काफलवोट । बेनी नगरपालिका–९, बाहुनपधेरास्थित भूमे आधारभूत विद्यालयका संस्थापक अध्यक्ष गगनबहादुर वानियालाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
प्रजातन्त्र पुनःस्थापनापछि २०४७ सालमा स्थापना भएको विद्यालयका संस्थापक अध्यक्षसमेत रहनुभएका वानियालाई शुक्रबार बाजागाजासहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो।

यसै क्रममा वानियाका सुपुत्र तथा विद्यालयको पहिलो ब्याचका विद्यार्थी विशाल बानियाँ र समाजसेवी राजन पाण्डेयले संयुक्त रूपमा करिब ९० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गर्नुभएको विद्यालयले जनाएको छ। विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीलाई ६५ हजार रुपैयाँ बराबरका ट्र्याक–सेट, जुत्ता र मोजा प्रदान गरिएको छ। साथै वालकक्षा व्यवस्थापनका लागि थप २५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष आनन्द रिजाल, सूर्यप्रकाश बानियाँलगायतका वक्ताहरूले विद्यालयको प्रगतिमा समुदायको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमाया बानियाँ कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक निर्मल चोखाल र कार्यक्रमको सञ्चालन शिक्षक रेशम राईले गर्नुभएको थियो ।











