एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वाराविभिन्न व्यक्तिलाई सम्मान – Sarangi News

पोखरा, असोज ३ गते । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ ।

आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा भूमिका खेलेका भन्दै सम्मानित हुने प्रधानाध्यापकहरूमा माछापुच्छ्रे मावि, माछापुच्छ्रे-२ का प्रधानाध्यापक सन्तोष आचार्य, विन्ध्यवासिनी मावि, पोखरा-१६ का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, निष्पक्ष मावि, माछापुच्छ्रे-५ का प्रधानाध्यापक दुर्गाबहादुर रावत, शिवालय मावि, रूपा-२ (हालः कालिका मावि, पोखरा-३३) का प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अमरसिंह माविका प्रधानाध्यापक शेरबहादुर थापा, रतनपाण्डे माविका प्रधानाध्यापक डिल्लीराम बराल, धनुबाँस कालिका मावि, मादीका प्रधानाध्यापक गोपाल सापकोटा र बाँकोट आधारभूत विद्यालय, अन्नपूर्णका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् । त्यसै गरी रतनपाण्डे माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बराल, शिशुकल्याण माविका विव्यस अध्यक्ष श्रीभद्र बराल, सहिदस्मृति माविका शिक्षक मधुविलास न्यौपाने, सीताराम माविका शिक्षक सुरेन्द्र बराल, लिटिल फ्लावर बोर्डिङ स्कुलका शिक्षक शम्भुप्रसाद अधिकारी र सरस्वतीटीका माविका लेखापाल रमेश कार्कीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

नेपाल सरकारका पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले उनीहरूलाई सम्मान गरेका थिए । शर्माले नेपालको शिक्षा मन्त्रालय नै विदेशी पैसाबाट चलेको खुलासा गरे । ‘उनीहरूको पैसामा हाम्रो देश पढाउन लगाउने कुरा पनि भएन । हाम्रो पाठ्यक्रममा देश पढाउने स्थिति छैन ।’ उनले भने, ‘उनीहरूकै निर्देशनअनुसार बनेका पाठ्यक्रमअनुसारको पढाइले विदेशीका लागि जनशक्ति तयार भएका छन् ।’

आफू शिक्षामन्त्री हुँदा शिक्षा ऐन तयार पारेर मन्त्री परिषद्‌बाट पास गरी राष्ट्रपतिकहाँ लैजाँदा काङ्ग्रेस- एमालेका सङ्घ/सङ्गठनले नमानेको भन्दै राष्ट्रपतिले लालमोहर लगाउन नमानेको प्रसङ्ग स्मरण गर्दै उनले भने, ‘त्यो ऐन पारित भएको भए नेपाली शिक्षा धेरै अघि बढ्ने थियो ।’ उनले नेपालको माटो पढाउने शिक्षा दिनुपर्नेमा जोड दिँदै शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तनको खाँचो औँल्याए । शिक्षकहरू स्वच्छ र निष्कलङ्क छवि भएका व्यक्ति भएको बताउँदै नेकपा (माओवादी केन्द्र) का सचिवसमेत रहेका शर्माले सबैभन्दा पवित्र कर्म नै शिक्षण भएको बताए । राष्ट्रका सच्चा सेवक र क्रान्तिका बाहक शिक्षक नै भएको उनको भनाइ थियो । उनले अबको १० वर्षभित्र समाजवादी क्रान्तिको अनुहार देख्न पाउने विश्वास व्यक्त गरे ।

शिक्षकका साथमा विद्यार्थी, अभिभावक र सिङ्गो समाज रहने बताउँदै शर्माले शिक्षकले ठिक ढङ्गले विद्यार्थीलाई पढाए समाज परिवर्तनको बाटोमा जान सक्ने बताए । उनले शिक्षकहरूसँग माटो र क्रान्तिकारी आशावादी विचार पढाउन आग्रह गरे । शिक्षक राजनीतिक दलले बनाएका नभई राजनीतिक नेता बनाउने नै शिक्षक भएको भन्दै शर्माले देशका इमानदार र असल बाहक शिक्षक भएको विचार राखे ।

कार्यक्रमका अध्यक्ष तथा सङ्गठनका जिल्ला अध्यक्ष महेन्द्रमणि पौडेलले शिक्षकका समस्या हिजोभन्दा आज बढ्नुको कारण खोजी गर्नुपर्ने बेला आएको धारणा राखे । हाम्रा भन्दा राम्रा प्रधानाध्यापक, शिक्षक, अध्यक्ष र कर्मचारीलाई सम्मान गरिएको जानकारी दिँदै पौडेलले शिक्षकले आफूले काम गरेका विद्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । राज्यले कम्तीमा पनि न्यूनतम दरबन्दी दिनुपर्ने माग गर्दै उनले शिक्षामा कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने उनको विचार थियो । सङ्घीय शिक्षा ऐन जारी गरेर शैक्षिक समस्याहरूको समाधान गर्नुपर्ने उनको माग थियो ।

कार्यक्रममा सङ्गठनका निवर्तमान जिल्ला अध्यक्ष तारानाथ पौडेल, बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन रोका, पत्रकार तथा पुराना शिक्षक नेता कोमलनाथ बराल, गण्डकी प्रदेशका शिक्षक सङ्गठनका फ्य्राक्स इन्चार्ज मित्रशरण शर्मा, कास्कीका शिक्षक सङ्गठनका फ्य्राक्सन इन्चार्ज विश्वप्रकाश लामिछाने, पूर्व अध्यक्ष गोपालमणि लामिछाने, शोभा तमु, शिवभक्त देवकोटा, सम्मानित व्यक्तिहरूका तर्फबाट रुपिन्द्र प्रभावीलगायतले बोलेका थिए । सचिव सचिन सुवेदीको सञ्चालनमा भएको उद्‍घाटन सत्रमा उपाध्यक्ष प्रकाश रिजालले स्वागत गरेका थिए ।

यसै बिच, प्रथम जिल्ला परिषद्ले जिल्ला समन्वय समितिका अध्यक्ष महेन्द्रमणि पौडेलको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला परिषद् गठन गरेको छ । असोज ५ गते जनप्रिय मावि, पोखराको सभाहलमा गण्डकी प्रदेश परिषद् आयोजना गरिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP