Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बिहिबार , भाद्र २५, २०८३
म्याग्दीमा डोजरे विकासको असर : सुके कुवा, हराए झरना – Sarangi News

म्याग्दी – टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति गुनासो गरिरहेको पाइन्छ । पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ । वनजङ्गल, डाँडाकाँडा जताततै जथाभाबी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त बढेका छन् नै गाउँ बस्तीमा खानेपानीको अभाव हुन थालेको छ ।

वतावरणीय प्रभाव मूल्याङ्कन नगरि जथाभाबी चलेका डोजरले सडक निर्माण भएर यातायात त सुगम भएको छ तर पानीका मुहान सुकेपछि खानेपानी बोक्न स्थानीयवासीलाई सास्ती बढेको छ । डोजरले वनजङ्गल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न पालिकामा रहेका खानेपानीका मुहान, झरना र कुवासमेत नासिएका छन् ।

डोजरले जथाभाबी सडक खन्दा पानीका प्राकृतिक मुहान सङ्कटमा परेको जरुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ओमबहादुर थापाले बताउनुभयो । ‘कुवा, झरना र जलुकेनी केही रहेनन्, डोजरले सबै सक्यो, यस्तै अवस्था भइरहने हो भने अबका केही वर्षमा नै खानेपानीको हाहाकार उत्पन्न हुन्छ’, थापाले भन्नुभयो, ‘बरु सडक घुमाउरो भए पनि केही हुँदैन तर पानीका मुहान भने बचाउन आवश्यक छ ।’

गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन् । लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १७ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

डोजरकै कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन् । माइथान मन्दिर नजिकै रहेका चारवटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँले खोला र टाढा रहेका पानीका मुहानमा खानेपानी लिन जान बाध्य भएका स्थानीयवासी इन्द्रमति फगामीले बताउनुभयो ।

‘तीन–चार वर्षअघिसम्म कलकल बग्ने ढोडेनी खोलाको पानी अहिले सुकेको छ । माछा, भ्यागुता र चेपागाँडा कहिल्यै नटुट्ने यो खोला अहिले सुक्खा बगरमा परिणत भएको छ । खोलामा कमिला हिँड्न थालेका छन्’, बेनी नगरपालिका–१ अर्जमका मेखबहादुर थापाले बताउनुभयो । जथाभाबी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको स्थानीयवासीको भनाइ छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन् ।

डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, छाप, घतान, पात्लेखेतलगायतका गाउँमा पनि खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको समस्या झेल्नुपरेको स्थानीयवासीले पीडा सुनाएका छन् । पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको वास्बोटकी यमुना आचार्यले बताउनुभयो । डोजरका कारण म्याग्दीका मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान सङ्कटमा परेका स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 45 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP