प्रदेशका योजनाले फेरिएको रूपा – Sarangi News

पोखरा । बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रूपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउजाउ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रूपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रूपाको रूप फेरियो ।

गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ अन्तरगत रूपा रिङरोड बनेको हो । प्रदेश सांसदले योजना छनोट गर्ने व्यवस्था अन्तर्गत कास्की १(१) बाट २०७४ मा निर्वाचित दीपक कोइराला (रूपक) ले रूपा रिङरोड छानेका हुन् । आर्थिक वर्ष २०७५/७६ बाट बहुवर्षीय कार्यक्रममा बजेट छुट्टिएकोमा हालसम्म रिङरोडका लागि झण्डै ३० करोड रुपैयाँ खर्च भइसकेको छ । घरअघिकै मोटरबाटो कालोपत्रे भएपछि रूपाका स्थानीय खुसी छन् । टाकन्जाका स्थानीय छिमालले जीवनमै नसोचेको कुरा पूरा भएको बताए । ‘मैले बाचुञ्जेल यहाँ पिच बाटो बन्छ भन्ने सोचेकै थिइनँ,’ उनले भने, ‘प्रदेश सरकार र यहाँका सांसद नभएको भए अझै कति वर्ष दुःख पाउनुपर्थ्यो !’ रिङरोडको बाँकी क्षेत्र कालोपत्रे गर्न फेरि दीपक कोइरालालाई नै प्रदेश सांसद जिताउने उनले बताए । भने, ‘यो बाटो उहाँले नै सुरु गर्नुभयो । अब बाँकी बाटो बनाउन उहाँलाई नै जिताउने हो ।’

रिङरोड मात्रै होइन, रूपा गाउँपालिकाभरि यति बेला चिल्ला सडक देख्न सकिन्छ । गाउँगाउँमा सडक पुगेपछि स्थानीयले प्रदेश सरकारको उपस्थिति महसुस गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले छनोट गरी रकम विनियोजन गरेका आयोजनाले पनि रूपाको रूप फेर्‍यो ।

कोइरालाले नै बजेट विनियोजन गरेको अर्को योजना हो, बेगनास- भोर्लेटार- तालबेंसी- करापुटार सडक । उक्त सडक कालोपत्रेका लागि २५ करोडभन्दा बढी भइसकेको छ । सडक स्तरोन्नतिपछि बेगनास ताल खोलाबेशी हुँदै लमजुङसम्म पुग्ने सर्वसाधारणले सुविधा पाएका छन् ।

सडक सञ्जाल गाउँगाउँसम्म फैलिएको छ । शिवचण्डी मोटरबाटो, आँपु खोला मोटरबाटो, नवीनचोक घुम्ती हुँदै मड्केला सडक निर्माण, तालबेंसी हाङ्गेबाङ्गे ठुलीबेंसी सडक, खोलाबेंसी काउरे सडक, सात मुहाने- रूपाकोट- थुम्की सडक, सिर्कुतानबाट पुलचोक जाने सडक,  मादीबेंसी सोला लिफ्टिङ आयोजना, पिप्लेकुनाको मुखदेखि कोइलेनी सडक, दुईपिप्ले सिसाघाट सडक, दुईपिप्ले- सिसाघाट- टाकान्जा सडक, रूपाकोट- फालभञ्ज्याङ सडक पूर्व सांसद कोइरालाकै योजना हुन् । चालु आर्थिक वर्षमा देउराली सिसाघाट सडक कालोपत्रे, थुम्कीदेखि पुलचोक सडक निर्माण तथा सुधार, तालबेंसीदेखि रामकोट सडक निर्माण तथा सुधार, तालबेंसी-हङ्गेबाङ्गे- रामकोट- ठुलीबेंसी- माझबेंसी सडक, लिपियानी- धारापानी- इन्द्र डिठगाउँ- इन्द्रगुफा सडक, रूपा रिङरोड, रूपाकोट- थुम्की सडक, फैँचोक- माउडाँडा- रामदी- देउराली सडक, चिसापानी- फलभञ्ज्याड सडक, मणिधम्से–सिमलचौर सडक मर्मत योजनाका लागि बजेट विनियोजन भएको छ ।

कोइरालाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सिंचाइ, खानेपानी, तटबन्ध, जग्गा संरक्षणमा यो पाँच वर्षमा उल्लेखनीय काम भएका छन् । दरमटार सिंचाइ आयोजना, खाल्टेखोला टाकान्जा सिंचाइ योजना, पास्तेखोला ठुला खेत सिंचाइ योजना, आँपुखोला संरक्षण, टाकान्जा भूमिगत सिंचाइ प्रणाली, देउराली फेदी डिप ट्युबवेल सिंचाइ, पोल्याङटार डिप ट्युबवेल सिंचाइ योजना, आँपु खोला सिंचाइ योजना, बिमली सिंचाइ, उपल्लो माझकोट बाह्रबिसे सिंचाइ, थुम्कीमा बृहत् खानेपानी आयोजना, खाल्टेखोला टाकन्जा टार सिंचाइ योजनामा कोइरालाले बजेट विनियोजन गरे ।

मादी नदी नियन्त्रण, नेपालपाखा बाँसपानी खाल्टे खोला नियन्त्रण, दरमटार सिंचाइ योजना, उपल्लो कुलो योजना, चिसा खोला ढाड सिंचाइ योजना, लपनाटार सिंचाइ योजना, कोत्रे काफटारी सिंचाइ, बिर्दीटार उपल्लो सिंचाइ, सिमखेत सिंचाइ, तल्लो खेतको ठुलो कुलो मर्मत, जिमटारी परिखेत गर्सेकुलो मर्मत, पोल्याडटार सिंचाइ, मादीबेंसी लिफ्टिङ सिंचाइ, आँपु खोला सडक डिल तथा साँधकुलो तटबन्धन निर्माण, दोभान सिंचाइ योजना, ढापकुना कुलो मर्मत तथा निर्माण योजना, आँपु खोला फेदी चेकड्याम निर्माण, नेपाल पाखा खानेपानी लिफ्टिङ योजना प्रदेशकै बजेटबाट बन्यो ।

पर्यटन प्रवर्धन, विभिन्न मन्दिर, पाटीपौवा, कुमाल, दलित, नेवाः खल, आमा समूह, सांस्कृतिक समूह लगायतका सामुदायिक भवन, समाजघर निर्माणमा बजेट विनियोजन गरेर कोइराला रूपाका स्थानीयबिच लोकप्रिय बने । रूपा गाउँपालिका–१ स्यास्त्रीमा सहिदको सम्मानमा २८ लाख खर्चिएर पार्क निर्माण गरे । उक्त पार्कको लागि चालु आर्थिक वर्षमा थप बजेट छुट्टिएको छ । कृषकका लागि चिस्यान केन्द्र निर्माण, इन्द्रगुफा पर्यापर्यटन प्रवर्धनलगायत कार्यक्रमले उनी स्थानीयसँग जोडिए ।

आफूले रूपामा सुरु गरेका कामलाई पूरा गर्न कास्की १(१) मा पुनः उम्मेदवारी दिएको कोइराला बताउँछन् । ‘पाँच वर्षको अनुभवको आधारमा यो निर्वाचन क्षेत्रमा नमुना बनाउन सक्ने योग्य उम्मेदवारका रूपमा आफूलाई उभ्याएको छु,’ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उनले भने, ‘पाँच वर्षअघि जे प्रतिबद्धता व्यक्त गरेको थिएँ, ती पूरा गरेको छु । अब बाँकी कार्यभार पूरा गर्ने अवसर मतदाताले दिनेमा विश्वस्त छु ।’ शनिबार उनले रूपा गाउँपालिकामा पुगेर घरदैलो गर्दै मतदातासँग भेटेर रूपालाई थप समृद्ध बनाउन नयाँ योजनाका साथ आउने प्रतिवद्धता व्यक्त गरे ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मददातालाई भेट्न कोइराला कास्कीको क्षेत्र नम्बर १ (१) का घरदैलोमा पुगिरहेका छन् । कास्की १ बाट प्रत्यक्षतर्फबाट गठबन्धनका तर्फबाट किशोरदत्त बराल प्रतिनिधि सभा तथा १ (१) मा दीपक कोइराला र १ (२) मा दीपक गुरुङ ‘माइला’ तथा नेकपा (एमालेका तर्फबाट प्रतिनिधि सभामा मनबहादुर गुरुङ तथा  १ (१) मा खगराज अधिकारी र १ (२) मा वेदबहादुर गुरुङ ‘श्याम’ चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP