नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम – Sarangi News

अनमोल कंडेल 

इतिहासको अध्ययनले बारम्बार देखाएको छ कि – जब जब पृथ्वीमा कुनै सभ्यता यति विकसित हुन्छ कि त्यहाँका मानिसहरूले भाषा, संस्कृति र दर्शनको रूपरेखा तयार गर्न थाल्छन् – तब तब उनीहरूले पाँच ओटा तत्वलाई पूजा गर्न थालेको पाइन्छ । पूर्वीय सभ्यतामा पञ्चतत्वलाई भौतिकताको आधार मानिन्छ र मनुष्यको मात्र होइन, सम्पूर्ण ब्रह्माण्डको देह नै आकाश, वायु, अग्नि, जल र पृथ्वीबाट बनेको हो भनिन्छ। पश्चिमतिर पनि सभ्यता उभिँदै गर्दा सुकरातभन्दा कैयौँ पहिलेका दार्शनिकहरूले ब्रह्माण्डको उत्पत्तिबारे चिन्तन गर्दा यिनै तत्वमा आफ्ना उत्तर खोजेको पाइन्छ। जस्तै थेल्सले जललाई चराचर जगतको मूल माने, हेराक्लिटसले अग्नितत्व र यसको निरन्तर गतिमान लयलाई अस्तित्वको मूल ठाने। यस ऐतिहासिक पृष्ठभूमिमा कवि मनप्रसाद सुब्बाको कृति “पञ्चतत्त्वको पालाम” पाठकको चेतनालाई रुपान्तरण गरिदिन सक्ने ल्याकत राख्ने कृति हो भन्ने परिकल्पनालाई म यहाँ निम्नलिखित तर्कहरूले स्पष्ट गर्न चाहन्छु।

पञ्चतत्त्वको पालाम एउटा दार्शनिक गर्भ बोकेको, काव्यसमुद्रमा डुबेका कविको, महत्वाकांक्षी कृति हो। पाँच तत्वलाई केन्द्रमा राखेर कविता लेख्नु साधारण खेल होइन। यो यात्रा जोखिमपूर्ण छ, किनकि पञ्चतत्व नाम उच्चारण गर्नासाथ शताब्दीऔँदेखि अघि सारिएका सूत्र पाठकीय मनमा उठेर आउँछन्। यिनै पहिल्यैदेखि भारित प्रतीकहरूको बीचमा उभिँएर नयाँ कुरा भन्न सक्नु – कविको इमानदारीता, दक्षता र बौद्धिक निष्ठाको अग्निपरीक्षा हो। तर दशकौँसम्म नेपाली साहित्य विधामा कलम चलाइरहेका यी आदरणीय कविले यस परीक्षाबाट सहजता र गरिमासाथ पार पाएका छन्। कवितामा कुनै पनि ठाउँमा जबर्जस्तीपनको छाया देखिँदैन। कहिले उनी मान्छे बन्न छोडेर नै आफू लेखिरहेकै तत्वमा रूपान्तरित हुन्छन्। कुनै बेला वायुको गति भएर सहरभरि भौँतारिन्छन्, कुनै बेला आकाशको नीलो शून्य भएर मौनतातिर फैलिन्छन्, कहिले अग्निको ज्वाला बनेर अस्तित्वको गहिरो अन्धकार उजिल्याउँछन्, त कहिले नदीको बहावसँगै डुंगा बनेर सदियौ जीवनका छालसँग खेलिरहन्छन – उनी भूमिको गर्भबाट अस्तित्वमा आउने र अन्ततः त्यही भूमिकै गर्भमा मिसिँदै जाने मान्छेको जीवनचक्रलाई पञ्चतत्वको पिंजरामा भित्र र बाहिर गरिरहने सक्रिय र स्पन्दित चैतन्यको रुपमा प्रस्तुत गर्छन र उनको प्रस्तुतिमा एउटा तिख्खर र ओजपूर्ण काव्यिक छनक पाइन्छ, जुन परिपक्व रुखमा पाकेर फलेको फलझैँ पाठकको हृदयमा खस्छ।

यस पुस्तकले मिथक, दर्शन र आधुनिक विज्ञानबीच अद्भुत पुल बनाएको छ। मनोविज्ञानको भाषा बोल्दा, मानवको अवचेतन मन सामूहिक अवचेतनसँग जोडिएको हुन्छ। व्यक्तिगत अवचेतन सामूहिक अवचेतनको अंश हो भन्ने मनोविज्ञानको गहिरो बुझाइलाई अनेकौँ कवि, वैज्ञानिक र क्लिनिकल मनोवैज्ञानिकहरूले स्वीकार मात्र गरेका छैनन्, यसै रूपरेखामा उभिएर उपचार पद्धतिहरू पनि विकसित हुँदै आएका छन्। अझ मिथकको गहिरो अध्ययन गर्ने शोधकर्ताहरू, जस्तै जोसेफ क्याम्पबेलले, हरेक सभ्यता र समाजमा विकसित भएका मिथकहरूमा सामूहिक प्रतिरूप नै भिन्न भिन्न परिप्रेक्ष्यमा प्रकट भएका हुन् भन्ने मतलाई उदाहरणसहित आफ्ना पुस्तकहरूमा प्रस्ट्याएका छन्। कवि मनप्रसाद सुब्बाका कविता यिनै सामूहिक प्रतिरूपले व्यक्तिगत चेतनामा रोपिदिएका बीउहरू हुन्।

मलाइ लाग्छ कविताको भगवान् स्वयम् कवि होइन, कवि त बस एउटा माध्यम मात्र हुन्। कविले “मैले सचेत मनले लेखेको हुँ भनेर कविहरुले भन्लान”, तर वास्तवमा सृजनाहरु प्राय: अवचेतनबाट जन्मिन्छन । रहमानले ‘तु ही रे’ को धुन सपनामा सुनेझैँ र आइन्स्टाइनले “समय र अन्तरिक्षका रहस्यहरू” मनको गहिराइमा रचेझैँ, उत्कृष्ट रचनाहरू प्रायः अवचेतनले चेतनमा ल्याएर राखिदिएका हुन्छन्। चेतन मन भने अवचेतनको सानो सतह मात्र हो, जहाँ प्रतीक, रूप र छविहरूको भाषामा अवचेतनले संवाद गर्छ। सपना त्यही संवादको प्रतीकात्मक स्वरूप हो। त्यसैले यो पुस्तक केवल कविको निजी अभिव्यक्ति होइन, मानव सभ्यताको गहिरो अवचेतनसँगको संवाद हो। सामूहिक अचेतनबाट प्राप्त भएका प्रतिरूपहरूको प्रतीकात्मक र स्वप्नवत् भासालाई कविले आफ्नो सचेत मनले साहित्यिक रूपरेखा र प्रारूप दिएका हुन् जस्तो लाग्छ। सामूहिक चेतनामा प्रतिरूपहरूले मैनको साचो जस्तै काम गर्छन् र मानिसहरूको विचार, धर्म र मिथकहरूलाई एउटै ढाँचामा राखिदिन्छन्, यद्यपि त्यो सभ्यताको संस्कृतिले ती ढाँचाहरूमा केही मौलिक फरक ल्याइदिने गर्दछ। जस्तो कि आमा र बाबुबाट उही जोडी क्रोमोसोमहरू सन्तानमा सर्छन्, तर प्रत्येक सन्तान हुर्किँदै जाँदा फरक फरक बन्दै जान्छन्। यही सामूहिक चेतना (जसको एउटा व्यक्तिगत हिस्सा हाम्रो व्यक्तिगत चेतना हो) – लाइ नै दर्शनमा ‘लोगोस’ मनोविग्यानमा ‘साईकि’ र धार्मिक मिथकहरुमा “ब्रह्म”, “अल्लाह” वा “यावे” जस्ता प्रतीकहरूले जनाइने गरिन्छ । यसर्थ कवितामा कविको मात्र हक नहुने रहेछ। व्यक्तिगत अवचेतन सामूहिक अवचेतनको अंश भएकाले पाठक पनि अप्रत्यक्ष रूपमा कविताको सह लेखनमा सहभागी पात्र हो।

आखिर, हामी संसारलाई प्रत्यक्ष होइन, मनको पर्दाबाट हेर्छौं, जसरी कान्टले भने, “हामी संसारलाई जस्तो छ त्यस्तो होइन, जस्तो देख्छौं त्यस्तो मात्र बुझ्छौं।” वास्तविक संसार कस्तो छ (दर्शनमा जसलाई अन्टोलोजी अन्तर्गत अध्ययन गरिन्छ) यो हामीले बुझ्न सक्दैनौँ, र जुन संसार हामीले बुझेका छौँ त्यो संसार हाम्रो मन र इन्द्रियहरूको सीमाले निर्धारण गरेको बिम्ब हो भनेर उनले गरेको तर्कले कैयौँ दार्शनिक र वैज्ञानिकलाई समेत प्रभावित पारेको छ। नुमिना (वास्तविक संसार) उनले देख्न सकिँदैन भन्छन्, र जे देखिन्छ त्यसलाई उनले फेनोमेना भनेर नामाकरण गरेका छन्। यही कुरा कवि मनप्रसादको कविता ‘मेरो आकाश’ मा झल्किन्छ, जहाँ बाल्यकालको सीमित आँखाले च्यापेको आकाश कहिल्यै आफ्ना सीमाभन्दा पर पुग्न नसकेको अनुभूति काव्यिक नदीमा बगिरहेको अनुभव हुन्छ।त्यसैले होला यी कविताहरू पढ्दा कतैकतै पाठक पनि कविताको सह लेखक हो भन्ने अनुभूति हुन्छ। किनकि हरेक बिम्ब आफूभित्रको प्रतिरूपसँग भेटेर मात्र अर्थपूर्ण हुन्छ। यही कारण पञ्चतत्त्वको पालाम पढ्दा कहिले मानिसलाई आफ्नै बाल्यकाल, कहिले आफ्नै सपना, कहिले आफ्नै कुरुप मौनता त कतै सभ्यताको विनाशको लागि आफूले साधेका चुप्पीहरू पत्तो पाउँछ। सायद फेनोमेनल संसारमा हामीहरू सबै व्यक्तिगत चेतनाका रूपमा भिन्न भिन्न भए पनि नुमिनल संसारमा हामीबीच एउटा एकत्व छ। बर्नाडो क्यास्ट्रुप जस्ता आजका दार्शनिकले मनोविज्ञान र दर्शनबीचको सम्बन्धलाई वैज्ञानिक तथ्यहरूको आधारमा बुझेर आजको युगअनुसार व्याख्या गरेको पाइन्छ (पुस्तक सन्दर्भ: एनालिटिकल आइडियलिजम)।मनोविज्ञानको साइकि नै ग्रिकहरूले भनेको लोगोस, सनातनीहरूले भनेको रित, र दार्शनिकहरूले भनेको नुमिना हो भनेर भनेका छन्।

सायद त्यो निलो आकाश (फेनोमेना) पनि हामीले देखेजस्तो छैन, र मान्छेको मनका सीमाहरू नाघ्न सक्ने कुनै चेतनशील प्राणी हुने हो भने उसले सायद आफैँलाई सम्पूर्ण अस्तित्वसँग अभेद्य अवस्थामै प्राप्त गर्नेछ। सायद पूर्वमा ऋषिहरूले ‘नुमिना नै फेनोमेना हो’ लाई ‘अहम् ब्रह्मास्मि’ भनेका होलान्। पश्चिममा स्पिनोजाले प्रकृतिनै ब्रह्म हो भनेझैँ। हामीले संसारमा बुझ्न सक्ने एउटै कुरा छ, त्यो हो हामी आफैं – हामीसँग उपलब्ध भएको एक मात्र नुमिना, जसलाई हामीले मनको सहायताले बुझ्न पर्दैन, अथवा जो स्वयं प्रकाशित छ (सन्दर्भ : द वर्ल्ड एज विल एन्ड रि–प्रेजेन्टेशन, दार्शनिक : सोपेनहावर) । बाँकी सबै कुरा हाम्रो आफ्नै सीमाले बनाएका तस्बिरहरू हुन्। सायद आकाशको सीमा हाम्रो दृष्टिभन्दा धेरै टाढा पुगेको भए, हाम्रो प्रजाति उहिल्यै अन्धो भइसक्थ्यो वा प्रकृतिको कुनै प्रकोपको सिकार बन्थ्यो। तर सौभाग्यवश, त्यो आकाश हाम्रो सीमाभन्दा पर पुगेन, र त्यसैले हामीले पनि त्यसैको काँधमा अल्झिएको जूनलाई छुन खोज्ने सपना देख्यौं, र कुनै न कुनै रूपमा त्यो सपना पुरा पनि गर्यौं।

तर कविताको अन्त्यमा कवि भन्छन्, “तर कोही छ, जसले यो आकाशलाई टुक्राटुक्रा पारेर डिपार्टमेन्ट स्टोरमा पोको पार्ने थैला बनाउन खोजिरहेको छ।” सोच्नुस्, जब तपाईं बालक हुनुहुन्थ्यो, तपाईंका लागि कुनै सीमाहरू थिएनन्। तर हुर्कँदै जाँदा तपाईंको अन्तर आकाश, जो सम्पूर्ण मानव चेतनाको विस्तार हो, नाम, जात, धर्म, देशजस्ता रेखाहरूले क्रमशः साँघुरो पार्दै लग्यो। र अन्ततः, जब तपाईं ठूला हुनुभयो, तपाईं पूँजीवादी प्रवृत्तिको सिकार बन्नुभयो, जसले मानिसको जीवनलाई खुला आकाशबाट निकालेर सानो कोठाभित्र थुनेर राखिदिन्छ। अब प्रश्न उठ्छ, आखिर को हो त्यो, जसले हाम्रो अनन्ततालाई टुक्राटुक्रा पारेर डिपार्टमेन्ट स्टोरमा सजाइरहेको छ? त्यो मानिस जो नै होस्, उसलाई त्यसो गर्न प्रेरणा दिने सायद हाम्रै सामूहिक अवचेतन हो। जसरी हिटलरले जर्मनीमा यहूदीहरू विरुद्ध अत्याचार गर्दा लाखौं जर्मनहरू अवचेतन तहबाट नै त्यसलाई समर्थन गरिरहेका थिए, त्यसरी नै हाम्रा अवचेतन तृष्णाहरू नै हुन् जसले अनन्त आकाश लिएर जन्मिएको बालकलाई चार वटा भित्ताभित्र कुहिएको अस्तित्वमा रूपान्तरण गरिदिन्छन्।

यस कृतिको पहिलो कविता तानमा बुनेको आकाश आफैँमा एउटा अद्वितीय उपलब्धि हो। यसले पाठकको मनभित्र निदाइरहेकै सामूहिक अवचेतनका प्रतिरूपहरूलाई जागृत गर्छ र निजी भावनाको अन्तरिक्षमा अनन्तताको सयर गराउँछ। कवि यसै आकाशलाई केवल प्रकृतिको एउटा दृश्य वस्तुका रूपमा हेर्दैनन्। उनी आकाशलाई निराकार गुरुका रूपमा देख्छन् – जसरी वेदान्तले आकाशलाई परम चेतनाको प्रतीक मानेको छ, र भन्छन्, बिना कुनै उद्देश्य सबै सहनु नै आकाश हो। उद्देश्य र उपलब्धिका नशामा बाँचिरहेको युगलाई यो वाक्यले गहिरो प्रश्न सोध्छ। हामीले उपयोग र लाभ बाहेक अरू कुनै मूल्य मापन गर्न बिर्सिसकेका छौँ, यता कविले भने निरुपयोगी जस्तो देखिने मौन सहनशीलतालाई आकाशको धर्म बनाइदिएका छन्। त्यतिबेला यो आकाश केवल भौतिक नभई नैतिक अस्तित्व बनेर अगाडि आउँछ। जब जटायुको पखेटा काटेर उसलाई जमिनमा फ्याँकियो, कविलाई लाग्छ, म (आकाश) नै खस्दैछु टुक्रिएर। यहाँ आकाश र कविको पहिचान एक भइसकेको छ। आकाशले इतिहासका सबै युद्ध, अन्याय, र अत्याचार सहेको छ। आकाशका लागि यी सबै केवल दृश्य होइनन्, घाउ हुन्। तर बदला लिन तत्पर मान्छेभन्दा भिन्न, आकाश सबै कुरा मौन भएर सहिरहन्छ। समुद्रजस्तै उसको निलो खालिपनमा सबै चोटहरू बिस्तारै धमिलिँदै जान्छन् र अन्ततः अनस्तित्वमा विलीन हुन्छन्।

संसारलाई बुझ्ने दुई मूल तरिका छन्। पहिलो, गुणहरूका आधारमा; जस्तै रङ, स्वाद, नरमपना, ताप, सुगन्ध आदि। दोस्रो, परिणामका आधारमा; जस्तै किलोग्राम तौल, इन्च उचाइ, सेल्सियस तापक्रम। जब हामी संसारलाई देख्छौं, तब हामी त्यसलाई गुणहरूको माध्यमबाट नै अनुभव गर्छौं। उदाहरणका लागि, मेरो हातमा रहेको झोला सेतो रङको छ र भारी छ। ध्यान दिनुहोस्, म त्यस झोलालाई “यति तरङ्ग लम्बाइको परावर्तन हुने पदार्थ” वा “यति किलोग्राम द्रव्य” भनेर अनुभूति गरिरहेको छैन। म त्यसलाई इन्द्रियहरूको संयोजनबाट उत्पन्न भएका गुणहरूका माध्यमले नै बुझिरहेको छु। तर आधुनिक विज्ञान गुणहरूलाई भ्रम ठान्छ र परिणामलाई सत्य। विज्ञानले कवि मनप्रसाद सुव्बाको कवितामा रहेको सुगन्ध, रङ, संगीत, लय वा भावनाको तरलता मापन गर्न सक्दैन, त्यसैले विज्ञानका लागि कविता केवल शब्दहरूको संयोजन हो, कुनै ठोस परिणाम नभएको चेतनाको खेल। म जस्तो पाठकका लागि ती कविता सत्यका अभिव्यक्ति हुन्, तर विज्ञानका लागि तिनको अस्तित्व मापनयोग्य नभएकाले वास्तविक ठानिँदैन। यो विज्ञानको गल्ती होइन; यो विज्ञानबाट जन्मिएको दर्शन, भौतिकवाद, को परिणाम हो। भौतिकवादले कवि मनप्रसादलाई पनि केवल परमाणुहरूको संयोजनका रूपमा हेर्छ, र उनको अवचेतनमा बग्ने कवितात्मक ऊर्जा न्युरोनहरूबीच बग्ने साधारण विद्युत तरङ्गहरूको विनिमय मात्र देख्छ। यसरी भौतिकवाद र पूँजीवाद मिलेर मानव समाजलाई त्यस्तो अवस्थासम्म पुर्‍याउँछन्, जहाँ मानिसको भित्री जीवनको कुनै मूल्य बाँकी रहँदैन। किनकि भौतिकवादी दृष्टिले हेर्दा कविता, संगीत, प्रेम, आत्मा – यी सबै भ्रम मात्र हुन्। सत्य भनेको डलर हो, चार्ज हो, किलोग्राम हो, सेन्टिमिटर हो। जब एक मानिस जन्मदेखि मृत्यु सम्म संसारलाई केवल परिणामका आधारमा हेर्न सिक्छ, गुणका आधारमा होइन, उसको चेतनामा बिस्तारै आत्मा मर्छ। त्यसपछि मानिस मान्छे रहँदैन, ऊ मापनयोग्य वस्तुमा परिणत हुन्छ। सहर त्यही प्रवृत्तिबाट जन्मिएको कुरूप अवस्था हो, जहाँ पसेपछि मानिस रूपैयाँ बन्छ, किलोग्राम बन्छ, सेन्टिमिटर बन्छ, बिघा बन्छ, तोला बन्छ। अनि यही परिवर्तनबाट आधुनिक सभ्यता जन्मिन्छ, जहाँ कविता र संगीतलाई न्युरोनिक गतिविधि, प्रेमलाई रासायनिक प्रतिक्रिया, र आत्मालाई जैविक भ्रम ठानिन्छ।

दार्शनिक हेनरी बर्गसनले भनेका छन् : ज्ञान प्राप्त गर्ने दुई प्रमुख शैलीहरू संसारमा प्रख्यात छन्। एक शैली हो दायाँ मस्तिष्कको, जसमा मानिसले कुनै पनि कुरालाई विभिन्न कोणहरूबाट केलाउँछ र उसको अस्तित्वको भेदन गर्ने प्रयत्न गर्छ। अर्को शैली हो “इन्ट्युइशनको”, जसमा मान्छे विश्लेषण गर्ने होइन, बरु त्यो वस्तु वा कथनको अन्तर्यमा प्रवेश गर्छ। विज्ञानले यसलाई हाम्रो बायाँ मस्तिष्कको कार्य भनेर व्याख्या गर्ने गर्दछ। बर्गसनको यी भनाइहरूमा मस्तिष्कका दुई हेमिस्फियरको कार्यविभाजन मात्र होइन, पूर्वको योग दर्शन र पश्चिमको विश्लेषणात्मक फिलोसफीबीचको सूक्ष्म भेद पनि बुझ्न सकिन्छ। दार्शनिक एवं मिस्टिक ओशोको एउटा अवधारणा सम्झन्छु : तिमीलाई यदि सच्चिकै कुनै फूल मन पर्छ भने तिमीले उसलाई पत्र पत्रमा तोडेर अनुसन्धान गर्दैनौ, र गर्यौ भने पनि तिमीले उसको अणु र परमाणुहरूको संयोजनको विज्ञान बुझ्नेछौ, तर वास्तवमा “फूल हुनु” को अस्तित्वलाई बोध गर्दैनौ। यसर्थ, फूललाई प्रेम गर्ने मान्छेले उसलाई बोटबाट चुडाल्दैन, बरु उसको समग्रतालाई हेर्छ, अनुभव गर्छ।

पञ्चतत्त्वको पालामको अर्को ठूलो शक्ति वायुका कवितामा छ। कविले वायुलाई केवल सासको गतिशीलता होइन, सभ्यताहरूको कथा बोक्ने अदृश्य वाहकको रूपमा देख्छन्। सहरको कट्टुमा सुँघिने वीर्यको गन्ध र मान्छेको ढोङ बोकेर थाकिसकेको वायुलाई उनले कवितामा तीक्ष्ण बिम्बमार्फत प्रकट गर्छन्। वायु एकातिर पूँजीवाद र विलासिताको दुर्गन्ध बोकेको छ, अर्कातिर हरेक विद्रोह र आशाको पहिलो झोक । यही द्वन्द्व कविले लखतरान वायु जस्ता कवितामा यति सुन्दर ढङ्गले समातेका छन् कि अन्तिम पङ्क्तिमा पुग्दा पाठक आफैँले सास फेर्न दुखाइ अनुभव गर्न थाल्छ।अग्निको प्रसङ्गमा कविले केवल आगलागी र विनाशको कथा मात्र बोल्दैनन्। मुक्त महाज्योति जस्तो कवितामा उनी ब्रह्माण्ड जन्मिनु अघि अन्धकारमा थुनिएको प्रकाशको कल्पना गर्छन्। कुनै आकार नभएको, कुनै समय नबगेको, कुनै नक्सा नबनेको एउटा पूर्ण अन्धकारमा साँच्चिकै के थियो भन्ने प्रश्न उनले काव्यको माध्यमबाट ठोक्काइदिन्छन्। त्यस अन्धकारबाट जब पहिलो ज्योति मुक्त हुन्छ, त्यो केवल भौतिक विस्फोट होइन, चेतनाको पहिलो आँखा खुलेको क्षण हो। त्यसैले उनी अन्धकार र उज्यालोको सम्बन्धलाई भौतिकताभन्दा धेरै गहिरो तहबाट हेर्छन्।

समिक्षक : अनमोल कंडेल

सुब्बाका कवितामा आलोचनात्मक दृष्टि अत्यन्त तीक्ष्ण छ, तर यो तीक्ष्णता कुनै प्रचारजन्य नारा होइन। उनी आधुनिक विकासको चरम बिन्दु पार गरेर विनाशको अवरोहमा छट्पटाइरहेको युगलाई कविताको आँखाबाट हेर्छन्। वायुले विष बोकेको छ, जलले विषाद, आकाशले धुवाँ र रगत, पृथ्वीले असंख्य चिहानको भार। कवितामा कहिले वायु विद्रोही भएर कोलम्बसको सालिक ढाल्न निस्कन्छ, कहिले अग्नि पुरातन मिथकको बदनाम कथा बटुल्दै आधुनिक मिथकको गहिरो आलोचना गर्छ, कहिले पानीले शान्त देखिने समुद्रभित्र लुकेको सामूहिक अपराधको कथा सुनाउँछ। यसैले यो कृति पूर्ण रूपमा समकालीन दार्शनिक काव्य हो। मनप्रसाद सुब्बाको चेतना दार्जिलिङको पहाडबाट फूटेको भए पनि यो पुस्तकमा बग्ने विचारको क्षितिज किर्तीपुर वा कलकत्तामा रोकिन्न। यसमा ब्रह्माण्ड विज्ञान, युरोपेली दर्शन, पूर्वीय आध्यात्म, आदिवासी मुन्धुम, पूँजीवादको आलोचना, पर्यावरणीय संकट, युद्धको स्मृति, सबैको आवाज एकै ठाउँ मिसिन्छ।र पढिसकेपछि लोकल फ्लेभर बोकेको यो ग्लोबल कृति हो भन्ने मान्यतामा म पुगेको छु।

आकार, प्रकार, रूप, रङ जस्ता मिहिन र सूक्ष्म बिम्बहरूसँग खेल्न सक्ने कविलाई सामान्य ठान्नु हाम्रो सबैको भूल हुनेछ। सुब्बा जस्ता कवि त्यस्ता बिम्बहरूलाई केवल सजावटको रूपमा प्रयोग गर्दैनन्, उनी ती बिम्बभित्र निहित गहिरो अनुभवलाई उजागर गर्छन्। अन्धकार र उज्यालोको सम्बन्धलाई उनी हरेक कोणबाट हेर्छन्। कहिले अन्धकारलाई अस्तित्वको गर्भ ठान्छन्, कहिले उज्यालोलाई चेतनाको पहिलो स्पन्दन। उनी प्रतिकात्मक रूपमा जुन गहिराइ पाठकलाई दिन खोज्छन्, त्यो म जस्तो पाठकका लागि साँच्चिकै अमृतमय छ। कविलाई थाहा छ कि यो ब्रह्माण्ड जस्तै मान्छे पनि यही पाँच तत्वले बनेको छ। त्यसैले मान्छे र यी तत्वहरूका सम्बन्ध केलाउनु भनेको जीवनको इतिहास अध्ययन गर्नु जस्तै हो। यही बुझाइले उनका कविताहरूलाई दार्शनिक गहिराइ दिन्छ। संग्रहको एउटा कविता बदनाम आगोको कथा मलाई अत्यन्त मन परेको छ, किनकि यसमा उनले पुरातन मिथकलाई आधुनिक मिथकका समानान्तर उभ्याएका छन्। प्राचीन अग्नि देवताका कथा र आजको विद्युत सभ्यताको ज्वाला एउटै सूत्रमा गाँसिएका देखिन्छन्। बिम्बको अत्यन्त सानो कम्पनलाई पनि सुन्दर भाषामा उतार्ने उनको शैलीले यो कविता जीवन्त बनेको छ। कतै उनी अध्यात्मका पखेटा लिएर आकाशमा उडिरहेका जस्तो लाग्छ, तर धेरैजसो उनी प्रकृतिलाई, प्रकृतिकै रूपमै हेर्न रुचाउँछन्। प्रकृतिको सत्यतालाई उनी सुन्दर बनाउने कोशिश गर्दैनन्, बरु उसको असल स्वरूपलाई जस्तै छ त्यस्तै देखाउँछन्। यसले कविलाई यथार्थवादी मानिसको रूपमा देखाएको छ, तर उनको यथार्थवादमा सायद चेतना, ब्ल्याक होल र स्पेस टाइम जस्ता अहिलेसम्म पनि मूलरूपमा रहस्यकै रूपमा रहेका तथ्यलाई नकार्ने सतही यथार्थवादीहरूको रोग देखिँदैन। बरु उनले रहस्यलाई पनि यथार्थको एउटा अभिन्न हिस्सा मानेको भान हुन्छ, जसमा प्रकृति त्यही रहस्यको यथार्थ हो, लोगोस हो, कस्मिक साइकि हो।

सभ्यताहरुको पुरानो कथामा बाढिको प्रसङ्ग बारम्बार भेटिन्छ। विशेष गरी ब्रोन्ज युगको विनाशपछि पुनः उठिरहेका पश्चिमी सभ्यताबाट जन्मिएका साहित्यमा आदिम बाढिको कथा अत्यन्त प्रचलित छ। पछि विकसित भएका गोस्पेलहरू र बाइबलको पुरानो करारमा नोहाको नौका प्रस्तुत हुन्छ। त्यस्तै ग्रिक मिथकहरूमा पनि ज्युज मान्छेप्रति असन्तुष्ट हुँदा बाढि ल्याएर सभ्यताहरू नै नष्ट गरेको उल्लेख पाइन्छ। हरेक आदिवासी समाजका मिथकीय कथामा पनि बाढिको क्रूरता र अप्रत्याशित शक्ति गहिरो रूपले अंकित रहन्छ। यसका पछाडि एउटा महत्त्वपूर्ण कारण देखिन्छ। सभ्यताहरू प्रायः नदीकिनारमा विकास भएकोले मान्छे नदिको अनपेक्षित व्यवहारसँग चिरपरिचित थियो। त्यसैले पानीलाई मिथकमा राख्दा त्यसलाई मात्र पोषणदायी तत्वको रूपमा होइन, कहिलेकाहीँ विनाशको उत्प्रेरकको रूपमा पनि देखिएको छ। उदाहरणका लागि, भयानक नदीहरूको तटमा सभ्यता उठेका क्षेत्रका देवताहरू पनि क्रूर र रिसाहा देखिन्छन्, जस्तै पश्चिम सेमेटिक सभ्यतामा यावे। यस्तो इतिहास, मिथक र पानीको प्राचीन डरबीच घनिष्ठ सम्बन्ध हुँदाहुँदै पनि कविले “पानिको प्रश्न” शीर्षकको अत्यन्त छोटो कवितामा एक गहिरो प्रश्न उठाउँछन्। पृथ्वीको दुई तिहाइ भाग ओगटेर बसेको पानी, जसले कहिल्यै मान्छेजस्तै विस्तारवादी प्रवृत्ति देखाएको छैन, जसले साम्राज्य बनाएको छैन, जसले शक्तिको राजनीति खेलेको छैन, त्यो पानीलाई किन सभ्यताहरूले मानव सभ्यता नष्ट गर्ने प्रतीकका रूपमा मिथकमा उतारे? यो प्रश्न कविले पाठककै गहिराइमा फ्याँकेर छोडिदिएका छन्। म यस प्रश्नलाई पढ्दा चिनियाँ दर्शन ताओवाद सम्झन्छु। ताओवाद भन्छ, हरेक तत्वको अस्तित्वसँग यिन र याङको द्वैतता अनिवार्य रूपमा गाँसिएको हुन्छ। पानी पनि त्यसैको अपवाद होइन। उसको कोमलता अपूर्व छ, तर त्यही कोमलता हजारौँ वर्षको धैर्यले चट्टान भत्काउन सक्छ।ताओवादले भनेझैँ उनका कवितामा पनि आज मन्द भएको हावा भोलि आधि हुरी बन्न सक्ने चेतना देखिन्छ। स्थूलरूपमा कण कणमा व्याप्त भएको अग्नि, रुद्र रूप लिएर भैरव अवतारमा व्यक्त हुन सक्ने सम्भावना म देख्दछु।

पाँचौँ तत्व भूमि सम्बन्धी लेखिएका सबै कविताले मेरो जरा मात्र सुदृढ बनाएनन्, मेरो पातहरूमा पनि बोधको उज्यालो भरेर जीवनको नयाँ चेतना जगाइदिए। विशेषतः मान्छे माटो गनाऊछ भन्ने कविता पढ्दा म आजको उत्तरआधुनिक पुस्तालाई सम्झेर अचम्मित भएँ। जतिसुकै कृत्रिमता फैलिँदै गयोस्, मानिस हुनुको विवशताबाट हामी टाढा भाग्न सक्दैनौँ। यसै सन्दर्भमा जर्मन दार्शनिक हाईडेगरलाई सम्झिन्छु। दर्शनका अनेक कोणबाट आजित भएर उनले अन्ततः मान्छेको अस्तित्वलाई नै दार्शनिक अनुसन्धानको केन्द्र बनाएका थिए। यहीबाट पश्चिमी बौद्धिक जगतमा अस्तित्ववादको ठूलो लहर जन्मियो, जसले नित्शे, सार्त्र र कामु जस्ता अद्वितीय साहित्यिक दार्शनिकहरू उत्पन्न गर्‍यो। आदरणिय साहित्यकार सुब्बा सरको कविता पढ्दा पनि कतै कतै मैले त्यही अस्तित्वगत प्रश्नहरूको प्रतिध्वनि सुने। आधुनिक मानिस, जसले आफ्नो अर्गानिक स्वरूपप्रति नै घृणा गर्न थालेको छ, जसले अत्तरको वासनालाई सभ्यता ठान्छ र आफ्नै शरीरको गन्धलाई असभ्य ठान्छ, आजको मानिसको जरा सायद भूमिमा गहिरिएर पस्न सकेको छैन। सृष्टिको आधारभूत तत्वहरूसँग सायद उसको सम्बन्ध टुट्दै गएको छ। कविले यिनै बिच्छेदलाई अत्यन्त सरल तर गहिरो प्रतीकमा बाँधेका छन्। उनी भन्छन्, स्पेसमा पुगेका एउटा एस्ट्रोनटको स्पेससुटभित्र पनि उसको माटोको गन्ध अझै टड्कारो भएर बाँचिरहन्छ।

कविले माटोलाई शाब्दिक अर्थमा मात्र होइन, अस्तित्वगत अर्थमा प्रयोग गर्छन्। माटो हुनु भनेको चक्रिय जीवन स्वीकार गर्नु हो। सबै प्राङ्ग्गारिक जीवन माटोमै जन्मिन्छ, माटोमै फर्कन्छ, र पुनः माटोमै रूपान्तरित हुन्छ। यही चक्रको बोध कविले भूमितत्व सम्बन्धी कवितामा अत्यन्त कुशलताको साथ उतारेका छन्। उनका प्रतीकहरूमा माटो केवल धरातल होइन, पुनर्चक्रको ऊर्जा हो, जसले जीवनलाई पुनः जन्माउने शक्ति राख्छ।कविताको एउटा अद्भुत पंक्तिमा उनी लेख्छन्, “फेरि अन्डाबाट बच्चा निस्के जस्तै बिस्तारै नयाँ निस्केको यो धर्तीले उसको नयाँ भैरहनुलाई नवीकरण गरिरहन्छ हरेक बिहान।” भूमिको किसानसँगको सम्बन्धलाई उनले काउकुति लाग्ने शैलीमा लेखेको मिठो कविता सम्झन्छु। भूमि तत्वलाई केन्द्रमा राखेर लेखिएका सबै कविताहरू सरल र गहन भएको मैले पाएको छु। व्यक्तिगत रूपमा ती कविताहरूलाई म फेरि फेरि पढ्न रुचाउनेछु। र सायद पाठकलाई पनि एक पटक पढेर धितो मर्नेछ भन्ने मलाई लाग्दैन।

केही दशकभित्रै मानव जातिले पृथ्वीका असंख्य प्रजातिको साठि प्रतिशतभन्दा बढी नाश गरिसकेको छ। माटोभित्र बाँच्ने जीवहरूका सम्पूर्ण संसारलाई उथलपुथल पारिसकिएको छ। नदीहरू जसलाई कुनै समय हामीले देवता मानेर पूजा गर्थ्यौँ, आज तिनको देह फोहोरले भरिएको छ। वायु तत्वमा मिसिएको धुवाँ र विषाक्त ग्यासको मात्रा कति पुगेको छ भन्ने कुरा हामी सबलाई थाहा छ। तर हामी थाहा हुँदाहुँदै पनि मौन छौँ। यही मौनताका विरुद्ध कविले आवाज उठाएका छन्। उनी पाँच तत्वका पीडामा हाम्रो आफ्नै पीडा छ भनी देखाउँछन्। विरोधाभासलाई उनी यस्तो स्पष्ट भाषामा व्यक्त गर्छन् कि पाठकलाई आफूलाई नै ऐनामा देखेजस्तो अनुभूति हुन्छ। पानीको माग अनि वाटर क्यानेन शीर्षकको कवितामा उनले देखाएका छन् कि कसरी तिर्खाएका मानिस पानी विभागको ढोकासम्म पुगेर पानी माग्दा, त्यही विभागले सशस्त्र फोर्समार्फत उनै मानिसमाथि पानीको तोप हान्छ। यो दृश्य केवल विडम्बना होइन, चेतनाको पतनको प्रमाण हो। त्यसभन्दा गहिरो कुरा त उनी एउटा अर्को कवितामा देखाउँछन्, जसको शीर्षक छ बाथटबको पानी अनि युरेका। यहाँ उनले हाम्रो मानसिक अधोगतिलाई प्रतीकात्मक ढङ्गले चित्रण गर्छन्।मलाई लाग्छ, कविले पाँच तत्वलाई काव्यमा उतार्ने क्षणमा उनी केवल कवि भएर लेख्दैनन्। उनी मान्छे भएर पनि लेख्दैनन्। उनी पाँच तत्वकै प्रतिनिधि भएर लेख्छन्। यही कारण उनका शब्दहरूमा आकाशको नीलोपन, वायुको कम्पन, पानीको तिर्सना, पृथ्वीको धैर्य र अग्निको नृत्य एकैसाथ धड्किन्छ। पञ्चतत्त्वको पालाम पढिसक्दा पाठकलाई थाहा हुन्छ कि प्रकृति बाहिर होइन, भित्र पनि छ। हामीले भत्काएको नदी, हामीले विषाक्त बनाएको वायु, हामीले बलाएको आगो र हामीले खनेर दाग बनाएको पृथ्वी कुनै बाहिरी ठाउँमा होइन, हाम्रो चेतनाको तहमा नै घाउ बनेर बसेका छन्। कविले यो घाउ देखिदिएका छन्। र हामीलाई सोधिदिएका छन्, अब पनि मौन रहने कि तत्वहरूका पीडा सुनेर आफ्नै चेतनालाई बदल्ने।

सङ्ग्रहको क्लाइम्याक्समा पुग्दा कविले हामीलाई बारम्बार सम्झाउँछन् कि समय धेरै बदलिसक्यो। उनी सानै हुँदा देखेका सिमधाप, नदी, पहिलो पुर्खाले हिँडेका पथ र उनी हिँड्ने भूमिको असल रूप आज देखिरहेको वास्तविकताभन्दा भिन्न थियो । र प्रकृतिसँगको आफ्नो सम्बन्धलाई बुझ्न नसकेका हामीहरूले प्रकृतिविरुद्ध द्वन्द छेडेर आज भूमि, खोला, नाला, आकाश, वायु, हिमाल, ग्लेसियर सबै अवयवहरूलाई ध्वस्त बनाउँदै गएको तथ्य कसैसमक्ष लुकेको छैन। हामी मानिस, जो आफ्नो अनुहार फुकालेर होहल्लाको मुखुण्डो लगाएर हिँड्छौँ, हामीले यी तत्वहरूबाट साधुता र समभाव सिक्नुपर्थ्यो। यिनीसँगको हाम्रो सम्बन्धलाई पवित्र मानेर जगेर्ना गर्नुपर्थ्यो। तर विपरीत, हामीले तिनै तत्वहरूमाथि आफ्नो बल र स्वार्थ थोपरेर अनावश्यक दोहन गर्‍यौँ। नदीका किनारबाट अवैज्ञानिक ढङ्गले खोतलिएको गिट्टी, अन्धाधुन्ध फोरिएका पहाड, पेट्रोलियम र उद्योगका धुवाँले भरिएको हावा, नष्ट हुँदै गएको जंगल, र पग्लिँदै गएको हिमाल र ग्लेसियर -यी सबै हामीले तत्वहरूको जीवनसँग गरेको अमानवीय व्यवहारका प्रमाण हुन्। कविले बारम्बार देखाइदिन्छन् कि हामी तत्वहरूको अस्तित्व मात्र तर्साइरहेका छैनौँ, आफ्नै सभ्यतालाई पनि विनाशको भूस्खलनतिर धकेलिरहेका छौँ। र सबैभन्दा ठूलो पीडा त यही हो कि हामी यो क्रूरता आफ्नै अवचेतनमा हुर्किरहेको छ भन्ने कुरामा पनि अनभिज्ञ छौँ। जब यदा कदा कुनै कवि सस्तो भाव बेच्ने कविचेतभन्दा धेरै माथि उठेर, स्वयम् प्रकृतिको स्वर बन्छ र यस्ता कविता लेख्छ, तब पनि हामी ती कविताको मर्म बुझ्न अस्वीकार गर्छौँ।

मनप्रसाद सुब्बाको काव्यकृति पञ्चतत्त्वको पालाम नेपालि साहित्यमा एउटा यस्तो कोशेढुङ्गा हो, जसको प्रासङ्गिकता धेरै युगसम्म उत्तिकै जीवित रहनेछ। कविताहरूमा जति दार्शनिक चेत छ, उति नै पर्यावरण र मानव जीवनप्रतिको जिम्मेवारी बोध पनि लुकेको पाइन्छ। समय बदलिन्छ, सभ्यताहरू उठ्छन्, वैभव र विनाशका चक्र आउँछन्, तर सुब्बाले उठाएका चेतनाका प्रश्नहरू, प्राकृतिक तत्वसँगको मानवताको सम्बन्ध र जीवनको दार्शनिक तहहरू सदा प्राणवान रहनेछ। प्रचलित पुरस्कारभन्दा धेरै माथि उठिसक्नुभएका आदरणीय कविलाई हार्दिक श्रद्धा अर्पण गर्दै, म यो कृतिलाई पाँचमा पाँच ( 5/5) अंक दिन चाहन्छु। प्रकृति, चेतना र सभ्यताको सम्बन्धलाई हृदयका सबै तहमा अनुभव गर्न चाहने प्रत्येक साहित्यिक मनले यो पुस्तक एकपटक अवश्य पढ्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

गीतकार सम्मान आरजुलाई दिइने

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP