Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
सुमिनाको कविता : रगतको औँठाछाप – Sarangi News

रगतको औँठाछाप- सुमिना 

यी शब्दहरू होइनन् ,
भेरीमा तैरिरहेका शवहरूको लस्करले
अत्तालिएर काँपिरहेका हातहरूद्वारा कोरिएका
छरपष्ट अक्षरहरू हुन् !
यी भावहरू होइनन् ,
आलो रगतको गन्धले अतालिएको मस्तिष्कका हतासहतास क्रन्दन्हरू हुन् ।
साथी
नखोज्नु यहाँ दिल बहलाउने रुमानी हस्ताक्षरहरू
यी राता अनुच्छेदहरू
असंख्य रगतका औँठाछापहरू हुन् ।
रोहिणीको किनारमा झुण्ड्याइएकी
अबोध बलात्कृत बालिकामाथिको
घोर अन्यायको चित्रले जन्माएको आक्रोश हो यो
सन्तानसँगको वियोगले निम्त्याएको ममतामयी
आँशुहरूको आहाल हो यो
शान्ति होइन सन्नाटा हो यो
झुकाव होइन निर्लज्जता हो यो
बतासलाइ बहिस्कार गरेर
शोकमा निमग्न झुकिरहेका फूलहरूको मौनधारण हो यो ।
विद्रोह मात्र होइन
सदियौदेखि दबाइएका दमित आवाजहरूको
प्रस्फुटन हो यो
जातीयताको जाँतोमा दलिएका समग्र दलितहरूको
उद्गार हो यो
यो घनघोरता होइन असन्तुष्टि हो
औंशी होइन जूनको त्रासदी हो
अन्धकारको चेतावनी हो
शताब्दीमाथिको उपहास हो यो ।
जहाँ प्रेमको खेती हुन्छ
त्यहाँ रागको सुगन्ध हुन्छ,
उत्साह फुल्छ , उमङ्ग फुल्छ
जहाँ प्रेमको हत्या हुन्छ
त्यहाँ सिर्फ
नीरवता हुन्छ, नीरसता हुन्छ
साथी नखोज्नु यहाँ मनमोहक हरफहरू
यी त एक प्रेमीको हत्याले निसास्सिएका
असंख्य हृदयहरूका बरबराहटहरू हुन्
खण्डहर आहत मनका हठात् अवशेषहरू हुन् ।
अब यो यूगमा सायदै गरिनेछन् प्रेम
र सायदै लेखिनेछन् प्रेम कविता
प्रेमले निम्त्याएको दर्दनाहक मृत्युको ताण्डव हेरेर
काँपिरहेका हातहरू
अब शायदै लेख्नेछन् प्रेमील शब्दहरू
जुन लेखिएका छन्
यी शब्दहरू होइनन्
यी राता अनुच्छेदहरू
रगतका असंख्य औँठाछापहरू हुन् …!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP