गर्ने साधन बन्नुपर्छ। पठन संस्कृति भनेको किताबको संख्याले होइन, विद्यार्थीको जिज्ञासा, शिक्षकको प्रेरणा, र समाजको चेतनाले नापिन्छ। अब समय आइसक्यो–यसलाई परम्परागत शिक्षाको कैदबाट मुक्त गरी ज्ञानको क्रान्तिमा बदल्ने ! यदि आज ठोस कदम चालिएन भने, भोलि ज्ञानको उज्यालो निभ्नेछ। त्यसैले, यो सुधारको होइन, चेतनाको क्रान्तिको समय हो ! यदि हामीले अझैपनि पठन संस्कृति सुधार्ने उपायहरु अपनाएनौँ भने नेपालमा बौद्धिक दरिद्रदाको भविष्य कस्तो होला सोच्नुपर्ने बेला भएन र ?
(लेखक तथा पत्रकार अधिकारी सामुदायिक विद्यालयका सामाजिक शिक्षक समेत हुन्)