बुधबार , भाद्र ३, २०८३
कास्की माझकोटमा दोस्रो खेम गुरुङ स्मृति कप हुँदै। – Sarangi News

रुपा(कास्की)-नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको पावन अवसरमा कास्कीको रुपा गाउँपालिका वडा नं. २ माझकोटमा क्रियाशील शान्तिदीप युवा क्लब र खेम स्मृति समितिको संयुक्त आयोजनामा ” खेलौँ एकता , बढाऔँ भातृत्व ” भन्ने मूल नारालाई आत्मसात गर्दै दोस्रो संस्करणको खेम स्मृति कप सञ्चालन गर्ने भएको छ ।

साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भदौ २८ गतेदेखि ३० गतेसम्म स्थानीय शिवालय माध्यमिक विद्यालयको खेलमैदानमा हुने कार्यक्रम संयोजक जीवन थापाले जानकारी दिए । पुरुष भलिबल खेल तर्फ प्रथम हुनेले नगद ४५ हजार रुपियाँ , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुनेले नगद २५ हजार रुपियाँ , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई समेत ८ हजारका दरले नगद प्रदान गरिने छ। सोही अवसरमा स्थानीय कलाकारहरूको विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने छ। महिलाहरूको लागि रस्साकसी प्रतियोगिता आयोजना गरिएको छ । पहिलो हुनेले समूहले नगद १० हजार र प्रमाणपत्र र दोस्रो हुने समूहले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तर्फ छेलो फाल्ने प्रतियोगिता पनि सञ्चालन गरिने छ । प्रथम हुनेले ५ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्ने छ। दोस्रो हुनेले ३ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्ने छ । भलिबलतर्फ वेस्ट प्लेयर, वेस्ट स्पाइकर, वेस्ट लिवेरो, वेस्ट सेटर, वेस्ट ब्लकर गरी विभिन्न विधामा समेत खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए।

खेलका माध्यमबाट आपसी भाइचारा र स्थानीय पर्यटनको विकास होस् भन्ने उद्देश्यले खेलको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।समुन्द्री सतहबाट करिब १२०० मिटर उचाइमा रहेको श्री भैरवकाली कोट मन्दिरको प्रचारप्रसारमा समेत टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गरिँदै आएको कुरा क्लबका सदस्य नवराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP