सुमिनाको कविता : रगतको औँठाछाप – Sarangi News

रगतको औँठाछाप- सुमिना 

यी शब्दहरू होइनन् ,
भेरीमा तैरिरहेका शवहरूको लस्करले
अत्तालिएर काँपिरहेका हातहरूद्वारा कोरिएका
छरपष्ट अक्षरहरू हुन् !
यी भावहरू होइनन् ,
आलो रगतको गन्धले अतालिएको मस्तिष्कका हतासहतास क्रन्दन्हरू हुन् ।
साथी
नखोज्नु यहाँ दिल बहलाउने रुमानी हस्ताक्षरहरू
यी राता अनुच्छेदहरू
असंख्य रगतका औँठाछापहरू हुन् ।
रोहिणीको किनारमा झुण्ड्याइएकी
अबोध बलात्कृत बालिकामाथिको
घोर अन्यायको चित्रले जन्माएको आक्रोश हो यो
सन्तानसँगको वियोगले निम्त्याएको ममतामयी
आँशुहरूको आहाल हो यो
शान्ति होइन सन्नाटा हो यो
झुकाव होइन निर्लज्जता हो यो
बतासलाइ बहिस्कार गरेर
शोकमा निमग्न झुकिरहेका फूलहरूको मौनधारण हो यो ।
विद्रोह मात्र होइन
सदियौदेखि दबाइएका दमित आवाजहरूको
प्रस्फुटन हो यो
जातीयताको जाँतोमा दलिएका समग्र दलितहरूको
उद्गार हो यो
यो घनघोरता होइन असन्तुष्टि हो
औंशी होइन जूनको त्रासदी हो
अन्धकारको चेतावनी हो
शताब्दीमाथिको उपहास हो यो ।
जहाँ प्रेमको खेती हुन्छ
त्यहाँ रागको सुगन्ध हुन्छ,
उत्साह फुल्छ , उमङ्ग फुल्छ
जहाँ प्रेमको हत्या हुन्छ
त्यहाँ सिर्फ
नीरवता हुन्छ, नीरसता हुन्छ
साथी नखोज्नु यहाँ मनमोहक हरफहरू
यी त एक प्रेमीको हत्याले निसास्सिएका
असंख्य हृदयहरूका बरबराहटहरू हुन्
खण्डहर आहत मनका हठात् अवशेषहरू हुन् ।
अब यो यूगमा सायदै गरिनेछन् प्रेम
र सायदै लेखिनेछन् प्रेम कविता
प्रेमले निम्त्याएको दर्दनाहक मृत्युको ताण्डव हेरेर
काँपिरहेका हातहरू
अब शायदै लेख्नेछन् प्रेमील शब्दहरू
जुन लेखिएका छन्
यी शब्दहरू होइनन्
यी राता अनुच्छेदहरू
रगतका असंख्य औँठाछापहरू हुन् …!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP