मध्यनेपालको विकासको गतिमा एमालेले अवरोध गर्‍योः पाण्डे – Sarangi News

प्रल्हादचन्द्र घिमिरे,

भोर्लेटार (लमजुङ) । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवम् मध्यनेपाल नगरपालिकाका मेयर पदका उमेद्वार रमेशकुमार पाण्डेले मध्यनेपालमा सुरु भएका विकास निर्माणका कामलाई निरन्तरता दिनका लागि नेपाली काङ्ग्रेस र गठबन्धनका उमेद्वारहरुलाई जिताउन जरुरी रहेको बताएका छन् ।
मध्यनेपाल- ५, समिभञ्ज्याङमा आयोजित कोणसभामा बोल्दै पाण्डेले नगरपालिकाको विकासका लागि विभिन्न जातिहरूलाई लगाएर केही शक्तिले फाइदा लिन खोजेको आरोप लगाए । पाण्डेले भने, “यहाँ लडाइँ नेकपा एमाले र नेपाली काङ्ग्रेसको हो, यहाँ लडाइँ गुरुङ र मगरको होइन, क्षेत्री र नेवारको होइन, कहिलेकाहीँ म सामाजिक सञ्जाल हेर्ने गर्छु, यहाँको लडाइँ काङ्ग्रेस र एमालेको हो, त्यसैले तपाईँहरूले यहाँ काङ्ग्रेस र एमालेले के के गर्‍यो भन्ने कुरा हेर्ने हो ।”
३ वर्ष नेकपा एमालेको प्रदेश र सङ्‍घमा दुई तिहाइको सरकार रहेको बताउँदै दुईपिप्लेबाट समिभञ्ज्याङ आउने बाटो एमालेको विरोधका कारण पिच हुन नसकेको उनको भनाइ थियो ।
विकास गर्न नचाहने र समाजमा लडाइँ गराइरहने एमालेका कारण यहाँ विकास सोचेअनुरुप हुन नसकेको पाण्डेको आरोप रहेको छ । पाण्डेले काङ्ग्रेसले पारेको योजना पनि काट्ने गरेको बताए । उनले भने, “नेपाली काङ्ग्रेसको पालामा बनेको चेलिबेटी मार्ग काटेर बजेट अन्तै पार्नुभयो । विकासमा यस्तो राजनीति गर्ने हो भने समिभञ्ज्याङ फेरि बन्दैन ।” उनले दुईपिप्लेबाट समिभञ्ज्याङ जाने बाटो आफूहरूको पहलमा अब कालोपत्रे हुने बताए । उनले उमेद्वारहरूलाई किन विकासका योजना ल्याउन नसकेको भने प्रश्न गर्न आग्रह गरे ।
उनले चर्दीखोलामा मध्यनेपाल नगरपालिकाले पुल बनाउने भन्दा एमालेका प्रतिनिधिहरूले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कुरा गरेर मोटरेबल पुल बनाउने भनेर नगरपालिकाबाट बनाउन नदिएको तर पछि त्यो पुलको विषयमा कुनै पहल नगरेको उनको भनाइ रहेको छ ।
उनले भने, “चर्दीखोलामा पुल बनाउने भनेर हामीले बजेट छुट्यायौँ तर एमालेका साथीहरूले हाम्रो मुख्यमन्त्रीसँग हामी कुरा गरेर मोटरेबल पुल ल्याउँछौँ भन्नुभयो । ठिक छ भनेर मैले प्रतीक्षा गरेँ, १ वर्ष बित्यो, २ वर्ष बित्यो, ३ वर्ष बित्यो तर पुल आएन, अहिले नगरपालिकाले बजेट विनियोजन गरेर चर्दीखोला मोटरेबल पुल बन्दै छ ।” मेयर पदका उमेद्वार पाण्डेले पराजुलीबेसीबाट समिभञ्ज्याङ पुग्ने बाटो कालोपत्रे गर्ने विषय नगरपालिकाको प्राथमीकतामा रहेको बताए । उनले विकासमा राजनीति गर्न नहुने बताए । आफूहरूले नगरपालिकाको विकासमा उदाहरणीय काम गरेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताए ।

“गठबन्धन नहुँदा पनि हामीले चुनाव जितेका थियौँ, अहिले गठबन्धन छ, हामीले नगरपालिकामा केही काम पनि गरेका छौँ, त्यसैले आफ्नो भोट खेर नफाल्नुहोला, एमालेले चुनाव जित्दैन ।” उनले भने । विकासका निम्ति नेपाली काङ्ग्रेस र गठबन्धनका उमेद्वारहरूलाई विजयी गराउनुपर्ने आजको आवश्यकता भएको उनले उल्लेख गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मध्यनेपाल नगरपालिकाका अध्यक्ष एवम् नगरपालिकाका उपमेयर पदका उमेद्वार उपेन्द्र अधिकारी, मध्यनेपाल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पदका उमेद्वार ओमवीर गुरुङलगायतले नगरको विकासका लागि गठबन्धनका उमेद्वाहरूलाई मतदान गर्न अपील गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP