मङ्गलाको हीरक महोत्सवमा साहित्य सम्मेलन , समापनमा राष्ट्रपति आउँदै – Sarangi News

पोखरा । लमजुङको मध्यनेपाल-३, सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक महोत्सवका अवसरमा मङ्गलवार साहित्य सम्मेलन सम्पन्न भएको छ ।

सो अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा ईशानेश्वर माविकी सिद्धिका साँखी प्रथम भइन् । प्रतियोगितामा भैरवकाली माविकी एन्जल साँखी द्वितीय, कुसुमाकर माविका भक्तमान विक तृतीय तथा मङ्गला माविकी स्मारिका गिरी र बालविकास माविकी अम्बिका दुरा सान्त्वना भए । प्रतियोगिताका निर्णायकहरूमा मङ्गला माविकै पूर्व विद्यार्थी साहित्यकारद्वय रुपिन्द्र प्रभावी र विपिन मर्म रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका, तनहुँका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले शैक्षिक जागरणका लागि मङ्गलाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले कसैले आफ्नो माटो बिर्सन नहुने बताउँदै विद्यालयको हीरक महोत्सव ऐतिहासिक बनेको बताए । यस कार्यक्रममा आआफ्नो ठाउँबाट योगदान गर्न सबैसँग उनले आग्रह गरे ।

गजलकार प्रदिप रोदनको विशेष गजल वाचनसमेत रहेको कार्यक्रममा कवि डा. बमबहादुर थापा ‘जिताली’, रमेश पौडेल, रमेशचन्द्र घिमिरे, विपिन मर्म, रुपिन्द्र प्रभावी, रामकुमार फुच्चेलगायतले आफ्ना रचना सुनाएका थिए । विद्यालयका शिक्षक तथा साहित्यकार तीर्थराज तिवारीको संयोजनमा भएको कार्यक्रममा हालसम्म एसएलसी परीक्षामा प्रथम हुने विद्यार्थीहरू र सहयोगीहरूलाई सम्मान गरिएको थियो ।

यसै बिच, माघ ११ गतेदेखि सुरु भएको समारोहको आज माघ १६ गते हुने समापनमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहने विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन


TOP