पोखरा, माघ १० गते । साहित्यकार सरुभक्तका ७ ओटा कविताकृति एउटै कृतिभित्र समावेश गरी नयाँ कृति सार्वजनिक गरिएको छ ।
‘सरुभक्तका कविता’ नामक कृतिको शनिवार पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा सरुभक्तकै समकालीन साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गरे । वि. सं. २०३५ मा पहिलो पटक ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह प्रकाशन गरी प्रकाशनयात्रा थालेका सरुभक्तको दोस्रो कृतिका रूपमा २०४० मा ‘बोक्सीको आह्वान र घोषणापत्र’ नामक कविता सङ्ग्रह प्रकाशन भएको थियो । त्यसयता प्रकाशित ७ कविता सङ्ग्रह र फुटकर रूपमा पत्रपत्रिकामा प्रकाशित कविताहरू समेटेर ६४२ पृष्ठको ‘सरुभक्तका कविता’ प्रकाशन भएको साहित्यकार सरुभक्तले बताए । उनले नयाँ पुस्तालाई सुलभ रूपमा विगतका कविताकृतिहरू अध्ययन गर्ने मौका प्रदान गर्नका लागि यसरी सबै कृतिलाई एकै ठाउँमा समावेश गरिएको जानकारी दिए । तिसको दशकमा कविता लेखनको प्रारम्भिक चरणको स्मरण गर्दै सरुभक्तले समकालीन कविहरूका बिचमा रहेको सद्भावपूर्ण सम्बन्धका कारण कवित्व फस्टाएको धारणा राखे ।

यसअगि ‘सरुभक्तका मुक्तक’ नामक कृतिमा उनका विभिन्न मुक्तक सङ्ग्रहका मुक्तक समावेश गरी प्रकाशन गरिएको थियो । ‘पागल बस्ती’ उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तका उपन्यास, नाटक, कथा, कविता, गजल, मुक्तक, खण्डकाव्यलगायत विभिन्न विधाका ५० भन्दा बढी कृति प्रकाशित छन् ।
कार्यक्रमकी प्रमुख अतिथि रहेकी साहित्यकार उषा शेरचनले सरुभक्तसँगको साहित्यिक सहकार्यको स्मरण गरिन् । उनले सरुभक्तले निस्वार्थ मित्रताको गतिलो उदाहरण साहित्यिक समाजमा प्रस्तुत गरेको अनुभव सुनाइन् । सरुभक्त पोखराको मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव भएको बताउँदै शेरचनले सरुभक्तका कवितामा पाइने जीवन दर्शन उल्लेखनीय रहेको धारणा राखिन् । यो एक असाधारण कृति भएको उल्लेख गर्दै उनले सरुभक्तलाई ‘गण्डकी गौरव’ को संज्ञासमेत दिइन् ।
कार्यक्रममा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले प्रारम्भदेखि आजसम्म पनि उस्तै अनुशासनपूर्वक साहित्य साधनामा लाग्नु सरुभक्तको विशिष्ट गुण भएको बताए ।
कृतिको प्रकाशक सरुभक्त केन्द्रकी उपाध्यक्ष सरस्वती प्रतीक्षाले ‘सरुभक्तका कविता’ मा इन्द्रेणीका सात रङ भए जस्तै रङ्गीन कविता समेटिएको बताइन् । नवप्रवेशीका लागि प्रेरणादायी र स्थापितका लागि अध्ययन केन्द्रका रूपमा लिन सकिने कविता कृतिभित्र समेटिएको उनको भनाइ थियो ।
कवि रमेश श्रेष्ठले सरुभक्त ‘मासका’ कवि नभई ‘क्लासका’ कवि भएको बताए । उनका कविताले मष्तिष्कले बुझ्नुपर्ने अवस्था सिर्जना गर्ने श्रेष्ठको भनाइ थियो ।
लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाले सरुभक्तले सिङ्गो नेपाली साहित्यलाई अभिभावकत्व प्रदान गरेको बताइन् । सबै विधामा उत्तिकै सफल कलम चलाउनु सरुभक्तको विशेष क्षमता भएको कोइरालाको भनाइ थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा सरुभक्तका कविता प्रकाश घिमिरे, अनुप बराल, डा. ईश्वरमणि अधिकारी र सरस्वती प्रतीक्षाले वाचन गरेका थिए । सचिव एमडी काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए ।










