Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
गौरीको ‘सैँप्रोल’ कविताकृति सार्वजनिक – Sarangi News

पोखरा, पुस ५ गते । कवि गौरी तमूको दोस्रो कृति ‘सैँप्रोल’ शनिवार पोखरामा सार्वजनिक गरिएको छ ।

गुरुङ साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कृति सार्वजनिक गरे । विशेष गरी तमू जातिभित्रका संस्कार र संस्कृतिलाई नेपाली भाषाको साहित्यिक भण्डारमा प्रवेश गराउनका लागि गौरीको भूमिका उल्लेखनीय रहेको भन्दै सरुभक्तले नेपालका आदिवासी जनजातिका जातीय विम्बहरूलाई आम पाठकमाझ पुर्‍याउनुपर्नेमा जोड दिए । उनले किनारीकृत वर्गको अधिकार र उत्थानका लागि सङ्घर्षरत स्रष्टाका रूपमा आफूले गौरीलाई चिनेको स्मरण गरे । गौरीको प्राज्ञिक कर्मबाट मातृभाषी स्रष्टाहरूले प्रेरणा लिन सक्ने हो भने सिङ्गो नेपाली साहित्य नै लाभान्वित हुने सरुभक्तको विचार थियो । सैँप्रोलले उठाएका विचारले नेपाली समाजलाई असल मार्गदर्शन गर्नेमा उनले विश्वास व्यक्त गरे ।

कृतिकार गौरीले आफूले ‘म को हुँ’ भन्ने प्रश्नको जबाफ खोज्दाखोज्दै कवितासँग नजिकिएको अनुभव सुनाइन् । तमू जातिका सांस्कृतिक र धार्मिक ग्रन्थहरूमा प्रशस्त मिथकहरू पाइने उल्लेख गर्दै केही मिथकलाई सैँप्रोलमा उठाउने प्रयास गरेको गौरीले बताइन् । महिला अस्तित्वसँगै गुरुङ जातिको उत्पत्ति र विकासका प्रक्रियाहरूलाई कविताका रूपमा प्रस्तुत गरेको बताउँदै आदिवासी जनजातिको संस्कृति र भूगोलमाथि सत्ताले गरेको आक्रमणविरुद्धको आक्रोश सैँप्रोलमा प्रस्तुत गरेको गौरीले बताइन् । आदिवासी जनजातिको नैसर्गिकताका विरुद्ध कानुन निर्माण गरी उनीहरूको जीवनदर्शनलाई अपदस्थ गर्ने राज्यसत्तामाथि कृतिमा प्रश्न उठाउने प्रयास आफूले गरेको उनको भनाइ थियो । गुरुङ साहित्यक मञ्चकी संस्थापक अध्यक्ष तथा र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्षसमेत रहेकी तमूको यसअघि ‘समैँ दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ ।

कृतिको समीक्षा गर्दै साहित्यकार गनेस पौडेलले पहिचानवादी साहित्यलेखनको एक मानक कृतिका रूपमा सैँप्रोल आएको धारणा राखे । धेरै ‘पन्चलाइन’ हरू भएको कृतिमा भएका कविताहरूलाई उनले ‘मन्त्रकविता’ को संज्ञा दिए । गुरुङ समुदायको सौन्दर्यचेतको सरल तर गहन प्रस्तुति रहेकाले कृति उत्कृष्ट बनेको भन्दै पौडेलले वैचारिकी दृष्टिले पनि कृतिलाई अब्बल मान्न सकिने भनाइ राखे ।

अर्का समीक्षक साहित्यकार तीर्थ गुरुङले गौरीको सिर्जनशील सक्रियता लोभलाग्दो रहेको भन्दै यो कृतिले नेपाली कविताका क्षेत्रमा विशेष महत्त्व राख्ने बताए । संस्थागत सक्रियता, प्राज्ञिक कर्म र सिर्जनशील कार्यलाई एकसाथ अगि बढाउन सफल गौरीबाट आम गुरुङ समुदायले विशेष शिक्षा लिनुपर्नेमा गुरुङको जोड थियो ।

सो अवसरमा कृतिभित्रका कविता रुपिन्द्र प्रभावी र सङ्गीता आभासले वाचन गरेका थिए । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षता र कोषाध्यक्ष जसु गुरुङको स्वागतमा भएको कार्यक्रमको सञ्चालन रोशनी गुरुङले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP