Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
कविता : यहाँ यस्तै छ सधैँभरि        – Sarangi News

   यहाँ यस्तै छ सधैँभरि (कविता)     

      रामचन्द्र घिमिरे शास्त्री   

हिँड्छौ रे ! किन गाउँदै भजन यो नेता, विजेताहरू !

तिम्रो छैन कतै कुनै तरहको त्यो मानवी आवरु ?

नाना रङ्ग भरी भरी नयनमा रङ्ग्याइएका कथा

लुक्छन् भित्र गडी गडी कहरमा निस्सासिएका व्यथा ।

 

गर्दै भाषण शब्द शब्द बटुली कुर्ल्यौ कति हो कति ?

लेख्यौ ऐन र कानुनी नियमका जञ्जाल धेरै प्रति

अर्कै रङ्ग भरेर गाडिन पुग्यो तिम्रो यहाँ शालिक

झुक्याएर भयौ गरीब जनका संसारका मालिक

 

खाडीमा कसरी बजारिन पुग्यो यो बैँसको माधुरी ?

यी पाखा वनकुञ्जमा रहरको बज्दैन रे बाँसुरी

आफ्नै चन्द्र र सूर्यको भ्रमणमा लाग्छन् तगाराहरु

आफ्नै विम्ब हराउँदै गगनमा उड्छन् इरादाहरु

 

गर्जन्छन् किन पत्र पत्र बिचमा बेमौसमी बादल ?

मान्छे रोइरहेछ मर्म नबुझी पार्‍यौ सधैँ घायल

फोरी पर्वत श्रृङ्खला अघि बढ्यो त्यो स्वर्णको तस्कर

नाङ्गो जङ्गल पारँदै अघि बढ्यो त्यो चोरको लस्कर

 

कोही सक्छ र ? ज्यूँन मर्न सजिलै हत्या र हिंसा बढ्यो

साँचो बोल्न सकेन खै युवकले आतङ्क छाई रह्यो

पर्दा भित्र लुकी लुकी कति कती दुष्कर्म गर्छन् यहाँ

नाङ्गो नाच रची रची सुजनको अस्तित्व लुट्छन् यहाँ

 

हामीलाई चिनाउने युगभरी हिन्दुत्व खै के भयो ?

हामीलाई बचाउने जग भरी बुद्धत्व खै के भयो ?

हाम्रो राष्ट्र हराउँदै अब कतै पाइन्न जस्तै भयो

ज्यूँदो रूप लिएर गर्व गरँदै बाँचिन्न जस्तै भयो

 

हाम्रा स्वप्निल चित्रमा कलमको पर्दैन रेखाङ्कन

कस्ले पो अब गर्न सक्छ र यहाँ सत्कर्म मूल्याङ्कन ?

जो जोले जति जे भने पनि यहाँ विश्वास नै छैन रे !

मैत्री पूर्ण विचारले हृदयको चोरी गरिँदै छ रे !

                                 समाप्त

*************************************

मध्यनेपाल न.पा. वडा नं.७, चिसङ्कु, करापुटार, लमजुङ

   फोन नम्बर : ९८४९०२३०८७

लेखकलाई फेसबुकमा खोज्न यहाँ छुनुहोस् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP