-प्रकाश अधिकारी
एउटा विरोधाभासी यात्राको सुरुवात

कल्पना गर्नुहोस् – एउटा यस्तो संसार जहाँ सबैभन्दा बुद्धिमान मानिने एआईले पनि आफ्नो बुद्धिका लागि किताबको सहारा लिइरहेको छ, तर त्यही किताबलाई जोगाउने ठाउँ पुस्तकालयलाई भने हामी बिस्तारै बिर्सिँदै छौं। यो विरोधाभास नै हो – एआई कम्पनीहरू आफ्ना भाषा मोडेल तालिमका लागि दुर्लभ पाण्डुलिपिहरूको खोजीमा दौडिरहेका छन्, तर तिनलाई “destructive scanning” मार्फत डिजिटाइज गर्ने क्रममा हजारौं भौतिक किताबहरू सधैंका लागि नष्ट भइरहेका छन्। एआईलाई बुद्धिमान बनाउन किताबको ज्ञान चाहिन्छ, तर त्यही किताबको भौतिक अस्तित्वको रक्षा गर्ने जिम्मेवारी कसको?
इतिहासलाई फर्केर हेरौं – ईसापूर्व ७औं शताब्दीकै अशुरबानिपाल पुस्तकालय (इराकको निनेभे) मा माटाका पाटीमा तीस हजार भन्दा बढी दस्तावेज थिए, जो संसारकै पहिलो सुव्यवस्थित पुस्तकालय मानिन्छ। पुरानो समयमा किताबहरू चोरिनबाट जोगाउन साङ्लाले बाँधेर राखिन्थ्यो- “चेन्ड लाइब्रेरी” भन्ने चलन नै थियो, जसले किताबको त्यतिबेलाको मूल्य र महत्त्वलाई प्रस्ट पार्छ। आज विश्वको सबैभन्दा ठूलो पुस्तकालय “लाइब्रेरी अफ कंग्रेस” (अमेरिका) हो, जहाँ करोडौं पुस्तक, पाण्डुलिपि र अभिलेखहरू सुरक्षित छन्। नेपालको कुरा गर्दा, वि.सं. १८६९ मै राजा गिरवाणयुद्ध विक्रम शाहको लालमोहरले पुस्तकालय स्थापनाको कानुनी जग बसाइसकेको थियो – यो दक्षिण एसियाकै प्रारम्भिक औपचारिक पुस्तकालय दस्तावेज हो, र त्यही दिनको सम्झनामा आज हामी राष्ट्रिय पुस्तकालय दिवस मनाउँछौं।
समयको चौराहमा
‘बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ – यो २०८३ सालको १९ औं राष्ट्रिय पुस्तकालय दिवसको नारा हो । १५ भदौ – कागजको स्याहार, मोबाइलको चमक, र एआईको गणनात्मक ध्वनि – यी तीन धारा एउटै बिन्दुमा भेटिएका छन्। हामी त्यो विरलै अवसरमा उभिएका छौं, जहाँ मानव सभ्यताका तीन युग – मुद्रण युग, डिजिटल युग, र बौद्धिक युग – एकसाथ द्वन्द्व र समन्वय गर्दैछन्। यो केवल पुस्तकालयको दिन मात्र होइन, यो मानव ज्ञानको यात्राको एउटा महत्वपूर्ण मोड हो। एउटा सत्य भने स्थिर छ: एआईले चाहे जति गति पाओस्, उसको निम्ति सबैभन्दा ठूलो इन्धन किताब नै हो। तर विडम्बना यो पनि छ – एआईले किताबलाई आफ्नो बुद्धिको आधार मान्छ, तर भौतिक किताबको अस्तित्वमा नै खतरा बनिरहेको छ। आशाको किरण पनि छ – आधुनिक पुस्तकालयहरूले आफूलाई पुनर्परिभाषित गर्दैछन्; तिनीहरू अब केवल किताबको भण्डार मात्र होइनन्, ती डिजिटल साक्षरता केन्द्र, सामुदायिक वर्कशप, र एआई शिक्षाको थलो बन्दैछन्। पुस्तकालयहरू कसरी बाँचिरहेका छन् र रूपान्तरित भइरहेका छन्? पठन संस्कृति किन घटिरहेको छ, र यसलाई कसरी पुनर्जीवित गर्न सकिन्छ? एआईले कसरी नयाँ सम्भावना र खतरा दुवै सिर्जना गरिरहेको छ? यस खोजमूलक लेखले पुस्तकालय, पठन संस्कृति र एआई- यी तीन आयामको अन्तर्सम्बन्धको गहिराइमा डुब्ने प्रयास गर्छ ।
अलेक्जान्ड्रियादेखि काठमाडौंसम्म: पुस्तकालयको यात्रा
पुस्तकालयको इतिहास मानव ज्ञानको इतिहास नै हो। ईसापूर्व ७ औं शताब्दीको अशुरबानिपाल पुस्तकालय (निनेभे) मा माटाका पाटीमा लेखिएका तीस हजार भन्दा बढी दस्तावेज थिए-यो प्राचीन विश्वको सबैभन्दा ठूलो ज्ञान-भण्डार थियो। त्यसपछि आयो अलेक्जान्ड्रिया, जहाँ विश्वका सम्पूर्ण ज्ञानलाई एउटै छानामुनि ल्याउने सपना देखियो। त्यो पुस्तकालयको आगोले जति ज्ञान नष्ट गऱ्यो, त्यसको क्षतिपूर्ति मानव सभ्यताले सायद कहिल्यै गर्न सकेन। मध्ययुगीन युरोपका मठ पुस्तकालयहरूले अन्धकार युगमा ज्ञानलाई जीवित राखे। चीनको हान राजवंशको शाही पुस्तकालयमा लगभग साठी हजार पुस्तकहरूको संग्रह थियो। इस्लामी स्वर्णयुगको बगदादको “बैतुल हिक्मा” (ज्ञानको घर) मा विश्वका दार्शनिक, वैज्ञानिक र अनुवादकहरू भेला हुन्थे, र तिनीहरूले ग्रीक, फारसी, र भारतीय ज्ञानलाई अरबीमा अनुवाद गरी युरोपलाई पुनर्जागरणको आधार दिए। यी पुस्तकालयहरू केवल किताबको भण्डार मात्र थिएनन्; ती जीवित प्रयोगशाला, संवादको केन्द्र, र मानव विवेकको उद्गम स्थल थिए। आजका पुस्तकालयले पनि त्यही आत्मालाई निरन्तरता दिइरहेका छन्, चाहे त्यो कागजको पानामा होस् वा पिक्सेलको स्क्रिनमा किन नहोस् ।
नेपालको कथा
नेपालको पुस्तकालय इतिहास पनि उत्तिकै गौरवशाली छ। वि.सं. १८६९ को भदौ १५-त्यो दिन जब राजा गिरवाणयुद्ध विक्रम शाहको लालमोहरले पुस्तकालय स्थापनाको कानुनी जग बसायो। यो सायद दक्षिण एसियामै औपचारिक पुस्तकालयको प्रारम्भिक दस्तावेज हो। तर त्यो जगको माटो कहिले सुख्खा भयो, कहिले उर्वर । २०६५ सालदेखि नेपाल सरकारले यो दिनलाई औपचारिक मान्यता दिँदै राष्ट्रिय पुस्तकालय दिवस मनाउन थाल्यो। हरेक वर्ष नयाँ पुस्तकालय उद्घाटन, उत्कृष्ट पुस्तकालय सम्मान, र पाठक पुरस्कार-यी परम्पराहरूले पुस्तकालयलाई एउटा जीवन्त संस्थाको रूपमा स्थापित गर्यो। २०८२ सालमा मात्र ४८ नयाँ पुस्तकालय उद्घाटन भएको घोषणा-यो सकारात्मक दिशाको सूचक थियो । तर यो पर्याप्त छ त? ७५३ स्थानीय तह भएको नेपालमा प्रत्येक पालिकामा एउटा सक्रिय सामुदायिक पुस्तकालयको कल्पना पनि अझै टाढाको कुरा हो, थिएछ ।
पठन संस्कृति: डुब्दो डुङ्गा कि नयाँ धार?
तथ्यांकको आँखाले हेर्दा : नेशनल अफिस पोल वर्ल्ड कल्चर स्कोर इन्डेक्स भन्ने एक अन्तर्राष्ट्रिय सर्वेक्षणले विश्वव्यापी रूपमा पठन समयको तुलना गर्दा भारत साप्ताहिक १०.७ घण्टाका साथ अग्रस्थानमा छ, जबकि थाइल्यान्ड ६.५, अमेरिका ६.०, र बेलायत ५.३ घण्टामा सीमित छ। नेपालको अवस्था भने करिब ३.२ घण्टाको अनुमानित औसतमा रहेको छ, जुन विश्वकै न्यूनतम मध्ये पर्छ। तर यी संख्याले पूरा कथा भन्दैनन्। गुणात्मक पढाइ कति छ? विद्यार्थीले सामाजिक सञ्जालका स्टेटस पढेर भएको पठनलाई यी तथ्यांकले समात्छन् कि समात्दैनन्? बेलायतको नेसनल लिटरेसी ट्रस्टको तथ्यांकअनुसार ८ देखि १८ वर्षका बालबालिकामा फुर्सदको समयमा पढ्नेको दर ३२.७ प्रतिशतमा झरेको छ, जुन चिन्ताजनक हो। तर यसले पठनको नयाँ ढाँचा (डिजिटल कन्टेन्ट, ब्लग, वेबनोभल) समेटेको छैन। डिजिटल पठन दर २०१९ को ३५ प्रतिशतबाट २०२३ मा ५२ प्रतिशत पुग्नुले एउटा महत्वपूर्ण परिवर्तन देखाउँछ: बालबालिकाले पढ्न छोडेका होइनन्, तर तिनीहरूले पढ्ने माध्यम बदलिइरहेका छन्। शिक्षासँगको सम्बन्ध पनि स्पष्ट छ-स्नातक तह पूरा गरेकाले वार्षिक २३ किताब पढ्छन् भने हाइस्कुल नगरेकाले जम्मा ८ किताब मात्र पढ्छन्। यो कारण र परिणामको चक्र हो।
पढ्नु किन?
मलाई लाग्छ-“किताब पढ्नु भनेको समय, स्थान, र संस्कृतिको सीमा पार गरेर, आफ्नो दिमागलाई अरूको दिमागसँग जोड्नु हो।” अत:पढाइको फाइदा सहज जानकारी-प्राप्तिमा सीमित छैन फाइदैफाइदा छ । पहिलो फाइदा, न्यूरोप्लास्टिसिटी-नियमित पढाइले मस्तिष्कको तन्तु जडानहरू बलियो बनाउँछ। काल्पनिक साहित्यले विशेष गरी सहानुभूति सम्बन्धी मस्तिष्क क्षेत्र सक्रिय बनाउँछ, किनभने पात्रका अनुभवहरूसँग पहिचान गर्दा हाम्रो ‘मिरर न्यूरन’ प्रणाली उत्तेजित हुन्छ। दोस्रो, तनाव व्यवस्थापन-एक अध्ययनले ३० मिनेट पढाइले संगीत सुन्नु वा हिँड्नुभन्दा बढी तनाव कम गर्ने देखायो, जुन हृदयघात र मांसपेशी तनावको आधारमा मापन गरिएको थियो। तेस्रो, संज्ञानात्मक आरक्ष-नियमित पढाइले बुढ्यौलीमा संज्ञानात्मक गिरावटको जोखिम कम गर्छ, यसले ‘संज्ञानात्मक आरक्ष’ (cognitive reserve) सिर्जना गर्छ। चौथो, शैक्षिक सफलता-ECD को PISA परीक्षणले दैनिक १५ मिनेटभन्दा बढी पढ्ने विद्यार्थीको पठन-बोध स्कोर उल्लेख्य उच्च देखायो।
पठन बानी बसाउने उपाय
पठन बानी केवल “धैर्य” वा “अनुशासन” को विषय होइन-यो वातावरणीय डिजाइनको विषय हो। पहिलो, पुस्तकलाई दृश्यमान बनाऔं-फोनलाई हेर्न नसक्ने गरी राख्नु, र सोफासँगै किताब राख्नु जस्ता साना परिवर्तनले ठूलो फरक पार्छ। दोस्रो, सामाजिक पढाइ-पुस्तक क्लब, अनलाइन चुनौती (जस्तै Goodreads को वार्षिक चुनौती), र विद्यालयको “समर रिडिङ” कार्यक्रमले पढ्नुलाई सामूहिक र रमाइलो बनाउँछ। तेस्रो, सानो सुरुवात-दिनको ५ पृष्ठ वा ५ मिनेट, निरन्तरता महत्वपूर्ण हो, लामो समय होइन। चौथो, अभिभावकको भूमिका-सानै उमेरमा पढेर सुनाउने बानीले तीन वर्षको उमेरसम्म शब्दभण्डार २ देखि ३ गुणा बढाउँछ। पाँचौं, बालबालिकाको रुचिलाई सम्मान-सबैले एउटै विधा पढ्नुपर्छ भन्ने छैन; कमिक्स, ग्राफिक नोभल, वा युवा वयस्क काल्पनिक साहित्य (YA) पनि पढाइ नै हो।
एआई: सहयोगी, शत्रु, वा विडम्बना?
भाषा मोडेलको किताब-भोक : एआईको संसारले एउटा अनौठो “किताब-रसायन” देखाइरहेको छ। फेब्रुअरी २०२५ मा इङ्गल्यान्डको एउटा सेकेन्ड-ह्यान्ड किताब पसलको अनुभव-सामान्यतया हप्तामा २,००० देखि ३,००० किताब बिक्री हुने त्यो पसलमा अचानक तीव्र गतिमा ठूला अर्डरहरू आउन थाले। विशेषज्ञहरूका अनुसार, यी एआई कम्पनीहरूले ठूला भाषा मोडेल (LLM) तालिमका लागि विविध, दुर्लभ र ऐतिहासिक किताबहरूको खोजी गरिरहेका छन्। तर सबैभन्दा चिन्ताजनक भनेको “destructive scanning” हो। अमेरिकी अदालतले कानुनी रूपमा खरिद गरिएका किताबहरूको डिजिटाइजेशनलाई “fair use” अन्तर्गत मान्यता दिइसकेको छ-तर यसको अर्थ भनेको भौतिक प्रतिहरू सधैंका लागि नष्ट हुन सक्छन्। एउटा एआई कम्पनीको “Project Panama” ले संसारभरका किताबहरूलाई स्क्यान गरी मूल प्रति नष्ट पार्ने योजना बनायो। यसले तीन गम्भीर प्रश्न खडा गर्छ: के दुर्लभ किताबको भौतिक अस्तित्व आवश्यक छ, यदि त्यसको डिजिटल प्रतिलिपि रह्यो भने? के एआई कम्पनीहरूले संसारको ज्ञान-सम्पदाको “निजीकरण” गर्दैछन्? के पुस्तकालयहरूले अब एआई कम्पनीहरूलाई किताब बेच्नु नै उचित हो?
एआई: पुस्तकालयको सहयोगी पक्ष
अब एआईको भूमिका “उपभोक्ता” मात्र होइन-यो पुस्तकालयको सेवामा पनि आइसकेको छ। पहिलो, मेटाडेटा विश्लेषण-मेसिन लर्निङले पुस्तकहरूको विषयवस्तु, शैली, र सम्बन्धको गहिरो विश्लेषण गर्छ, जसले पाठकलाई सुगठित सिफारिस दिन सहयोग पुग्छ। दोस्रो, प्राकृतिक भाषा खोजी-प्रयोगकर्ताले कीवर्ड होइन, जटिल प्रश्नहरू (जस्तै: “प्रेम, इतिहास र द्वन्द्वको कथा भएको पुस्तक”) सोध्न सक्छन्। तेस्रो, डिजिटल संरक्षण-Europeana, World Digital Library, र Google Books जस्ता परियोजनाले दुर्लभ पाण्डुलिपिहरूलाई डिजिटाइज गर्दैछन्-तर तिनीहरूले “नष्ट नगरी” यो गर्नुपर्छ भन्ने चेतना पनि बढ्दैछ। चौथो, एआई साक्षरता तालिम-आधुनिक पुस्तकालयहरूले अब प्रयोगकर्तालाई एआईको सीमा र पूर्वाग्रह (bias) बुझ्न तालिम दिन थालेका छन्, ताकि प्रयोगकर्ताले च्याटबटको उत्तरलाई आलोचनात्मक ढंगले जाँच्न सकून्।
एआईको युगमा पुस्तकालय किन चाहियो?
पहिलो, प्रामाणिकता-एआईको उत्तर कहिलेकाहीँ “हलुसिनेसन” (भ्रामक तर विश्वस्त लाग्ने गलत जानकारी) हुन्छ, जबकि पुस्तकालयका स्रोत सम्पादन-प्रक्रियाबाट गुज्रिएका, प्रमाणित हुन्छन्। दोस्रो, समान पहुँच-संसारको ३७ प्रतिशत जनसंख्यासँग अझै इन्टरनेट पहुँच छैन, र पुस्तकालय ती “डिजिटल विभाजन” पार गर्ने पुल हो। तेस्रो, सामुदायिक स्थान-पुस्तकालय भौतिक मानव-संवादको थलो हो-वर्कशप, वाचन, बहस, र सिकाइको साझा अनुभव। चौथो, सांस्कृतिक संरक्षण-दुर्लभ पाण्डुलिपि, स्थानीय भाषाका किताब, र ऐतिहासिक अभिलेख-यी एआईको “डाटा प्वाइन्ट” मात्र होइनन्, ती सभ्यताको आत्मा हुन्। पाँचौं, आलोचनात्मक चेतना-पुस्तकालयकर्मीले प्रयोगकर्तालाई “जानकारी साक्षरता” सिकाउँछन्-कसरी स्रोतको विश्वसनीयता जाँच्ने, एआईको सीमा बुझ्ने, र स्वतन्त्र चिन्तन विकास गर्ने आदि ।
विश्वका नीतिगत मोडेलहरू
अमेरिकी अभ्यास :अमेरिकामा समर रिडिङ प्रोग्राम अत्यन्त लोकप्रिय छ-अधिकांश राज्यका पुस्तकालयले बिदाकालमा विद्यार्थीको पठन जारी राख्न वार्षिक विषयवस्तु, बिंगो कार्ड, र पुरस्कार सहितको कार्यक्रम चलाउँछन्। यसले “गर्मी-बिदाको पठन-गिरावट” (summer slide) रोक्न मद्दत गर्छ। त्यसैगरी, IAL (Innovative Approaches to Literacy) कार्यक्रम अन्तर्गत अमेरिकी शिक्षा विभागले कम आम्दानी भएका समुदायका विद्यालय पुस्तकालयलाई अनुदान दिन्छ- किताबको लागि मात्र होइन्, पुस्तकालय पूर्वाधार र कार्यक्रमको लागि पनि अनुदान दिन्छ । कोरेटा स्कट किङ बुक अवार्ड डोनेसन ग्रान्ट मार्फत अमेरिकी लाइब्रेरी एसोसिएसनले सांस्कृतिक विविधता झल्काउने पुस्तकहरू विद्यालय र सामुदायिक संस्थामा पुर्याउँछ-साहित्यलाई समावेशी बनाउने प्रयास । साथै, “Mobile Hotspot Lending” कार्यक्रम अन्तर्गत पुस्तकालयले इन्टरनेट पहुँच नभएका परिवारलाई वाइफाइ हटस्पट पनि उधारो दिन्छ, ताकि तिनीहरूले डिजिटल सामग्री पढ्न सकून्।
युरोपेली प्रयास :फिनल्यान्ड विश्वको सबैभन्दा साक्षर देश हो। यहाँ पुस्तकालय केवल किताबको ठाउँ मात्र होइन-त्यहाँ ३-डी प्रिन्टर, रेकर्डिङ स्टुडियो, र DIY कार्यशाला पनि हुन्छन्। पुस्तकालयलाई “सिकाइको जीवन्त केन्द्र”को रूपमा बुझिन्छ। जर्मनीको “Bibliotheksverband” (राष्ट्रिय पुस्तकालय संघ) ले नीति निर्माण, भण्डार व्यवस्थापन, र डिजिटल संरक्षणका लागि मापदण्ड तय गर्छ। स्वीडेनको “Kulturrådet” (सांस्कृतिक परिषद) नामक सरकारी निकायले पुस्तकालयलाई वार्षिक बजेट छुट्याउँछ, र तिनीहरूको कार्यसम्पादन मूल्यांकन गर्छ-यो पारदर्शिता र जवाफदेहिताको उत्कृष्ट मोडेल हो।
भारतीय अनुभव : भारतको “राष्ट्रीय पुस्तकालय मिशन” ले सन् २०२६ सम्म प्रत्येक गाउँपालिकामा डिजिटल पुस्तकालय पुर्याउने लक्ष्य राखेको छ। तिनीहरूको “कोहा” (Koha) ओपेन-सोर्स पुस्तकालय व्यवस्थापन प्रणाली धेरै विकासशील देशको लागि नमुना बनेको छ। सबैभन्दा उल्लेखनीय भारतको पठन संस्कृतिको बलियो आधार हो-प्रति व्यक्ति १०.७ घण्टा साप्ताहिक पठन संसारकै उच्च। यसको कारण सम्भवतः स्कुल पाठ्यक्रम, अभिभावकको अपेक्षा, र हालसम्म कम डिजिटल विकर्षण हो। यी अभ्यासले एउटा साझा सन्देश दिन्छन्-पठन संस्कृति प्रवर्द्धनका लागि नीति ल्याएर मात्र पुग्दैन, त्यसलाई ठोस कार्यक्रम, अनुदान र सामुदायिक सहभागितामार्फत व्यवहारमा उतार्नुपर्छ।
नेपाल: अवसर र चुनौती
भइरहेको काम : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठन बानी बसाउने र पुस्तकालयलाई आवश्यक पुस्तकसहित उपयोगी बनाउने उद्देश्यले राष्ट्रिय पुस्तक नीति २०८१ तर्जुमा गर्ने प्रक्रिया अगाडि बढाएको छ-रोचक कुरा के छ भने यो नीति वि.सं. २०६४ देखि नै बन्न बाँकी रहेको थियो। मन्त्रालयले प्रकाशक, लेखक र पुस्तक व्यवसायीहरूको सहजीकरणका लागि छुट्टै पुस्तकालय ऐन ल्याउने सोच पनि राखेको छ। साथै, नेपाल सामुदायिक पुस्तकालय सङ्घले देशभर सामुदायिक पुस्तकालयको सञ्जाल विस्तार गरिरहेको छ। तर यी पुस्तकालयहरूको गुणस्तर, भौतिक पूर्वाधार, र स्टाफको दक्षता चुनौतीपूर्ण नै छ।
बाँकी काम
विद्यालय पुस्तकालयको अवस्था अत्यन्त कमजोर छ-अधिकांश सार्वजनिक विद्यालयमा पुस्तकालय नै छैन वा मृत छ। यसको समाधानका लागि विद्यालय पुस्तकालयको बजेट अनिवार्य बनाउने र पठन-संस्कृतिलाई पाठ्यक्रमको अंग बनाउनु आवश्यक छ। स्थानीय तहको भूमिका पनि उत्तिकै कमजोर छ-अधिकांश पालिकाले पुस्तकालयलाई प्राथमिकता दिँदैनन्। पालिका-स्तरीय पुस्तकालय मापदण्ड र अनुदानको व्यवस्था गर्नु जरुरी छ। पुस्तकालयकर्मीको दक्षताको अभावले सेवाको गुणस्तर प्रभावित भएको छ-“पुस्तकालय तथा सूचना विज्ञान” पाठ्यक्रमको विस्तार र निरन्तर व्यावसायिक विकास कार्यक्रमको आवश्यकता छ। नेपाली पाण्डुलिपि र दुर्लभ पुस्तकहरू जोखिममा छन्-राष्ट्रिय डिजिटल पुस्तकालयको स्थापना र अन्तर्राष्ट्रिय सहयोगमा डिजिटाइजेशन गर्नुपर्छ। ग्रामीण क्षेत्रमा पुस्तकको अभाव छ-मोबाइल पुस्तकालय सेवा र सामुदायिक भवनहरूमा साना पुस्तकालय कोठाहरू स्थापना गर्न सकिन्छ। सबैभन्दा महत्वपूर्ण, एआई-युगको तयारीको अभाव-पुस्तकालयले एआई साक्षरता तालिम दिन सकेका छैनन्; पुस्तकालयकर्मीलाई एआई सम्बन्धी तालिम र प्रयोगकर्ताका लागि कार्यशाला सञ्चालन गर्नुपर्छ।
सबैको भूमिका
पुस्तकालय सुदृढीकरण कुनै एक्लो निकायको जिम्मेवारी होइन। सरकारले नीति, ऐन, बजेट, र अनुगमन गर्नुपर्छ। शिक्षा मन्त्रालयले पठन बानीलाई पाठ्यक्रमको अंग बनाउनुपर्छ। स्थानीय तहले सामुदायिक पुस्तकालय स्थापना, सञ्चालन, र स्टाफिङको जिम्मा लिनुपर्छ। अभिभावकले घरमै पठन वातावरण बनाउन र बालबालिकाको किताब छनोटमा सहयोग गर्नुपर्छ। शिक्षकले कक्षाकोठामा पुस्तकालयको प्रयोग र पठन परियोजना सञ्चालन गर्नुपर्छ। लेखक र प्रकाशकले गुणस्तरीय, सुलभ, र नेपाली भाषामा विविध पुस्तक उत्पादन गर्नुपर्छ। पुस्तकालयकर्मीले सामग्री सिफारिस, कार्यक्रम सञ्चालन, र डिजिटल साक्षरता तालिम दिनुपर्छ। र अन्त्यमा, प्रत्येक पाठकले पढ्ने बानी, पुस्तकालयको सदस्यता, र सामुदायिक सहभागिता बढाउनुपर्छ।
निष्कर्ष: तीन धाराको संगम
पुस्तकालय, पठन संस्कृति, र एआई-यी तीन धारा आजको समयरेखामा एकै ठाउँमा मिसिँदैछन्, र आउने दशकको मानव सभ्यताको बौद्धिक बनावट निर्धारण गर्नेछन्। पहिलो आयाम, पुस्तकालय-यो केवल किताबको भण्डार होइन, सामुदायिक बुद्धिको केन्द्र हो। एआई साक्षरता, डिजिटल संरक्षण, सामुदायिक वर्कशप, र वाचन कार्यक्रमको एकीकृत केन्द्रको रूपमा आधुनिक पुस्तकालयले आफ्नो पहिचान पुनर्परिभाषित गर्नुपर्छ । तिनीहरूले “जानकारी-प्रदाता” भन्दा बढी “चिन्तन-उत्तेजक” को भूमिका निभाउनुपर्छ। दोस्रो आयाम, पठन संस्कृति-यो गन्तव्य होइन, यात्रा हो। पठन बानी घट्दै छ, तर डिजिटल पठन बढ्दै छ-हामीले माध्यमको बहस छोडेर सारतत्त्वमा ध्यान दिनुपर्छ: सक्रिय, आलोचनात्मक, र सहानुभूतिपूर्ण पठन। एआईले “जानकारी-भोक” मेटाउन सक्छ, तर “बौद्धिक चिन्तन” र “सांस्कृतिक सम्वेदना” को खेती गर्न पुस्तक नै चाहिन्छ। तेस्रो आयाम, एआई-यो सहयोगी, सीमित, र चुनौतीपूर्ण छ। एआईले जानकारीको पहुँचलाई क्रान्तिकारी बनाएको छ, तर यो निष्पक्ष, त्रुटिरहित, वा नैतिक होइन। यसको “भोक” मेटाउने किताबहरूको संरक्षण-पुस्तकालयको भूमिका-झन् महत्वपूर्ण बन्दैछ। एआईलाई “ज्ञानको मालिक” मान्नुको सट्टा “ज्ञानको उपकरण” मान्नुपर्छ।
अन्तिम अभिव्यक्ति
हामी त्यो बिन्दुमा छौं, जहाँ मानिसले आफ्नै सिर्जना (एआई) लाई ज्ञानको उत्पादनमा नियुक्त गरिरहेको छ, र सोही समयमा आफ्नै विरासत (किताब) लाई जोगाउने रणनीति बनाइरहेको छ। यो विरोधाभास र सम्भावना दुवै हो। नेपालको सन्दर्भ सानो छ, तर सार विश्वव्यापी छ। राष्ट्रिय पुस्तक नीति २०८१, सामुदायिक पुस्तकालय सञ्जाल, र विद्यालय-स्तरको पठन कार्यक्रम-यी खाका मात्र हुन्। तिनको आत्मा तब आउँछ, जब हामी प्रत्येकले एउटा किताब उठाउँछौं (भौतिक वा डिजिटल), एउटा बालबालिकालाई कथा सुनाउँछौं, एउटा स्थानीय पुस्तकालयलाई भ्रमण गर्छौं, एउटा एआई उपकरणलाई आलोचनात्मक प्रश्न गर्छौं, र ज्ञानलाई केवल “उपभोग” होइन, “सिर्जना” र “प्रसार” गर्छौं।
भदौ १५-राष्ट्रिय पुस्तकालय दिवस-त्यो दिन हामी सम्झौं: प्रविधि जतिसुकै परिवर्तन भए पनि, ज्ञानको सार उही रहन्छ-यो जिज्ञासा, समालोचना, र मानवीय सम्बन्धको परिणाम हो। र त्यसको संरक्षक हामी सबै हौं।
(अधिकारी लेखक, पत्रकार तथा सामुदायिक विद्यालयका शिक्षक हुन् )
सन्दर्भ सामग्री
- नेसनल लिटरेसी ट्रस्ट (UK) – वार्षिक पठन सर्वेक्षण २०२४/२५
- OECD PISA पठन-बोध परिणाम २०२२
- पुस्तकालय तथा सूचना विज्ञान केन्द्र (नेपाल) – वार्षिक प्रतिवेदन २०८१
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – राष्ट्रिय पुस्तक नीति २०८१ (प्रस्तावित)
- “Project Panama” – Anthropic विरुद्धको अदालती कागजात
- अमेरिकन लाइब्रेरी एसोसिएसन (ALA) – एआई र पुस्तकालय सम्बन्धी स्थिति-पत्र २०२४
- UNESCO – स्मृति-विश्व (Memory of the World) कार्यक्रम – डिजिटल संरक्षण दिशानिर्देश











