मंगलबार , असार १७, २०८२
‘दि भ्वाइस अफ विद्योदय’को दोस्रो अङ्क प्रकाशित: विद्यार्थीको रचनात्मकतामा नयाँ उचाइ – Sarangi News

बेनी, म्याग्दी – विद्योदय आधारभूत विद्यालय, बेनी–१०, वाखेतमा नवगठित विद्योदय बाल क्लबको नियमित मासिक भित्ते पत्रिका ‘दि भ्वाइस अफ विद्योदय’ को दोस्रो अङ्क प्रकाशनमा आएको छ।

बालबालिकाको सशक्त अभिव्यक्ति, साहित्यिक सिर्जना, चित्रकला र समसामयिक विषयलाई समेटिएको  दोस्राो अङ्कमा बालअधिकार, वातावरण र प्रेरणादायी व्यक्तित्वहरूबारे सामग्री समावेश गरिएको छ।

पत्रिकाको सम्पादक सोफिया पाइजा र सह–सम्पादक रेविका रोका को संयोजनमा तयार पारिएको अङ्कमा विभिन्न कक्षाका  विद्यार्थीका रचना समेटिएका छन्। समाचार, कविता, बाल निबन्ध, उखान, श्लोगन तथा चित्रहरूलाई आकर्षक शैलीमा हातैले लेखेर रङरोगनसहित प्रस्तुत गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यार्थीको आत्मविश्वास, लेखनशैली र प्रस्तुतिकरणमा आएको प्रगतिको प्रशंसा गर्दै “शिक्षा सँगै सिर्जनात्मकता हरेक बालबालिकाको अधिकार हो” भन्ने धारणा व्यक्त गरे। उनले विद्यालयमा सञ्चालित सिर्जनात्मक कार्यक्रमहरूलाई थप व्यवस्थित र प्रोत्साहन दिने प्रतिबद्धता समेत जनाए।

संयोजक शिक्षक अमृता जिसी रोकाका अनुसार दोस्रो अङ्कमा सामाजिक सन्देश बोकेका रचनाहरूलाई प्राथमिकता दिइएको छ। उनका अनुसार, पत्रिका प्रकाशनले विद्यालयमा अध्ययनरत करिब ६ देखि ८ कक्षा सम्मका ४० जना विद्यार्थीहरूलाई लेखन, सम्पादन र समूहगत कार्यमा सहभागी हुन सिकाउँदैछ।

विद्यालय परिवार, शिक्षक, र अभिभावकहरूले पत्रिकाको स्तरीय विकासमा सघाउने प्रतिबद्धता जनाएका छन्। बाल क्लबले आगामी अङ्कमा विविध विषयमा अन्तर्वार्ता, प्रश्नोत्तर तथा शिक्षक र अभिभावकको धारणा पनि समावेश गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP