पर्यटकको पर्खाइमा रहस्यमय गाईखर्क ताल : जुन बर्खामा निलो र हिउँदमा रगत जस्तै रातो हुन्छ ! (फाेटाे कथा) – Sarangi News

के तपाईँले कहिल्यै बर्खामा निलो र हिँउदमा रातो हुने ताल देख्नुभएको छ ? सायदै देख्नु सुन्नुभएको छ । रातको समयमा निलो ढुङ्गा जस्तै चम्कने इन्डोनेसियाको ‘कावाह इजेन’ नामको तालको कुरा सुन्नुभएको छ होला । त्यो विश्वको सबैभन्दा रहस्यमय तालको रूपमा चिनिन्छ । तर आज म तपाईँलाई त्यो भन्दा पनि रहस्यमय हाम्रै गाँउ मालिका गाउँपालिकाको देविस्थान–५, दाङ्गामा पर्ने गाईखर्कको तालमा लुकेको एउटा रहस्यको बारे कुरा सुनाउँछु ल ?

सामान्यतया पानी रंगविहीन हुने भए पनि जुनकुनै तालको पानी निलो देखिन्छ तर म्याग्दीको देविस्थान ५ दाङ्गामा रहेको तालकोे पानी रगतजस्तै रातो छ । जो कोहिलाई झट्ट विश्वास गर्न कठिन हुन्छ तर यो सत्य हो । कतै पानीको मुहान देखिदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो गाईखर्क । हावा–हुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको अर्को विशेषता हो । यस तालको सबैभन्दा ठूलो विशेषता यो हो कि वर्षामा निलो र हिँउदमा यसको पानी पूर्ण रूपमा रगत जस्तै रातो रङ्गको हुन्छ । एल्गी र ब्याक्टोरीयको कारण हिउँदमा तालको पानी रातो हुने म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए । उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सको कारणले रातो बनाउने युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकको तर्क छ । तालको छेउमै बराह देवताको मन्दिर रहेको छ । ती देवताको पुजा गर्दा सन्तान प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट धार्मिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

वर्षा यामकाे गाईखर्क ताल गाढा निलाे देखिन्छ : तस्विर प्रकाश अधिकारी

म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिने यो ताल समुन्द्रि सतहदेखि करिब २४ सय मिटरको उचाइमा अवस्थित छ । मालिका गाउँपालिकाको देविस्थान ५ मा पर्ने दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा बसेको छ । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा ३ मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको छ । पालिको सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो । सेभेन ए साइड फुडसल तथा बनभोजको लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको जस्तो लाग्दछ । फेवातालको आगनमा जसरी माछापुच्छ्रेको छायाँ पर्छ त्यस्तै गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमाल पौडि खेलेको देख्न सकिन्छ ।

हिउँद यामकाे गाईखर्क ताल  रगत जस्तै राताे देखिन्छ : तस्विर प्रकाश अधिकारी

प्राकृतिक एवं आध्यात्मिक भूमि मालिका ५ देविस्थान आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएको ऐतिहासिक थलो हो । यहाँ भन्दा प्राचिन पहाड, सेताम्य हिमालहरु, पहाडी बस्तीमा रमाउनेहरुका लागि पृथ्वीमा कुनै ठाँउ छैन् । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ । यहाँ गाईखर्क ताल, खोरिया दह, ठुल दह, जंगले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा , धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्यि पर्यटकको तन मन हर्ने रहेछन् । गौ बोम बस्त विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले तालसम्म पुग्ने बाटो व्यवस्थीत भएमा, होटल वा हामे स्टे भएमा र मनोरञ्जनको व्यवस्था गरिएमा भाले बास्ने तालसरह गाईखर्क पनि महत्व बढ्ने दावी गरे । तालको अवलोकन गर्न शुत्रबार कक्षा नौ का विद्यार्थी सहित पुगेका गौ बोम बस्त माविका सामाजिक शिक्षक, लेखक तथा पत्रकार प्रकाश अधिकारीले तालको सुन्दरताले मन लोभ्याएको भन्दै यसको थप प्रचारप्रसार आवश्यक भएको उल्लेख गरे । ‘विभिन्न विशेषता बोकेको तालको प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरूको आगमन हुने देखिन्छ ।’ अधिकारीले भने । ‘यहाँ पर्यटक भित्रर्याउन प्राकृतिक रूपमा कुनै अभाब छैन, पर्यटन विकासमा न्यूनतम आधारहरू बारे प्रचारप्रसार गर्ने र यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरि पर्यटन विकास मार्फत ग्रामीण वस्तीको मुहार फेर्न सकिने उनको भनाई छ ।

कसरी पुग्ने : काठमाडौं–बेनी २८२, बसमा १० घन्टा हिँडेपछि मायालुको शहर बनी आइपुगिन्छ । बेनी–दरबाङ २३ किमि, बसमा २ घन्टा हिँडेपछि पश्चिम म्याग्दीको केन्द्र दरबाङ आइपुगिन्छ । दरबाङ करिब ९ किमि जिपमा कच्ची सडकको यात्रा गरेपछि घरिथोक झर्न सकिन्छ । हाडिस खोलादेखि तालसम्म पुग्न ३० मिनेट उकालो पदयात्रा गर्नुपर्दछ ।

क्षेत्र भ्रमणमा गएका गाै बाेमबस्त मावि कक्षा नाै का विद्यार्थीका साथमा शिक्षक

ताल पर्यटन किन ?

नेपालको पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्र मध्ये एक हो ताल पर्यटन । नेपालमा अहिलेसम्म पनि कति ताल छन् भन्ने सहि अध्ययन हुन सकेको छैन । म्याग्दीमा पनि एकिन तथ्य सायदै छ । सौन्दर्यले भरिपूर्ण तालको संख्या मालिका गाँउपालिकामा मात्रै पनि धेरै छ । चर्चित भाले बास्ने ताल देखि रहस्यमय गाईखर्क ताल यहीँ पर्छ । मालिका गाउँपालिकालाई सात तालको पालिका भनेर चिनाउँदा उपयुक्त हुन्छ । किन भने यहाँ भाले बास्ने ताल, बराह ताल (निस्कोट), पुथा ताल, दह, गाडा खरसुङ ताल, गाईखर्क ताल, खोरिया दह, ठुल दह,बराह ताल (विम) छन् भने कति त प्रचारप्रसार नभएरै त केहि तालहरु संरक्षणको अभावमा दूषित वा लोप हुने अवस्थामा छन् होला । यी ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्णस्थलका रूपमा परिचित हुने देविस्थानका पूर्व वडा अध्यक्ष पिपला बुढाले बताइन् । ताल क्षेत्रकै स्थानीयवासी समेत रहेकी बुढाले यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरे वरपरका बासिन्दाको आर्थिक अवस्था सुधारदेखि स्थानीय सरकारलाई आम्दानीको स्रोत समेत बन्ने उनको भनाइ थियो । ताल संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पालिका, स्थानिय युवा क्लब, आमा समुह र टोलहरु मिलेर जान पर्ने देखिन्छ । ‘ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके ताल अवलोकनका लागि दैनिक सयौं मान्छे आउने छन्, वरपर आर्थिक गतिविधि बढ्नाले स्थानीयवासीको आम्दानीको स्रोत बढ्ने मात्रै नभएर समग्र गाँउपालिकाई पनि आम्दानी हुने’ स्थानिय युवा नविन बुढाथोकीले बताए ।

गाईखर्क तालमा देखिएकाे धवलागिरी हिमालकाे छाँया : तस्विर प्रकाश अधिकारी

छ प्रश्न ? उत्तरकाे खोजीमा देविस्थान

* प्राकृतिक सम्पदाले भरिपूर्ण मालिकामा केही त्यस्ता तालहरु अवस्थित छन जहाँ पुग्ने लालचा विश्वका पर्यटकलाई हुने गरेको छ । तर के हामी यति सुन्दर, अद्भुत र रहस्यमय तालको संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिएला ?
* पर्यटन बजारीकरण गरि देविस्थानलाई होम स्टे गाँउ बनाउन सकिएला ?
*पर्यटन गन्तव्यका रुपमा गाईखर्क तालको विकास गरि मालिका चक्रिय पदमार्ग – दरबाङ–हग्लाङ–गाइखर्क ताललाई जोड्न नसकिएला ?
*पर्यटकिय पदमार्ग–देविस्थान–ताकामकोट हुँदै धवलागिरी बेस क्याप जाने पदमार्गलाई जोडेर देविस्थनलाई ग्रामिण पर्यटनको हब बनाउन सकिएला ?
*पर्यटन सूचना बोर्ड र पदमार्ग सूचना बोर्ड राखेर देविस्थान भित्रका मुख्य मुख्य आर्कषणहरु, पदमार्ग, नक्सा र उपलब्ध हुने सेवा सुविधाहरु सहित सम्पर्क व्यक्ति र नम्बर लेखेर टास्न सकिएला ?
* मालिकाका सबै तालहरुलाई विश्व रामसार सूचीमा सूचीकृत गराउन पहल गर्न नसकिएला ?

क्षेत्र भ्रमणमा गएका गाै बाेमबस्त मावि कक्षा नाै का विद्यार्थी धवलागिरी र गुर्जा हिमाल जस्तै मुस्कुराएर फुटसल खेल्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP