
म्याग्दी, वाखेत । विद्योदय आधारभूत विद्यालयले “ग्रीन स्कुल, क्लिन स्कुल” अवधारणालाई व्यवहारमा उतार्दै विद्यालय खुलेको पहिलो दिनबाटै सरसफाइ, बगैँचा व्यवस्थापन तथा कौसी खेतीको गोडमेल कार्यक्रम सम्पन्न गरेको छ ।
एक महिनाको लामो वर्षे बिदापछि पुनः पठनपाठन सुरु भएको पहिलो दिन शुत्रबार, विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरू मिलेर विद्यालय परिसरको सरसफाइ, विद्यालय बगैँचाको गोडमेल र कौसी खेतीमा हरियो सागपातका गोडमेल तथा व्यवस्थापनको कार्य सम्पन्न गरेका छन् । विद्यालयले हाउस प्रणालीअनुसार विद्यार्थीलाई कार्य जिम्मेवारी दिने व्यवस्था लागू गर्दै प्रत्येक हप्तामा पालैपालो गोडमेल तथा पर्यावरणीय सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने गरेकोे छ।

विद्यालयमा चार सदन– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गलाल श्रेष्ठ नाममा विद्यार्थी वर्गीकरण गरिएको छ। ती सदनहरूले हप्तैपिच्छे जिम्मेवारी लिएर बगैँचा, कौसी खेती तथा सरसफाइ कार्यमा सहभागी हुदैँ आएका छन् । यसले विद्यार्थीमा श्रमको मूल्य, समुहमा काम गर्ने क्षमता र वातावरणीय जिम्मेवारीको चेतना अभिवृद्धि गर्ने विश्वास विद्यालयको छ ।
“शिक्षालाई जीवनसँग जोड्दै वातावरणमैत्री व्यवहारमा विद्यार्थीलाई प्रशिक्षित गरिने हाम्रो उद्देश्य हो। सरसफाइ र गोडमेल जस्ता कार्यले उनीहरूमा व्यवहारिक सीप र दायित्वबोध बढाउँछ। विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले भन्नुुभयो, ‘ ग्रीन स्कुल, क्लिन स्कुल’ को अवधारणलाई सार्थक बनाउन यस्ता कार्यक्रमहरुलाई शिक्षण सिकाइसँग जोडेका छौँ।”
विद्यालय परिसर, प्रांगण, बगैँचा र कौसी खेती अब केवल सौन्दर्यको विषय मात्र नरहने गरी यसको शैक्षिक र भावनात्मक महत्वमा समेत जोड दिइएको छ। विद्यार्थीहरूले आफैँले रोपेका, गोडेका र हुर्काएका बोटविरुवाबाट आत्मीयता र सिकाइका पाटा ग्रहण गर्न सक्ने वातावरण बनाइएको छ । विद्यालयले वातावरणीय शिक्षा र श्रम मूल्यको सन्देश दिँदै शैक्षिक अभ्यासलाई प्रयोगात्मक बनाउने प्रयास गरेको सुुचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुुभयो ।
विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरू र अभिभावकहरूको समेत सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमलाई विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र स्थानीय युवा क्लबहरूले समेत प्रशंसा गरेका छन् ।