रुपिन्द्र प्रभावी,
पोखरा । मुक्तकमणिका रूपमा ख्यातिप्राप्त साहित्यकार तीर्थराज अधिकारी हालै पोखरामा ठाडो भाकाको गायकका रूपमा देखिए । आफ्नो गृह जिल्ला लमजुङको पहिचानसँग जोडिएको लमजुङे ठाडो भाकासँग सानैदेखिको मोहलाई उनले पोखरामा जम्मा भएका आफ्ना लमजुङे आफन्त, सङ्गीत र साहित्यप्रेमीहरूका माझ दोहोरीका रूपमा प्रस्तुत गरे ।
उपस्थित दर्शकहरू उनको साहसबाट दङ्गदास भएको अनुभूति गरेपछि तीर्थले भने, ‘दुराडाँडाको सेरोफेरोमा हुने पूजाआजा, रोदी जस्ता सांस्कृतिक कार्यक्रमहरूमा गीत सुन्न जाँदा पनि अग्रजहरूले लखेट्ने गर्थे । एक पटक म पनि गीत गाउँछु भनेर के बसेको थिएँ, गाउँकै दाइले यो तीर्थेले पनि गीत गाउँदो रहेछ भनेर हकारेपछि कहिल्यै गीत गाउने आँटै गरिनँ तर मनमा त छँदै थियो । आज जीवनमै पहिलो पटक औपचारिक रूपमा गीत गाउँदै छु ।’ उनको प्रस्तुति हेरेपछि भने उपस्थित दर्शकले तीर्थराजले पहिलो पटक गीत गाएका होइनन् भन्ने अनुमान गरे । पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति गायक पदमराज ढकालले भने, ‘कवि, मुक्तककार, गीतकार रूपमा चिनिएका तीर्थराज अधिकारीको गायक अवतार स्वागतयोग्य छ । उनको प्रस्तुति हेर्दा कुनै व्यावसायिक दोहोरी कलाकारको जस्तो देखिन्छ ।’
ठाडो भाकाकी गायिका सीता दुरासँग तीर्थराजको घम्साघम्सी परेको थियो । कहिले दाजुबहिनीको नाता मन्द गतिमा अघि बढेको थियो त कहिले प्रतीकात्मक ढङ्गले पुरुषजन्य प्रस्तुतिसहित प्रणयप्रेममा मोड्थे आफ्नो प्रस्तुतिलाई तीर्थले । सीताको प्रतिवादपछि तीर्थ माइती र चेलीको सम्बन्धमा लगेर अर्थ्याउँथे आफ्ना प्रस्तुति । उनीहरू दुवैको प्रस्तुतिमा घरदेशप्रतिको मोह र परदेशप्रतिको बाध्यता निकै राम्ररी झल्कन्थ्यो । हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका तीर्थलाई ठाडो भाकामार्फत् नै सीताले अब नेपालमै बसी दुवै जना मिलेर ठाडो भाकाको संरक्षणमा जुट्न आग्रह गरेकी थिइन् । उनीहरू दुवैको प्रस्तुतिमा ठाडो भाका लोप हुँदै गएकोमा चिन्ता झल्केको थियो । उनीहरूको प्रस्तुतिलाई एक निजी टेलिभिजनले छायाङ्कनसमेत गरेको थियो ।
ठाडो भाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान गुरुङ ‘धम्पु’ले तीर्थको गायकीको खुलेर प्रशंसा गरे । उनले कवि तीर्थको अर्को रूप ठाडो भाकाको गायकका रूपमा देखिएको भन्दै तीर्थहरूको योगदानले ठाडो भाका जीवित रहने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको चाँजोपाँजो मिलाएको लमजुङ-पोखरा सम्पर्क समितिका अध्यक्ष विपिन अधिकारीले लमजुङले गौरवले लिन सक्ने नाउँ तीर्थराज अधिकारीले लमजुङको पहिचानसँग जोडिएको ठाडो भाकाप्रति देखाउनुभएको मोह थप गौरवको विषय भएको धारणा राखे । समितिले अधिकारीलाई सो अवसरमा सम्मान पनि गरेको थियो ।
समितिका सल्लाहकार कल्याण पन्तले ठाडो भाकाको परिचय दिँदै यो अब लमजुङको मात्र नभई सिङ्गो नेपाली साङ्गीतिक क्षेत्रको गहना बनेको बताए । ‘साधनाको स्वर्ण वर्षः मुक्तमणि तीर्थराज अधिकारी’ नामक पुस्तकका सम्पादक असफल गौतमले तीर्थलाई साहित्यिक तीर्थका रूपमा चिनाए । केही समयका लागि नेपाल आएका उनी साहित्यिक र सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त रहेका छन् । उनको रचनामा रहेको लमजुङको सम्झना… गीत गायिका सावित्री शाहीले गाएकी थिइन् । अधिकारीले लमजुङ जिल्लाका साविकका ६१ ओटै गाउँ विकास समितिलाई समेटेर तयार पारेको उक्त गीत लमजुङेहरूमाझ निकै लोकप्रिय छ ।
वि. सं. २००३ कार्तिक ३० गते लमजुङको दुराडाँडामा जन्मेका तीर्थराज अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका हुन् । हाल उनी संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ् ट्रस्टी सदस्य रहेका उनलाई सोही संस्थाले वि. सं. २०७३ मा मुक्तकमणि उपाधि प्रदान गरेको थियो । उनका जूनकिरी (कविता सङ्ग्रह), ऐना (कविता सङ्ग्रह), तीन लय तेह्र गीत (गीत सङ्ग्रह), झटारो (मुक्तक सङ्ग्रह), यो कसको हात हो ? (कविता सङ्ग्रह), बिरिमफूल (मुक्तक सङ्ग्रह), जूनका टुक्राहरू(मुक्तक सङ्ग्रह), दोभान (मुक्तक सङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् । उनका लमजुङको सम्झना र माया गरी दुई गीति एल्बम पनि बजारमा आएका छन् । उनको जीवनी र कृतित्वलाई समेटेर साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी नामक कृति पनि अन्तर्राष्ट्रिय साहित्य समाजले प्रकाशन गरेको छ ।
करिब एक शताब्दीअघि लमजुङका देउबहादुर दुराले सुरु गरेका ठाडो भाका पञ्चसुब्बा गुरुङ, हर्कसुब्बा गुरुङ, भेडीखर्के साइँला, भक्ति दुरा, उत्तम गुरुङ, बुद्धिमान गुरुङ ‘धम्पु’, सीता दुराहरूले गाएका छन् । पछिल्लो पुस्तासम्म यसलाई हस्तान्तरण गर्ने उद्देश्यले लमजुङमा ठाडो भाका लोककला प्रतिष्ठान क्रियशील छ । संस्थाले ठाडो भाकासम्बन्धी प्रशिक्षण तथा प्रतियोगिताहरू पनि सञ्चालन गर्दै आएको अध्यक्ष नवराज पहाडीले जानकारी दिए ।