गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान – Sarangi News

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् ।

शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको छ । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ संयोजक तथा प्रेमराज अधिकारी र रेशम गिरी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्य समितिको घोषणा गरेको थियो ।

सोही अवसरमा प्रतिष्ठानले गीतकार सम्मान २०८२ गीतकार आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरेको छ । नगद ५ हजार ५५५ रुपियाँसहित सम्मानपत्र र दोसल्ला रहेको सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, कवि तथा गीतकार रमेश श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियालगायतले विष्टलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सरुभक्तले गीतको जननी गीतकारलाई बिर्सेर कुनै गायक/गायिकाले आफूलाई मात्र सर्वेसर्वा ठान्न नहुने धारणा राखे । गीतकारले पनि मलाई कसैले सम्झेन भनेर कुण्ठा बोकिराख्नु नपर्ने बताउँदै गीतकार आमा भएकाले आमालाई कसैले सम्झे पनि नसम्झे पनि आमा आमा नै हुने सरुभक्तको विचार थियो । आरजु जस्तो एक प्रतिभाशाली गीतकारलाई सम्मान गर्नु संस्था नै सम्मानित हुनु भएको बताउँदै उनले गीति साहित्यको ऐतिहासिक अभिलेख प्रकाशन गर्न प्रतिष्ठानलाई सुझाव दिए ।

सम्मानित गीतकार विष्टले आफू गायक हुने धुनमा लागिरहँदा त्यसमा आएको अवरोधले गीतकारका रूपमा केन्द्रित हुने मौका पाएको बताए । सम्मानले चर्चामा आउन नचाहने आफूलाई गीति क्षेत्रमा थप काम गर्ने जोस भरेको अनुभव सुनाए । सञ्चारकर्मीसमेत रहेका विष्टका जित मात्रै कहाँ हो र …, झ्याम्म झ्याम्म…, ठोकिँदा ठोकाइमा…लगायतका गीत चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् । उनको ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बमसमेत बजार आएका छन् ।

कार्यक्रममा गीतकार तथा विम्बकवि रमेश श्रेष्ठ, पूर्व सम्मानित गीतकार सरस्वती श्रेष्ठ ‘सरू’, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसबमोजिम विष्टलाई सो सम्मान गरिएको हो ।

गीत लेखनका क्षेत्रमा योगदान पुर्‍याएका नेपाली गीतकारलाई हरेक २ वर्षमा प्रदान गरिने सम्मान यसअगि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम

कालिका माविको अध्यक्षमा मोहन थापा

लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना


TOP